फोटोग्राफीबाट मनग्ये कमाउँछन् कैलालीका युवा, दिनकै १० हजार आम्दानी

  २०८१ जेठ २९ गते १०:३९     विकासन्युज

भजनी । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत छन् । अध्ययनसँगसँगै बिदाका दिन उनलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उनी पुग्छन् । ताल घुम्न आउने पर्यटकलाई आकर्षक तस्बिर खिचिदिएवापत उनले मनग्य कमाई गर्दै आएका छन् ।

‘काकाको क्यामेराबाट बिदाको दिन पर्यटकको फोटो खिच्ने काम गर्छु । दिनमा दुईदेखि तीन हजार रुपैयाँसम्म कमाई हुने गरेको छ’, उनी भन्छन्, ‘यताबाट कमाएको पैसाले विद्यालय तथा घरखर्च धानेको छ भने नयाँ क्यामेरा किन्न केही पैसा जम्मा गरेको छु । केही पैसा काकालाई पनि दिनुपर्छ ।’ उनी घोडाघोडीमात्रै होइन, कर्णाली चिसापानी, टीकापुर उद्यान पनि तस्वीर खिच्ने काम गर्दै पुग्ने गरेको सुनाउँछन् ।

अहिले पर्यटकीय क्षेत्रमा फोटोग्राफी एकदमै राम्रो चलेको छ । केही युवाहरूले त्यो क्षेत्रबाट मनग्ये आम्दानी गर्दै आएका भने कतिपयले व्यवसायको रूपमै फोटोग्राफीलाई बनाएका छन् । दिनप्रतिदिन युवाहरू फोटोग्राफीमा जोडिदै गएका छन् । एक–दुईजनाबाट सुरु भएको फोटोग्राफी घोडाघोडीमा अहिले १५ जनाभन्दा बढी युवा जोडिएका छन् । घोडाघोडीमा मात्रै नभई कर्णाली चिसापानी, टीकापुर उद्यानमा पनि ‘फोटोग्राफर‘ थपिँदै गएका छन् । घोडाघोडी नगरपालिकाकै करण क्षेत्री रोजगारीकै सिलसिलामा आठ वर्ष भारत तथा दुई वर्ष दुबई बसे । वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फकेका करणलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

साथीभाइ सँगसँगै फोटोग्राफीमा लागेका करण देशमा सम्भावना नभएरभन्दा पनि त्यसको पहिचान गर्न नसकेर विदेशिनेहरू धेरै रहेको बताउँछन् । ‘विदेशमा बाध्यताको काम हुन्छ, जसरी पनि गर्नैपर्छ । त्यति गरेपछि मात्रै पैसा देख्न पाइन्छ’, उनी भन्छन्, ‘कामको प्रवाह नगरेर पैसा कमाउन खोज्दा बिग्रेको छ । आज एक दुई लाख रुपैयाँको लगानीले विदेशमा कमाउने पैसा यतै कमाउन सकिँदोरहेछ ।’

सोही ठाउँका हर्क धामी दुई वर्षदेखि घोडाघोडीमा फोटोग्राफीको काम गर्दै आएका छन् । सुरुका दिनमा सोचेजस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षाभन्दा राम्रो कमाई भएको बताउँछन् । ‘फोटोग्राफीबाट कुनै विशेष दिनमा दिनकै १० हजार रुपैयाँसम्म कमाई गर्न सकिन्छ’, उनले भने, ‘महिनामा ६० देखि ७० हजार रुपैयाँसम्म कमाई हुन्छ ।’ उनले पैसाकै लागि विदेश जानु नपर्ने भन्दै देशमै थुप्रै सम्भावना रहेको बताए ।

फोटोग्राफीसँगै घोडाघोडीमा पर्यटकलाई लक्षित गरेर घोडा व्यवसाय पनि फस्टाएको छ । घोडाघोडी नगरपालिका वडा नं ४ का वसन्त शाहीले कालिकोटबाट दुईवटा घोडा ल्याएर घोडाघोडीमा पर्यटक घुमाउने काम गर्दै आएका छन् । ‘घोडाघोडीको नामले परिचित क्षेत्रमा घोडा आवश्यक छ भन्ने लागेर कालिकोटबाट घोडा ल्याएर पर्यटकलाई घुमाउने काम गर्दै आएको छु’, शाहीले भने, ‘पर्यटकको रोजाइमा घोडा परेका छन् । जसबाट राम्रो आम्दानी पनि भइरहेको छ ।’ उनले घोडा चढेबापत २५ रुपैयाँ देखि एक सयसम्म लिने गरेका छन् । अब कर्णाली चिसापानी र टीकापुर उद्यानमा पनि पर्यटकलाई लक्षित गर्दै घोडा राख्ने तयारीमा रहेको शाहीले बताए ।

पछिल्लो समय पर्यटकीय क्षेत्रमा फोटोग्राफी र सांस्कृतिक पहिचान झल्काउने पोशाकको माग निकै बढेको छ । कैयौँ आन्तरिक पर्यटक पहिचान झल्काउने पोशाक लगाएर तस्बिर खिच्नकै लागि पनि त्यस क्षेत्रमा पुग्ने गरेका छन् । एउटा तस्बिरको फोटोग्राफरले २० रुपैयाँ लिने गर्छन् । कुनै पोशाक लगाएको एक सय रुपैयाँ लाग्छ । ‘म नेपाली पोशाक लगाएर फोटो खिच्नकै लागि साथीहरूसँग घोडाघोडी आएकी हुँ’, टीकापुरकी सुहाना क्षेत्रीले भने, ‘साथीहरूले यसअघि नै आएर खिचेको फोटो राम्रो लागेपछि म पनि आएकी हुँ । मजस्ता कैयौँ मान्छे सुन्दर तस्बिर खिच्न यहाँसम्म पुग्छन् ।’

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त संरक्षणमा घोडाघोडी ताल रहेको छ । त्यहाँ १० रुपैयाँ प्रवेश शुल्क लाग्छ । दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तालको अवलोकनका लागि पुग्ने गर्छन् । त्यहाँबाट भएको आम्दानी मञ्च र नगरपालिकाले संयुक्त रूपमा लिने गरेको मञ्चका कर्मचारी दीपक शाह बताउँछन् । उनका अनुसार वार्षिक १० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको ताल पर्यटकका लागि मात्रै नभई चराचुरुङ्गीका लागि अझ विशेष छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.