यार्सागुम्बा संकलन : राज्यकोषमा एक करोड २५ लाख राजस्व

  २०८१ जेठ २५ गते १२:०२     विकासन्युज

काँक्रेविहार । बहुमूल्य जडीबुटी यार्सागुम्बा सकंलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा संकलनमा गएका छन् । उनीहरूबाट उक्त रकम संकलन भएको हो ।

गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए । उनीहरूबाट ८५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । तर यसपटक गत वर्षको तुलनामा यार्सा संकलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।

गत वर्षको तुलनामा यसपटक दोब्बर यार्सा संकलनकर्ता पाटन प्रवेश गरेको र राजस्व पनि गत वर्षको तुलनामा झण्डै ४१ लाख रुपैयाँ बढी संकलन भएको उनले बताए । यार्सा गुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति दुई हजार रुपैयाँ र डोल्पाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाएको वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

कुल संकलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने छ । कार्यालयले यार्सा संकलन र राजस्वको विस्तृत विवरणानुसार डोल्पाको तोइजम क्षेत्रबाट एक हजार पाँच सय यार्सा संकलन पाटन प्रवेश गरेको र त्यहाँबाट १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट एक सयजना यार्सा संकलन पाटन प्रवेश गर्दा एक लाख ९४ हजार रुपैयाँ, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट गएका दुई हजार ४१ जना यार्सा संकलकबाट २९ लाख ७४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

डोल्पाको क्षेप्का क्षेत्रबाट गएका चार सय ७३ जना संकलकबाट तीन लाख ७९ हजार रुपैयाँ राजस्व असुली भएको छ । फोक्सुण्डो तालको रिम्मु क्षेत्रबाट एक सय तीनजना संकलक पाटन प्रवेश गरेका र उनीहरूबाट एक लाख ७७ हजार रुपैयाँ राजस्व उठेको छ । डोल्पाको त्रिपुरा क्षेत्रबाट चार सय ५० यार्सा संकलक पाटनतर्फ जाँदा दुई लाख ५५ हजार रुपैयाँ राजस्व संकलक भएको छ । त्यसैगरी डोल्पाको दोरेन्जपोष्टबाट दुई हजार सात सयजना यार्सा सङ्कलक पाटन गएका र उनीहरूबाट ७० लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व संकलन हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न सात जिल्लाका स्थानीय जाने गरेका छन् ।

मुगुमा यार्सा संकलनबाट ६९ लाख राजस्व

मुगुको कार्मारोङ गाउँपालिकामा यसपटक यार्सा संकलनबाट ६९ लाख ५२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम जारी रहेकाले राजस्व रकम बढ्ने छ । गत वर्ष यार्सा संकलकबाट ४६ लाख रुपैयाँ राजस्व संकलन भएको र यसपटक ६९ लाख ५२ हजार पाँच सय रुपैयाँ जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।

यार्सा राजस्व संकलन टोली प्रमुख महेशबहादुर मल्लले यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ र जिल्लाभित्रकालाई प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले प्रवेश शुल्क लिइएको बताए । यसपटक यार्साबाट करिब ७० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको उनले बताए ।

कोराना महामारीका कारण चार वर्षसम्म यार्साबाट राजस्व उठेको थिएन । गत वर्ष भने ४६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । मुगुम कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङखोलालगायत सात स्थानबाट यार्सा संकलन हुने गरेको छ । करिब चार हजार पाँच सय जना यार्सा खोज्न पाटनमा आएको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष च्यावा लामाले रासस प्रतिनिधिलाई बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.