गर्मी छल्ने गन्तव्य बन्दै इन्द्रावती नदी

  २०८१ जेठ २९ गते ७:०३     विकासन्युज

सिन्धुपाल्चोक । गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ ।

केटाकेटी, युवादेखि वृद्धहरु अहिले इन्द्रावती नदीमा पुग्ने गरेका छन् । काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन् ।

विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर उपत्यका र सिन्धुपाल्चोक आसपासका युवाका लागि त इन्द्रावती नदी आकर्षणको केन्द्रविन्दु नै बनेको छ ।

उपत्यकाबाट नजिकै र थोरै समयमा पनि निक्कै मनोरञ्जन लिन सकिने भएकाले इन्द्रावती नदी धेरैको रोजाइमा परेको काठमाडौंदेखि पौडी खेल्न आएका प्रवेश पौडेलले बताए ।

इन्द्रावती नदीको थप आकर्षण बढाउन स्थानीय तहले पूर्वाधारको क्षेत्रमा केही लगानी गरे अझै पर्यटनको सङ्ख्या बढ्ने र आन्तरिक आयस्रोत वृद्धिमा टेवा पुग्ने अर्का पर्यटक रञ्जन खड्काले बताए ।

मेलम्ची हुँदै हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत ठाउँ जाने अधिकांश यात्रुलाई इन्द्रावती नदीले लोभ्याउने गरेको छ ।

स्थानीय रामचन्द्र सापकोटा पनि नदीमा केही काम गर्न सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्छन् ।

‘बगिरहेको खोलामा त यति धेरै मान्छे आउँछन्, अझै खोलामा डुङ्गा हाल्न सकेमा, खाजा तथा खानाका लागि अस्थायी भए पनि होटल राख्न सकेमा आन्तरिक स्रोतको विकास हुने र स्थानीयले आम्दानी गर्न सकिन्थ्यो । यसतर्फ सबैको ध्यान जान जरुरी छ,’ उनले भने ।

विसं २०७८ सालको बाढीले बिथोलिएको यस खोलामा तीन वर्षपछि पौडी खेल्ने अवस्था बनको हो । यसबाट धेरेले आनन्द लिइरहेको छन् । यसलाई पर्यटन र आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.