नयाँ प्रडक्टमा काम गर्न दिए ब्रोकर कमिसन शून्य बनाए हुन्छ : अध्यक्ष ढकाल

  २०८१ जेठ २८ गते १०:३१     विकासन्युज

२ वर्षअघि पुँजी बजारको विकास तथा विस्तार र दायरा बढाउन नयाँ ब्रोकर कम्पनीहरूलाई इजाजत अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्ने नीति नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लियो । नयाँ ब्रोकर आउने क्रममा सेबोन र पुराना ब्रोकर व्यवसायीहरूसँग ठूलो टसल पर्याे । बजारमा नयाँ लगानीकर्ता र पुराना ब्रोकरबीच पनि दरारपूर्ण सम्बन्ध विकास भयो । अन्ततः सरकारले विभिन्न ४३ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्याे । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आउँदा पुराना ब्रोकर व्यवसायीहरूले स्वागत गरेनन् । त्यसपछि नयाँ ब्रोकर व्यवसायीहरूले आफ्नै संघ खडा गरे, धितोपत्र ब्रोकर एसोसिएसन नेपाल । जसको नेतृत्व गरिरहेका छन्, सागर ढकालले । नयाँ ब्रोकरले लाइसेन्स पाउनुमा ढकालको ठूलो योगदान छ । हिमालयन ब्रोक्रेरेज कम्पनी (ब्रोकर नं.६३) का अध्यक्ष समेत रहेका ढकालसँग पुँजी बजारमा करिब २ दशकको अनुभव छ । लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमको सदस्य समेत हुन् । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आएपछि गरिरहेका गतिविधि, भोग्नुपरेका समस्या, समाधानका लागि भइरहेका पहलका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् ।

नयाँ ब्रोकर सञ्चालनमा आएपछि बजार विस्तार हुनेछ । लगानीकर्ताले लाभ पाउनेछन् भन्ने अपेक्षा थियो । नयाँ ब्रोकर कम्पनीले नयाँ सुविधा के दिए ?

पछिल्लो चरणमा ४३ वटा नयाँ ब्रोकर र स्टक डिलर सञ्चालनमा आए । ती कम्पनीमा ११ अर्ब ६० करोडको लगानी छ । ती कम्पनीको न्यूनतम पुँजी स्टक डिलरको डेढ अर्ब र ब्रोकर कम्पनीको २० करोड छ । यी कम्पनी बजारमा आइसकेपछि लगानीकर्ताहरूले सहजता पाएका छन् । पुराना ब्रोकर कम्पनीहरू परम्परागत रूपमा सञ्चालन भइरहेका थिए भने नयाँ कम्पनी आएपछि लगानीकर्ताले सेवामा फरक किसिमको महसुस गरेका छन् । विगतमा समयमा भुक्तानी समयमा नभएको गुनासो धेरै सुनिन्थ्यो । तर, अहिले त्यो गुनासो सुन्न पाईदैन । र, व्यवसाय वृद्धिसँगै धेरै ठाउँमा पहुँच पुर्याउन सफल भएका छन् । जसले गर्दा पुँजी बजारको दायार वृद्धि भएको छ ।

साथै, नयाँ ब्रोकरको आगमनसँगै पुँजी बजार सूचक उच्च अंकमा पुग्ने अपेक्षा थियो । तर, बजामा संस्थागत लगानीकर्ताको अभाव छ । अर्बाैं पोर्टफोलियो भएका कम्पनीले २० करोडभन्दा बढी कर्जा नपाउने, बैंक तथा वित्तीय संस्थाहरूले सेयर खरिद–बिक्री गर्न नपाउने, १ प्रतिशत सेयर पनि १ वर्षपछि मात्रै बिक्री गर्न पाउने गरी नेपाल राष्ट्र बैंकको नीतिगत कडाइ गरेको छ । बजामा संस्थागत लगानीकर्ताको अभाव खड्किएको छ । बजारमा प्रयाप्त सप्लाइ भएपनि खपतका लागि माग सिर्जना गर्न कसैको ध्यान छैन । त्यसैले नयाँ ब्रोकरले मात्रै माग बढाउन सक्दैनन् । अहिले बजारले सहज नीति खोजिरहेको छ । राष्ट्र बैंकले कडाई गरेका नीतिलाई खुकुलो बनाउन आवश्यक छ । लगानीकर्ताको मनोबल बढ्नेगरी नीति आउनुपर्छ । बचतकर्ताहरू ४÷५ प्रतिशत ब्याजदरमा निक्षेप राख्न तयार छन् । तर, वाणिज्य बैंकको सेयर मूल्य आईपीओ सरह झर्दा पनि खरिद गर्न तयार छैनन् । पुँजी बजारप्रति राष्ट्र बैंक सकारात्मक नभएकाले लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । राष्ट्र बैंकको सकारात्मक नीतिका लागि लगानीकर्ताहरू पर्खिरहेका छन् ।

पुँजी बजारमा नयाँ ब्रोकर कम्पनीहरूले माग सिर्जना किन गर्न सकेनन् ?

नयाँ ब्रोकर कम्पनीलाई सेयर खिरद–बिक्रीको काम मात्रै गर्न अनुमति छ । पक्कै पनि निजी क्षेत्रले व्यवसाय विस्तार गर्न खोजिरहेका छन् । व्यवसाय वृद्धि गर्न र दायरा बढाउन सबै कम्पनी आआफ्नो ठाउँबाट काम गरिरहेका छन् । अहिलेको परिस्थति र समग्र आर्थिक अवस्था हेर्दा बजार बढ्नु नै पर्ने हो । साढे २ वर्षमा १८ सय ७ को न्यूनतम बिन्दु पनि परीक्षण भइसक्यो । त्यसैले बजार ‘रेडि टू मूभ’ मा छ । तर, अहिले कायम नीतिले सहयोग नगर्दा मनोबलमा वृद्धिमा ग्याप छ । त, दीर्घकालमा लगानीकर्ताहरूको मनोबल बढीसकेको छ । आगामी आर्थिक वर्षको बजेटमा धेरै विषय समावेश भएनन्, अब मौद्रिक नीति हेरौं न त भन्ने मनोविज्ञान बनाएका छन् । यो समीक्षामा सहज हुने अपेक्षा थियो तर, केही समेटिएनन् । अब अर्काे समीक्षामा त केही गर्ला नि भन्ने आशमा लगानीकर्ता बसेका छन् ।

विगतमा पुराना ब्रोकर कम्पनीलाई पुतलीसडक, कमलादी, डिल्लीबजार अर्थात् राजधानी केन्द्रीत मात्रै भए भनेर आरोप लगाइन्थ्यो । नयाँ आएका ब्रोकरहरू पनि यही क्षेत्र वरपर वा उपत्यकाभित्र मात्र सीमित छन् । उपत्यका बाहिर व्यवसाय नभएको हो कि, अन्य कुनै कारण पनि छन् ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ, नेपाल धितोपत्र बोर्ड (सेबोन) काठमाडौंमा भएकाले कम्पलायन्स, डकुमेन्ट पुर्याउने÷ल्याउने, सेटलमेन्ट, रिपोर्टिङ गर्न एउटा कार्यालय काठमाडौंमा आवश्यक छ । अनि अलिहेको व्यवस्था अनुसार ब्रोकर कम्पनीको शाखा खोल्न उच्च लागत लाग्छ । शाखा कार्यालय सञ्चालन गर्दा ५ जना कर्मचारी, कम्प्युटर, १२ सय वर्गमिटरको ठाउँ लगाउतको व्यवस्थाले धान्न सकिँदैन । त्यसैले यो मोडालिटी परिवर्तन गरेर एजेन्सी मोडलमा जानुपर्छ । बैंक ग्यारेन्टी राखेर एजेन्सी मोडलमा जाने हो भने धेरै उद्यमी पनि जन्मिन्छन् । जस्तो बुटवलमा सेवा दिन चाह्यो भने एक जनालाई एजेन्ट नियुक्त गर्न सकिन्छ । एजेन्टले बैंक ग्यारेन्टी दिन्छ । त्यसपछि उसले काम गर्न पाउँछ । जस्तो बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, पेमेन्ट गेटवेहरूले एजेन्ट राखेर कारोबार गरिरहेका छन् ।

विदेशमा पनि ब्रोकर कम्पनीहरूले एजेन्ट राखेर काम गरिरहेका हुन्छन् । एजेन्सी मोडल लागु गर्याे भने एकैपटक चारैतिर पुँजी बजार पुग्छ । त्यसको लागत पनि कम हुन्छ । अहिलेको मापदण्ड अनुसार शाखा कार्यालय खोल्न खर्चै खर्च छ । नियामक पनि शाखा अनुगमनमा ३÷४ पटक जानुपर्छ । नियामकले तोकेको संरचना, डिजाइन हुनुपर्छ । एक जना आईटीमा स्नातक गरेको कर्मचारी अनिवार्य हुनुपर्छ ।

राजधानी बाहिरको सेयर बजार कस्तो छ ?

कोरोनाअघि (२०७६ सालसम्म) ३/४ लाख मात्रै रहेका डिम्याट अहिले ६२ लाख पुगेका छन् । २०/२२ लाख टिएमएस खाता सक्रिय छन् । पहुँच र ज्ञान राजधानीमा बढी हुनु स्वभाविक हो । जिल्लामा सचेतनाको कार्यक्रमहरू पनि भइरहेका छन् । उपत्यका बाहिर सेयर बजारकाबारे बुझाई कम भएकाले लगानी गर्ने परिपाटी न्यून छ । इन्भेष्टमेन्ट विकमा देशैभरि सचेतना लगायतका कार्यक्रम आयोजना गर्दा पुँजी बजारप्रतिको सचेतना धेरै कम रहेको देखिन्छ । अब विद्यालय तहबाट नै पुँजी बजारको बारेमा पढाउन आवश्यक छ । म नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरममा सदस्य भएकाले देशभरिका उद्योगी व्यवसायीहरूसँग भेटघाट हुन्छ । उहाँहरूले उद्योग व्यवसाय चलाइरहनु भएको छ । तर, अधिकांशलाई सेयर बजार के हो भन्ने थाहा छैन । त्यसैले उपत्यका बाहिर सर्वसाधारण मात्रै नभएर निजी क्षेत्रका उद्योगी व्यवसायीहरूमा समेत पुँजी बजारबारे सचेतनाको अभाव छ ।

लगानीकर्ताको मागबमोजिम नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएको छ । यसले ब्रोकर कम्पनीहरूमा कस्तो प्रभाव पर्छ ?

३ वर्ष अगाडि दोस्रो बजारमा दैनिक २२ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुन्थ्यो । सेबोनले औसत ६ अर्ब कारोबार र तत्कालीन समयमा ५० वटा ब्रोकरलाई आधार मानेर कमिसन घटाइएको थियो । अहिले मुस्किलले २/३ अर्ब कारोबार हुन्छ भने ब्रोकर कम्पनी १ सयको हाराहारीमा छन् । ब्रोकर कमिसन दीर्घकाल होला भनेर कम्पनीले ५ वर्षीय व्यवसायिक योजना बनाएका छन् । तर, लाइसेन्स पाएर सञ्चालनमा आउन नपाउँदै कमिसन घटाउँदा मनोबल कमजोर बनाएको छ । ब्रोकरमा ११ अर्ब ६० करोड लगानी गर्नुपर्छ भन्ने जरूरी थिएन । त्यो रकम अन्य क्षेत्रमा पनि लगानी गर्ने अवसर थियो ।

ब्रोकर कमिसन घट्दा दैनिक ४ करोडको व्यवसाय गर्ने कम्पनीले अब डेढ करोड बढी अर्थात् साढे ५ करोडको व्यवसाय गर्नुपर्छ । तर, अहिले कमिसन घट्दा न लगानीकर्तालाई फाइदा हुन्छ न ब्रोकर कम्पनीलाई । त्यसैले पुँजी बजारका लागि अहिलेको समस्या ब्रोकर कमिसन होइन । लगानीकर्ता साथीहरू स्टेकहोल्डर पनि हुन् । आफू हिरो बन्न र उठाउनैका लागि यस्ता विषय नउठाउन लगानीकर्ताहरूलाई मेरो आग्रह छ । किनभने लगानीकर्ताहरू पनि यही क्षेत्रमा आवद्ध भएकाले ब्रोकर, मर्चेन्ट कम्पनी लगायतको बारेमा सोच्नुपर्छ । यो इकोसिस्टम हो नि त ।

ब्रोकर कमिसन फिक्स्ड हुनुपर्छ कि खुला छाड्नुपर्छ ? अर्थात् सरकारले तोक्ने कि बजारले तोक्ने ?

अब ब्रोकर कमिसन खुला छाड्ने कि सरकारले तोक्ने भन्ने विषयमा अध्ययन गर्न जरूरी छ । कमिसन तर्जुमा गर्दा कम्पनीले आरओआई खोज्छ । अहिले २० करोड पुँजीका कम्पनी छन् । कमिसन घटाएपछि भोलुम बढ्छ भनेर सरकारले बहस गर्छ । विश्वका अन्य देशसँग तुलना गर्दा नेपालमा ब्रोकर कसिमन न्यून छ । कमिसन घटाएपनि सेयर किन्दैनन् । किनभने मान्छेसँग सेयर किन्न पैसा हुनुपर्छ । बजारले खुला रूपमा निर्धारण गर्न दिनुपर्छ । जस्तो कुनै होटलको एउटा कोठा एक लाखमा बिक्री हुन्छ, १ हजारमा पनि बिक्री हुन्छ । होटलको क्षमताका आधारमा कोठा भाडामा जाने हो । होटल चले चल्छ, नचले बन्द हुन्छ । कमिसन शून्य गराउनुहोस् तर हामीलाई काम गर्न अन्य प्रडक्ट पनि दिनुपर्याे नि । ५ करोड पुँजी भएका मर्चेन्ट क्यापिटलले पोर्टफोलियो म्यानेजमेन्ट गर्न पाउँछन् । तर, २० करोड पुँजी भएका ब्रोकर कम्पनीलाई पोर्टफोलियो म्यानेजमेन्ट अनुमति दिएको छैन । त्यसैले ब्रोकरलाई प्रडक्ट थपेर अन्य आम्दानीको स्रोत बढाउनु पाउनुपर्छ । ब्रोकरको अन्य आम्दानीको स्रोत भयो भने कमिसन शून्य गर्दा पनि केही फरक पर्दैन ।

ब्रोकर कम्पनीहरूको व्यवसाय कस्तो छ ?

अधिकांश ब्रोकर कम्पनी घाटामा चलिरहेका छन् । संख्यात्मक हिसाब निकाल्न सबैको ब्यालेन्ससिट हेर्नुपर्छ । विगत २ वर्षको कारोबारको ब्यालेन्ससिट हेर्दा ५०÷६० प्रतिशत ब्रोकरहरू घाटामा छन् । जतिबेला भोलुम बढी हुन्छ वा त्यही बुलको बेलामा व्यवसाय राम्रो हुने हो । औसत ६ अर्बको कारोबार हुन्छ भनेर ब्रोकर कमिसन घटाएपछि १ अर्ब मात्रै हुँदा ब्रोकर कम्पनी धेरै टिक्दैनन् ।

पछिल्लो समय अनलाइन कारोबार भइरहँदा लगानीकर्ता र ब्रोकरबीचको सम्बन्ध कस्तो छ ? ज्ञान आदान-प्रदान कतिको हुन्छ ?

अहिले अधिकांशले अनलाइनबाट कारोबार गर्ने भएकाले कार्यालय भिजिट पनि थोरै हुन्छ । सामाजिक सञ्जालमा स्क्रिप्ट राखेर सेयर खरिद बिक्री गर्न लगाउनु राम्रो होइन । सेयर कारोबार बुझेर नै लगानी गर्ने विषय हो । पोर्टफोलियो म्यानेजमेन्टको काम ब्रोकर कम्पनीलाई दिनुपर्छ । ग्राहकहरू ब्रोकरमा आइरहेका छन्, तर त्यो काम अन्य कम्पनीले गरिरहेका छन् । विदेशमा ब्रोकर कम्पनीले मात्रै पोर्टफोलियो म्यानेजमेन्टको काम गर्न पाउँछन् । अक्सन मार्केट पनि तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ । ब्रोकरलाई एउटा मात्रै प्रडक्ट दिएको छ । तैपनि सबैको आँखा कमिसनमा जान्छ ।

सेयर बजारमा राम्रा भनिएका कम्पनीको सेयर मूल्य कम छ । घाटामा गएका, साधारण सभा गर्न नसकेका, लामो समयदेखि प्रतिफल दिन नसकेका कम्पनीको सेयर मूल्य उच्च छ, किन ?

विदेशमा कुनै पनि कम्पनीलाई सूचीकृत गराउनु भनेको धेरै गाह्रो विषय हो । कम्पनी दीर्घकालीन हुनुपर्छ । कम्पनीमा सर्वसाधारण मान्छे पनि जोडिने भएकाले अब्बल कम्पनी मात्रै सूचीकृत गराउनुपर्छ । कम्पनीले थप व्यवसाय विस्तार गर्न पुँजी संकलन गर्ने भएकाले राम्रा कम्पनी मात्रै पुँजी बजारमा आउनुपर्छ भन्ने मान्यता छ । नेटवर्थ ऋणात्मक भएका कम्पनीलाई आईपीओ जारी गर्न दिएपछि गलत अभ्यास मौलायो । पहिला लगातार ३ वर्ष नाफामा रहेको कम्पनीले आईपीओ अनुमति पाउँथ्यो । उक्त व्यवस्थालाई परिमार्जन गरी अहिले २ वर्षमा झार्दा राम्रो सन्देश गएको छैन । कम्पनी टिक्छ कि टिक्दैन भन्ने विषय थाहा हुनुपर्छ । कम्पनीमा सर्वसाधारण जोडिएपछि कमाउनुपर्छ र रिटर्न पनि दिनुपर्छ ।

नेपाली पुँजी बजारमा जस्तो पनि कम्पनीले आईपीओ जारी गर्न पाएको छ । कम्पनी जस्तो भएपनि सेयर किन्ने नकिन्ने अधिकार व्यक्तिको हो भन्ने भाष्य बनाईयो । विशेषगरी २०५०÷६० को दशकमा यो अभ्यास मौलाएको थियो । त्यो समयमा सूचीकृत भएका कम्पनी धमाधम बन्द हुने अवस्थामा पुगे । कम्पनी बन्द हुँदा पुँजी बजारलाई नै घाटा हुने हो । कम्पनीलाई पैसा चाहिएपछि आईपीओ ल्याउन पाउनुपर्छ भन्ने मान्यता छ । यदि कम्पनीलाई पैसा आवश्यक परेको हो भने प्राइभेट इक्टिी भेन्चर क्यापिटल (पीईभीसी) फण्ड प्रयोग गरेर राम्रो भएपछि मात्रै आईपीओ जारी गर्न दिनुपर्छ ।

ब्रोकर कम्पनीहरूले मार्जिन लेण्डिङ कति गरिरहेका छन् ?

मार्जिन लेण्डिङको काम सुरु भएकै छैन । ६० करोडको कम्पनीले मात्रै मार्जिन लेण्डिङको काम गर्न पाउने व्यवस्था छ । मार्जिन लेण्डिङ सम्बन्धी व्यवस्थामा राष्ट्र बैंक र सेबोन स्पष्ट नभएकाले कुनै पनि कम्पनीले काम सुरु गरेका छैनन् ।

ब्रोकर कम्पनीहरूले मर्ज चाहेका हुन् ?

हो, ब्रोकर कम्पनीले मर्जर चाहेका हुन् । मर्जर नीति छिटोभन्दा छिटो धितोपत्र बोर्डले पास गर्नुपर्छ । होइन भने दीर्घकालमा कमिसन घटाउँदै जाने, प्रडक्ट नथप्ने हो भने मर्जरको विकल्प छैन । र, एकाध वर्षपछि ठूला ब्रोकर र डेढ अर्ब माथिका ब्रोकर कम्पनी मात्रै टिक्न सक्छन् । कुनाकाप्चामा कार्यालय राखेर ब्रोकर चलाउने सम्भवना छैन । त्यसैले मर्जर नीति तुरुन्तै पास गर्नुपर्छ । पुराना ब्रोकरले २० करोड पुँजी पुर्याउनु पर्ने बाध्यताले अधिकांश कम्पनी मर्जरका लागि तयार छन् । २/३ करोड पुँजीलाई एकैपटक २० करोड पुर्याउँन गाह्रो छ । जसरी बैंक तथा वित्तीय संस्थाहरू चलिरहेका छन्, त्यसैगरी ब्रोकर कम्पनीहरू प्रोफेसन बन्न खोजिरहेका छन् । अहिले ब्रोकरको संख्या बढी भएको होइन, व्यवसाय नपुगेको हो । संख्याका हिसाबले ब्रोकर कम्पनी धेरै ठाउँ जानुपर्ने छ । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा शाखाबाट समेत सेवा पाउँछन् । तर, नियामकले सहायक कम्पनीका रुपमा मात्रै लाइसेन्स दिईयो । यसले त कम्पनी थपिएको मात्रै हो । यदि बैंकलाई लाइसेन्स दिएको भए बैंकको हरेक शाखाबाट कारोबार हुन्थ्यो । देशैभरी पुँजी बजारको पहुँच र विकास हुन्थ्यो । पुँजी बजारका लागि माइलस्टोनका रुपमा काम हुन्थ्यो ।

बैंकका सहयाक कम्पनीले कस्तो प्रभाव पारेको छ ?

बैंकको सहायक कम्पनीको रूपमा सञ्चालनमा आउँदा पुँजी बजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । कम्पनी प्रतिको विश्वास बढेको छ । बैंकसितको टाइअपले ग्राहकको संख्या बढेको छ ।

नयाँ ब्रोकरलाई लाइसेन्स दिँदा ब्रोकरहरू विभाजित भए । पुराना ब्रोकर व्यवसायीहरूले नयाँ व्यवसायीलाई स्वागत गरेनन् । कहिलेसम्म दुई ब्रोकर एशोसिएसन रहन्छन् ?

यो विषयमा ठ्याककै निर्णय केही भएको छैन । नयाँ र पुराना साथीहरूले एक भएर जाँदा राम्रो हुन्छ भन्नु भएको छ । व्यक्तिगत रूपमा केही कुराहरू र वैमनष्यता थिए होलान् । तर, विगतमा जेजस्तो भएपनि सानो उद्योगमा दुई संघ मिलेर जाँदा राम्रो हुन्छ भन्ने सुझाव छ । एउटा बैठकमा छलफल पनि भयो । त्यसपछि थप छलफल भएको छैन । साथीहरूको सल्लाह सुझाव अनुसार एक हुनेछौं । अहिले कुन-कुन बेमेल हो भन्ने विषयमा पुगेका छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.