अध्यक्ष सिलवालले बीमा कम्पनीका सीईओलाई गुहारे, प्राधिकरणमा व्यापक छलफल

  २०८१ जेठ २९ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई प्राधिकरणमा बोलाइएको छ । जीवन, निर्जीवन तथा लघुबीमा कम्पनीका सीईओहरूलाई प्राधिकरणमा बोलाएर छलफल गरेको हो ।

प्राधिकरणले आगामी आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बीमा सम्मेलनका विषयमा तयारीका लागि सबै बीमा कम्पनीका सीईओहरूलाई बोलाएर छलफल गरेको प्राधिकरणका प्रवक्ता सुसिल देव सुवेदीले बताए ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनीहरूलाई बोलाएर अन्तर्राष्ट्रिय बीमा सम्मेलनका लागि सहयोग गर्न आग्रह गरेका हुन् । बीमा प्राधिकरणले आगामी आर्थिक बर्ष २०८१/८२ को कात्तिकमा विदेशी बीमा कम्पनी, ब्रोकर कम्पनी, नियामक निकाय र बीमा क्षेत्रसँग सम्बन्धित सबै व्यक्ति तथा कम्पनीको सहभागी गराएर काठमाडौंमा ३ दिने अन्तर्राष्ट्रिय बीमा सम्मेलन गर्न लागेको हो ।

‘प्राधिकरणले आगामी आर्थिक वर्ष बीमा बीमा सम्मेलन गर्दैछ । सम्मेलनको तयारी र कम्पनीहरूले पनि सहयोग गर्नु पर्याे भनेर सबै बीमा कम्पनीका सीईओहरूलाई बोलाएर छलफल गरेका हौं,’ उनले भने, ‘प्राधिकरणले नै आयोजना गर्ने भएपछि बीमा कम्पनीहरूको पनि सहयोग चाहिन्छ । त्यसैले के कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।’

उनका अनुसार विगत ३ महिनादेखि अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी सुरू भएको हो । सम्मेलनमा प्रधानमन्त्री, मन्त्री लगायतको उच्च पदस्थ व्यक्तिहरूको उपस्थिती रहने भएकाले प्राधिकरण तयारीमा जुटेको उनले बताए ।

‘यो सम्मेलनबाट नेपालको पर्यटनमा ठूलो टेवा पुग्छ । किनभने ठूलो खर्च विदेशी व्यक्तिहरू नेपाल आउँदै हुनुहुन्छ । गत वर्ष पनि सम्मेलन गरेका थियौं । तर, यसपटक र गत वर्षको बीमा सम्मेलनको प्रकृति फरक हो ।’

आगामी कात्तिकमा हुने बीमा सम्मेलनमा विश्वमा बीमा व्यवसायको अभ्यास, अवसर र चूनौतीका विषयमा विभिन्न व्यक्तिहरूले प्रस्तुति दिने, राउण्ड टेबल र प्यानल डिस्कसन हुने उनको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरमा बीमा क्षेत्रमा देखिएका जोखिम पहिचान र समाधान, जोखिम मूल्यांकन र न्यूनीकरण लगायतका विषयमा बहस हुनेछ । साथै जलवायु परिवर्तनले बीमा व्यवसायमा परेको असर तथा प्रभावका विषयमा पनि छलफल हुने प्राधिकरणको भनाइ छ ।

विदेशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारबाही, भूमिका, जोखिम व्यवस्थापनका लागि बीमा कम्पनीहरूको तयारी, नियामक र कम्पनी बीचको सम्बन्धका विषयमा बहस हुनेछ । बीमा व्यवसायमा स्वस्थ व्यवसाय र बीमाको दायरा वृद्धि, बीमामा नवीनतम डिजिटल प्रणाली कार्यान्वयन, नियामकको क्षमता अभिवृद्धि, सुपरिवेक्षणमा सक्रियता लगायतका विषयमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुति र कार्यपत्रहरू माथि छलफल तथा अन्तरक्रिया हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.