धितोपत्र बोर्डका अध्यक्ष : कसको कार्यकालमा कति काम ?

  २०८१ जेठ २५ गते ११:४८     राधिका आचार्य

काठमाडौं । विश्वमा धितोपत्र बजारको सुरुवात सन् १६०२ मा नेदरल्याण्डको राजधानी आम्सर्टरडममा स्टक एक्सचेन्जको स्थापना तथा उक्त स्टक एक्सचेन्जमा सर्वप्रथम डच इष्ट इण्डिया कम्पनीको सेयर कारोबारसँगै भएको मानिन्छ ।

नेपालमा भने वि.स. १९९३ सालमा कम्पनी ऐन लागू भएपछि वि.स. १९९४ मा सर्वप्रथम विराटनगर जुट मिल्स र नेपाल बैंकले सर्वसाधारणलाई सेयर बिक्री गरेपश्चात संस्थागत क्षेत्रबाट धितोपत्र निष्काशन गरी पूँजी संकलन गर्ने अभ्यासको सुरुवात भएको हो । वि.सं. १९९४ मा नै सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा रहने गरी नेपाल बैंक लिमिटेडले १०० रुपैयाँ अंकित मूल्य भएको २५ हजार कित्ता साधारण सेयर जारी गर्दा ८ लाख ४२ हजार रुपैयाँ (३३.६८ प्रतिशत) मात्र सेयर बिक्री भएको थियो ।

त्यसपश्चात वि.स. २०१८ मा सरकारी ऋणपत्रको कारोबार शुरुवात भयो । सो अवधिमा स्थापित अधिंकाश कम्पनीहरूले सार्वजनिक रुपमा धितोपत्र जारी गरी सर्वसाधारणबाट पुँजी संकलन गरेपनि तत्कालिन समयमा सरकारको राष्ट्रिय नीतिको रुपमा धितोपत्र बजारले स्थान पाउन सकेको थिएन । सर्वसाधारणमा समेत बजारप्रति चेतना कम भएको समयमा यस प्रकृयाले लामो समयसम्म निरन्तरता पाउन सकेन । पछि वि.स. २०३३ मा सेक्यूरिटी खरिद बिक्री केन्द्रको स्थापना, धितोपत्र बजार सञ्चालनको लागि ऐन तथा नियमावलीको तर्जुमा, वि.स. २०५० मा नियमन निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना, बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेन्ज लि. को स्थापना भएसँगै नेपालको धितोपत्र बजारको संस्थागत विकासक्रम प्रारम्भ भएको हो ।

नेपालको धितोपत्र बजारको विकासलाई प्रथम, दोस्रो, तेस्रो र चौथो चरणमा बाड्ने गरिएको छ । विभिन्न चरणमा फरक फरक व्यक्तिहरूले धितोपत्रबोर्डको अध्यक्ष बनेर काम गरिसकेका छन् । हरेक अध्यक्षहरूले आ-आफ्नो कार्यकालमा केही न केही नीतिगत तथा व्यवहारीक परिवर्तन गरेका छन् । २०५० सालबाट आधिकारीक रुपमा सञ्चालनमा आएको बोर्डले हाल ३ दशक पार गरिसकेको छ । र यस संस्थामा ७ जनाले कार्यकारी प्रमुखको भूमिकामा अध्यक्षता गरेका छन् ।

डम्बर प्रसाद ढुङ्गेल

डम्बर प्रसाद ढुङ्गेलले २०५०/०२/२५ गतेदेखि २०६०/०५/१४ सम्म अध्यक्ष पदमा रहेर काम गरिसकेका थिए । धितोपत्र बजार क्षेत्रमा सुरुदेखि नै संलग्न रहेका ढुङ्गेल नेपाल धितोपत्र बोर्डको संस्थापक अध्यक्ष समेत हुन् ।

तत्कालिन सेक्यूरिटी खरिद बिक्री केन्दको संस्थापक सञ्चालक तथा केही समय पश्चात सञ्चालक व्यवस्थापक रहेका उनी त्यसअघि नेपाल राष्ट्र बैंकमा लामो समय कार्यरत रहेका थिए ।

नेपालको धितोपत्र बजार प्रबद्र्धकको रुपमा समेत ढुङ्गेललाई चिनिने गरेको छ । धितोपत्र बजार सञ्चालन तथा विकास-विस्तारका लागि सर्वसाधारणको सहभागितामा खुलेका संगठित संस्थाहरूको अत्यन्त न्यून संख्याको उपस्थिति तथा अपर्याप्त कानुनी तथा नीतिगत व्यवस्थाहरूका कारण निकै चुनौतीपूणर् रहेको अवस्थामा रहेको थियो । ढुङ्गेलले बजारसम्बन्धी संस्थागत व्यवस्थाको अवधारणा तयार गरी निश्चित दिशा दिन आवश्यक कानुनी तथा अन्य पूर्वाधारहरुको व्यवस्था गरी देशमा धितोपत्र बजारको विकास-विस्तारमा महत्वपूणर् भूमिका खेलेका थिए ।

नेपाल राष्ट्र बैंकको सेवामा रहदा तत्कालिन औद्योगिक नीति अनुसार प्रस्तावित औद्यागिक सेक्यूरिटी खरिद बिक्री केन्द्रको स्थापनामा नेपाल राष्ट्र बैंक संलग्न हुने नहुने, हुने भएमा के कस्तो सुधार हुनुपर्छ भन्ने दुविधा नै थियो । उक्त विषयको छलफल र निणर्य प्रक्रियामा संलग्न भई केन्द्रमार्फत सरकारी ऋणपत्रको कारोबार समेत हुने र केन्द्रको नाम सेक्यूरिटी खरिद बिक्री केन्द्र राख्ने गरी नेपाल सरकारले स्वीकृति दिए बमोजिम नेपाल राष्ट्र बैंक उक्त केन्द्रको स्थापनामा सहभागी भएको थियो । केन्द्रमा उक्त बैंकको तर्फबाट ढुङ्गेल संस्थापक संचालकको रुपमा संलग्न भएका थिए ।

केही समय पश्चात अर्थात २०३४ भाद्र १७ देखि ढुङ्गेल चार वर्षका लागि सोही केन्द्रको सञ्चालक तथा व्यवस्थापकमा नियुक्त भई महत्वपूणर् भूमिका खेलेका थिए । त्यसपछि समेत लामो समय केन्द्रको कार्यकारी प्रमुखको रुपमा उनी रहेका थिए ।

धितोपत्र कारोवार ऐन, २०४० को अवधारणा तयार गरी ऐनको मस्यौदा गर्ने कार्यमा उनी संलग्न भए । ढुङ्गेलले ऐन लागू भएपश्चात सेक्युरिटी खरिद बिक्री केन्द्रमार्फत संस्थागत धितोपत्र निष्काशन तथा कारोबारको व्यवस्था गर्ने कार्यमा महत्वपूणर् भूमिका खेलेका थिए । धितोपत्र कारोबार ऐन, २०४० आयपछि सेक्यूरिटी खरिद बिक्री केन्द मार्फत् संस्थागत धितोपत्र (सेयर) को सूचिकरण गरी दोस्रो बजार कारोबारको व्यवस्था गर्नमा उनको नेतृत्वदायी भूमिका रहेको थियो ।

ढुङ्गेलले सर्वसाधारणसँग छरिएर रहेको स-सानो बचतलाई सामूहिक लगानी कोषको रुपमा धितोपत्र बजार मार्फत परिचालन गर्ने सम्बन्धमा अवधारणा तथा कानुनी आधार बनाई प्रस्ताव पेश गरेका थिए । प्रस्ताव अनुसार धितोपत्र बजारको विकासमा गतिशिलता दिने उद्देश्यले वि.सं २०४८ मा नागरिक लगानी कोषको स्थापना भएको थियो । उनले वि.सं. २०४८ देखि वि.सं. २०५० सम्म नागरिक लगानी कोष तथा सेक्यूरिटी खरिद बिक्री केन्द्र दुवैको कार्यकारी प्रमुखको जिम्मेवारी समेत पुरा गरेका थिए ।

धितोपत्र कारोबार ऐन, २०४० को २०४९ मा पहिलो संशोधन भयो । जसअनुसार नेपाल सरकारले धितोपत्र बजारको स्वायत्त नियमन निकायको स्थापना गर्न सक्ने व्यवस्था भयो । व्यवस्था भए बमोजिम नेपाल सरकारले २०५० जेष्ठ २५ मा नेपाल धितोपत्र बोर्डको स्थापना गरी ढुङ्गेललाई बोर्डको अध्यक्षमा नियुक्त गर्यो । जतिबेला उनी सेक्यूरिटी खरिद बिक्री केन्द्रको कार्यकारी प्रमुख रहेका थिए । वि.सं. २०५० देखि वि.सं. २०५३ सम्म नागरिक लगानी कोष तथा नेपाल धितोपत्र बोर्ड दुवैको कार्यकारी प्रमुखको भूमिका समेत उनले निभाएका थिए । त्यसपछि उनी करीब एक दशक २०६० भाद्र १४ गतेसम्म बोर्डको अध्यक्ष एवम् प्रशासकीय प्रमुखको जिम्मेवारीमा रहेर काम गरे ।

धितोपत्र कारोबार ऐन, २०४० को २०४९ मा पहिलो संशोधन भयो । त्यसपछि सेक्यूरिटी खरिद बिक्री केन्द्रलाई २०५० पौष २३ मा नेपाल धितोपत्र विनिमय बजारमा परिवर्तन गरी धितोपत्र बजार (दोस्रो बजार) सञ्चालनको छुट्टै व्यवस्था भयो । वि.सं. २०५० माघ २९ देखि बजारमा धितोपत्र दलाल व्यवसायीहरुको प्रवेश गराई खुला बोलकबोल प्रणालीमार्फत धितोपत्र बजार सञ्चालन गरियो । धितोपत्र कारोबार ऐन, २०४० लाई २०५३ मा दोस्रो संशोधन प्रक्रियामा पनि उनी सक्रिय रहे ।

धितोपत्र व्यवसायीहरू बोर्डमा दर्ता हुनुपर्ने व्यवस्था, चुनौतीका लागि सामना (२०५५/२०५९) नामक रणनीतिक योजना तर्जुमा तथा कार्यान्वयन, धितोपत्र बजार सुधारका लागि एशियाली विकास बैंकको आर्थिक सहयोगमा संस्थागत सुशासन आयोजना सञ्चालन र धितोपत्र निष्काशन तथा सूचिकरण गर्ने संगठित संस्थाहरूको लागि सूचना प्रवाह प्रणालीको विकास एवम् सूचना प्रवाह अभ्यासमा सुधार आदिमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह खेली नेपालको धितोपत्र बजारलाई स्पष्ट दिशा निर्देश गर्नमा उनको महत्वपूणर् भूमिका रहको छ ।

नेपालको धितोपत्र बजारको प्रारम्भिक संस्थागत विकासको सुरुवात वि.सं. २०३३ देखि वि.सं. २०६० भाद्र १४ सम्म धितोपत्र बजार सम्बन्धी महत्वपूणर् संस्थाहरूको प्रमूखमा रही उनले नेपालमा धितोपत्र बजारको सुरुवात तथा विकास बिस्तार कार्यमा योगदान पुर्याएका छन् ।

दीपकराज काफ्ले

दीपकराज काफ्लेको कार्यकाल २०६०/०५/१५ लेखि २०६४/०५/१० सम्म रहेको थियो । नेपालको धितोपत्र बजार क्षेत्रमा लामो समय संलग्न रहेका काफ्ले नेपाल धितोपत्र बोर्डका दोस्रो अध्यक्ष भई धितोपत्र बजारको थप सुधार कार्यको नेतृत्व गरेका हुन् । उनले वि.सं. २०३५ मा अधिकृतको रुपमा सेक्यूरिटी खरिद बिक्री केन्द्रमा प्रवेश गरी सेवालाई निरन्तरता दिँदै वि.सं. २०४९ देखि २०५१ सम्म सेक्यूरिटी खरिद बिक्री केन्द्रको बरिष्ट अधिकृत रुपमा काम गरे । वि.सं. २०४९ देखि वि.सं. २०५१ सम्म नेपाल धितोपत्र विनिमय बजार लिमिटेडको बरिष्ट अधिकृतको रुपमा समेत उनले काम गरे ।

उनी नेपाल धितोपत्र बोर्डमा वि.सं. २०५१ देखि वि.सं. २०६० सम्म निर्देशक रहे । बोर्ड भित्रैबाट अध्यक्ष नियुक्त भएका काफ्लेले धितोपत्र सम्बन्धी ऐन, २०६३ तयार गरी ऐन बनाउने कार्यमा महत्वपूणर् भूमिका खेलेका थिए । धितोपत्र दर्ता तथा निष्काशन, धितोपत्र बजार, धितोपत्र दलाल व्यवसाय तथा मर्चेण्ट बैंकिङ्ग व्यवसाय सम्बन्धी नियमावलीहरू तयार गरी अर्थ मन्त्रालयमा पठाउने कार्यको नेतृत्व उनले गरेका थिए ।

धितोपत्र कारोबारको खुल्ला बोलकबोल प्रथालाई प्रतिस्थापन गरी स्वचालित कारोबार प्रणालीले प्रतिस्थापन गर्ने एशियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालित संस्थागत सुशासन आयोजनाको कार्यन्वयन समूहको नेतृत्व गर्ने तथा धितोपत्र बोर्डको अन्तराष्ट्रिय सम्बन्ध बढाउने कार्यमा समेत काफ्लेको भूमिका रहेको थियो । उनले दक्षिण एशियाली धितोपत्र बजार नियमन निकायहरूको समूह (सार्फ) को प्रवर्द्धन गर्नमा सक्रिय भूमिमा निर्वाह गरे । उक्त समूहको उपाध्यक्षको भूमिकासमेत उनले निभाए ।

ट्रष्टी निर्धारण तथा लगानीकर्ता संरक्षण संरचना तयार गरी संस्थागत ऋणपत्रको निष्काशन तथा दोस्रो बजार कारोबारको ब्यवस्था तथा सरकारी ऋणपत्रको धितोपत्र बजारमार्फत् दोस्रो बजार कारोबार संयन्त्रको व्यवस्था गर्नमा उनको विषेश भूमिका रहेको थियो । काफ्ले नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट सेवा निवृत्त भएपछि पनि धितोपत्र बजारको विकास तथा विश्वसनीयता अभिवृद्धि कार्यमा सक्रिय रहँदै आएका छन् ।

चिरञ्जीबि नेपाल

बोर्डको तेस्रो अध्यक्षको रुपमा २०६४/०५/११ देखि २०६५/०८/११ सम्म उनको कार्यकाल रहेको थियो । उनको कार्यकाल छोटो समयको मात्रै भयो । यद्यपि त्यसअघि मस्यौदामा गएका नियमावलीहरू उनको कार्यकालमा कार्यन्वयनमा आए । नेपाल धितोपत्र बोर्डको अध्यक्षको छोटो कार्यकालमा धितोपत्र बजारलाई स्थायित्व दिनका लागि स्वच्छ, विश्वसनीय तथा पारदर्शी बनाउने उद्देश्यले सम्बन्धित पक्षहरूसंग समन्वय गर्ने काममा उनी सक्रिय रहे ।धितोपत्र बजारमा विश्वास अभिवृद्धि गर्न सम्बद्ध पक्ष, व्यक्ति, पत्रकारहरूलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा लगानीकर्ताहरूलाई बजारसम्बन्धी गतिविधिहरू तथा लगानी जोखिमसम्बन्धी जानकारी दिने जस्ता कार्यक्रमको सुरुवात उनकै कार्यकालबाट भएको हो ।

उनले धितोपत्र बजारको विकास तथा विस्तारमा अत्यावश्यक तथा दीर्घकालीन महत्व राख्ने नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४ तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ लागू गर्ने कार्यमा महत्वपूणर् भूमिका खेलेका थिए ।

धितोपत्र बाँडफाँड प्रणालीमा सुधार गर्ने र बोर्डले सरकारको नियमित बजेट सहयोग नलिने नीति उनले तयार गरेका थिए । त्यस्तै उनले सार्वजनिक निष्काशन भएका सेयरमा लगानीका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था लागु गरे । बोर्डमा सूचना प्रविधिको प्रयोग बढाई आन्तरिक गतिविधिहरुको यान्त्रिकीकरण गर्ने एसडिएमएस परियोजनाको सुरुवात साथै कार्यान्वयनको प्रारम्भिक चरणको अनुगमन तथा सहजीकरण गर्ने कार्य नेपालले गरेका थिए ।

शूरवीर पौड्याल

शूरवीर पौड्यालले २०६५/०९/०२ देखि २०६८/०५/१० गतेसम्म बोर्डको चौथो अध्यक्षको रुपमा काम गरेका हुन् । बोर्डका अध्यक्ष बन्नुअघि उनी त्रिभूवन विश्वविद्यालयमा तीन दशकभन्दा बढी अर्थशास्त्र विषयको प्राध्ययन तथा अनुसन्धान गर्दै आएका थिए ।

पौड्यालको कार्यकालमा धितोपत्र बजारका महत्वपूणर् पूर्वाधार केन्द्रीय निक्षेप सेवा, सामूहिक लगानी योजना तथा साख मूल्यांकन संस्थाको स्थापनाका लागि अत्यावश्यक सामूहिक लगानी कोष नियमावली, २०६७, धितोपत्रको केन्द्रीय निक्षेप नियमावली, २०६७ तथा क्रेडिट रेटिङ्ग नियमावली, २०६८ तयार गरी लागू गर्ने कार्यको नेतृत्व गरेका थिए । यसरी भएका कानुनी व्यवस्था बमोजिम वि.सं. २०६७ सालमा केन्द्रीय निक्षेप प्रणालीको स्थापना तथा वि.सं. २०६८ मा सामूहिक लगानी योजनाहरू स्थापना भई संचालनमा आएका थिए ।

पौड्यालको कार्यकालमा सीडीएमएस परियोजना सफलतापूर्वक सम्पन्न भएको थियो । उनले बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने व्यवस्था गर्न महत्वपूणर् भूमिका खेली उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएका थिए । उनले देशको धितोपत्र बजारको इतिहासमा पहिलोपल्ट धितोपत्र सम्बन्धी कानुनी व्यवस्था उल्लघन गर्ने धितोपत्र दलाल व्यवसायीको सञ्चालकलाई मौद्रिक सजाय गरी धितोपत्र सम्बन्धी कानुनी व्यवस्थाको प्रवलीकरण कार्यमा जोड दिएका थिए ।

पुँजी बजारको समय सापेक्षरुपमा विकास एवम् प्रवर्द्धधन गर्ने उद्देश्यले विश्व बैंकको प्राविधिक सहयोगमा बजार विकासमा देखिएका कठिनाइ, चुनौती तथा सम्भावना सम्बन्धमा अध्ययन गरी पाँच वर्षीय पूँजी बजार विकास गुरुयोजना तयार गर्ने कार्यमा पनि पौड्यालको नेतृत्वदायी भूमिका रहेको थियो । भारतीय आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि सम्बन्धमा अध्ययन गराउने, नयाँ धितोपत्र दलाल व्यवसायीहरुलाई बजार प्रवेश गराउने, बोर्डको लेखा प्रणालीलाई स्वचालित बनाउने, धितोपत्र बाँडफाँड प्रणालीमा सुधार गर्ने र बोर्डले सरकारको नियमित बजेट सहयोग नलिने नीति कार्यान्वयन गर्ने काम उनले गरे । त्यस्तै अन्य नियमन निकायसरह धितोपत्र बोर्डको आयमा कर नलाग्ने व्यवस्था गराउने जस्ता महत्वपूणर् कार्यहरू पौड्यालको कार्यकालमा सम्पन्न भएका थिए ।

धितोपत्र बोर्डको अध्यक्षको कार्यकाल ४ वर्ष रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार यदि कोहि अध्यक्षले आफ्नो कार्यकाल सकिनु अगावै राजिनामा बुझाएको खण्डमा त्यसपछि आउने अध्यक्षको कार्यकाल सोहिबाट बाँकि रहेको समय मात्रै रहने गरेको छ । यसरी पछि आएको अध्यक्ष र सुरुको अध्यक्षको पुरा कार्यकाल जोडेर ४ वर्ष पुरा हुन्छ ।

बावुराम श्रेष्ठ

बावुराम श्रेष्ठको कार्यकाल २०६८/०६/३० देखि २०७२/०६/२९ गतेसम्म रहेको छ । श्रेष्ठको कार्यकालमा सूचिकृत कम्पनीको धितोपत्रहरूको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत् अभौतिकीकरण गर्ने कार्यको सुरुवात भएको थियो ।साथै, सूचिकृत कम्पनी तथा पब्लिक कम्पनीले निष्काशन गर्ने धितोपत्रहरूको रेटिङ्ग गरी लगानीकर्तालाई कम्पनीको जोखिम तथा सम्भावनाका बारेमा जानकारी दिई सुसुचित निणर्य लिनमा सहयोग पुऱ्याउने काम उनले गरे । त्यस्तै इक्रा नेपाल लिमिटेडलाई पहिलो शाख मूल्याङ्कन संस्थाको रुपमा संचालन अनुमति दिने काम उनले गरे ।

धितोपत्र बजारका लगानीकर्ताहरूको समस्या, गुनासा, सल्लाह र सुझाव पेश गर्ने कार्यलाई सहजीकरण गर्न बोर्डमा हटलाईन फोनको व्यवस्था उनले गरेका थिए । बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक जनशक्ति पूर्ति सम्बन्धी प्रकृया अगाडि बढाउने जस्ता कामहरू उनको कार्यकालमा भएको थियो । उनको कार्यकालमा अन्य नीतिगत सुधारका कार्यहरू भने हुन सकेन । यद्यपि लगानीकर्ताहरूको उच्च मनोबलका कारण उनको कार्यकालमा सेयर बजार भने उच्च अंकमा बढेको जानकारहरू बताउँछन् ।

 

रेवत बहादुर कार्की

रेवत बहादुर कार्की बोर्डको छैटौ अध्यक्ष हुन् । उनले बोर्डमा २०७२/०६/३० देखि ४ वर्ष कार्यकाल चलाए । अर्थविद, बैंकिङ्ग तथा पूँजी बजार विज्ञ कार्की बोर्डको अध्यक्ष बन्नुपूर्व नेप्सेको महाप्रबन्धक पनि भएका थिए । उनले नेप्सेमा महाप्रबन्धक रहदा धितोपत्र कारोबारको खुला बोलकबोल प्रथालाई स्वचालित प्रणालीले प्रतिस्थापन गर्ने, वाइड एरिया नेटवर्कको विकास गरी ब्रोकर अफिसबाट नेप्सेमा कारोबार गर्ने व्यवस्था, नेप्सेलाई गैर मुनाफाकारी संस्थाबाट मुनाफाकारी संस्थामा परिवर्तन गरी नेप्सेको बोर्डमा ब्रोकरको प्रतिनिधित्वको सट्टा विज्ञ सदस्य राख्ने व्यवस्था, फ्लोट र सेन्सेटिभ इन्डेक्सको सुरुवात तथा नयाँ धितोपत्र दलाल व्यवसायी थप्न पारदर्शी छनौट विधि बनाउने जस्ता कार्य गरी धितोपत्रको दोस्रो बजारमा संरचनात्मक सुधार गरेका थिए ।

कार्कीको नेतृत्वमा पूणर्रुपमा अभौतिकृत धितोपत्रको कारोबार हुने व्यवस्था गरीएको थियो । लगानीकर्ताहरूले धितोपत्र कारोबारको गहिराई हेर्न पाउने व्यवस्था, धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा प्रणालीको लागू पनि उनकै कार्यकालमा भएको हो । बोनस, हकप्रद सहित सेयर तथा नगद लाभांश लगानीकर्ताको डिम्याट खाता र बैंक खातामा जम्मा हुने व्यवस्था उनले गरेका हुन् । पूणर्रुपमा अभौतिकीकृत धितोपत्रको मात्र कारोबारको व्यवस्था भई दोस्रो बजारको पूणर् यान्त्रिकीकरण गर्ने जस्ता महत्वपूणर् कार्यहरू उनले छोटो समयमा नै सम्पन्न गरेका थिए ।

वास्तविक क्षेत्रका संगठित संस्थाले न्यूनतम १० प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने व्यवस्था उनले गरेका थिए । प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था पनि उनले गरेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने व्यवस्था, प्राथमिक निष्काशनमा डिम्याट खाता अनिवार्य गरी आवेदन गर्ने प्रत्येक आवेदकलाई कम्तिमा दश कित्ता वा दशको गुणनमा धितोपत्र बााडफााट गर्ने व्यवस्था पनि कार्कीको नेतृत्वमा भएको हो ।

यसका साथै प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरूको हकप्रद तथा एफपियो निष्काशनको लागि आवश्यक मापदण्डहरु बनाउनु, थप सार्वजनिक निष्काशनका लागि मूल्य निर्धारण विधिको व्यवस्था र निष्काशनसम्बन्धी अन्य सुदृढ नीतिगत व्यवस्था उनकै कार्यकालमा भएको हो । धितोपत्र कारोबारमा लाग्ने दलाल व्यवसायी शुल्क ४० प्रतिशत तथा ओटिसी बजारको कारोबार शुल्कमा ९० प्रतिशतसम्म कटौती, धितोपत्र व्यवसायीहरुले प्रदान गर्ने सेवाको पूणर् जानकारी दिन बडापत्रको व्यवस्था र कानुनी व्यवस्थामा सुदृढीकरण पनि उनकै नेतृत्वमा भएको हो । बोर्डमा आन्तरिक सुशासनमा सुदृढ तुल्याउन बोर्डका कर्मचारीहरूका लागि आचारसंहिताको व्यवस्था जस्ता बजार सुधारसम्बन्धी महत्वपूणर् कार्यहरू कार्कीको नेतृत्वमा भएका छन् ।

ओईसिडि सिद्धान्तको आधारमा पहिलोपटक सूचीकृत कम्पनीहरूको लागि सुशासन निर्देशिका २०७४ सालमा जारी गरी यस्ता सूचीकृत कम्पनीमा सुशासन कायम गराउनमा उनले नयाँ अध्याय थपेका थिए। त्यस्तै सेबोनमा न्यून जनशक्ति (२३ जना मात्र) र न्यून विज्ञहरू भएकोमा उनको कार्यकालमा विभिन्न क्षेत्रका विज्ञहरूसहित जनशक्तिको संख्या (७५) र गुणस्तर दुबैमा व्यापक वृद्धि भएको थियो ।

भिष्मराज ढुंगाना

भीष्मराज ढुङ्गाना नेपाल धितोपत्र बोर्डका सातौँ अध्यक्ष हुन् । २०७६ पुसबाट उनको कार्यकाल सुरु भएको हो । बोर्डमा हरेक अध्यक्षको कार्यकाल ४ वर्ष हुने व्यवस्था छ । तथापि सर्बोत्तम सेयर निष्काशन प्रक्रियामा उनी विवादित भएका कारण २०७८ असोज १९ मा सरकारले उनलाई बर्खास्त गरेको थियो ।

ढुंगानामाथि सर्वोत्तम सिमेन्टको संस्थापक सेयर छोरीको नाममा खरिद गरेको आरोप लागेको थियो । त्यसकै कारण २०७८ असोज १९ मा सरकारले ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्ष पदबाट बर्खास्त गरेको थियो । यद्यपि ढुंगानाले ’सेयर बजारमा सूचीकृत भइनसकेको कम्पनी बोर्डको नियमनभित्र नपर्ने र विवाहित छोरीले नै खरिद गरेकाले कानुन विपरीत कुनै कार्य नभएको’ भन्दै आफ्नो सफाइ व्यक्त गरेका थिए ।

उनको कार्यकालमा कोरोना भाइरसको संक्रमण रहेका कारण सेयरसँग जोडिएका सबै कारोबारहरू अनलाईलबाट हुने व्यवस्था उनले गरे । त्यसअघि क्लियरिङ तथा ट्रेडिङका केही कामहरू व्यक्ति स्वयम उपस्थित भएर मात्रै गर्न सकिन्थ्यो । कोरोनाको समयमा व्यक्ति स्वयम उपस्थित हुने कुरा सम्भव नभएपछि उनले सबै कारोबार अनलाइनबाट नै हुने व्यवस्था गरेका हुन्।

साथै नेपाल धितोपत्र बोर्डको लागि जग्गा किन्न पैसा जुटाउने र अन्य पहल गर्ने काममा उनी सक्रिय रहे । बोर्डले जग्गाको लागि पैसा बुझाइसकेको छ यद्यपि विभिन्न विवादका कारण उक्त जग्गा बोर्डको नाममा आइसकेको भने छैन । बोर्डलाई जग्गाको व्यवस्था गर्नमा उनको महत्वपूणर् भूमिका रहेको छ ।

रमेश कुमार हमाल

रमेश कुमार हमाल बोर्डका आठौंं अध्यक्ष हुन् । सरकारले बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि खाली भएको पदमा उनी अध्यक्ष नियुक्त भएका हुन् । त्यसैले हमालको कार्यकाल विस २०८० पुस २४ सम्म मात्र रहेको थियो । धितोपत्र बोर्डमा उनको कार्यकालमा नयाँ ब्रोकरहरू प्रयाप्त मात्रामा आए । नयाँ ब्रोकरलाई सजिलै आउन दिने व्यवस्था उनैले गरेका हुन् । त्यस्तै ब्रोकर कमिशन घटाउनुपर्छ भनेर उनैले सक्रिय रुपमा काम गरे । उनकै पालामा ब्रोकर कमिशन घटाउनुपर्छ भन्ने प्रस्ताव अर्थ मन्त्रालयमा गयो । जुन प्रस्तावलाई हाल मन्त्रालयले पारित गरेर लागु समेत भइसकेको छ ।

उनले आफ्नो कार्यकालमा कम्पनीको नेटवर्थको आधारमा पब्लिकमा जान दिने व्यवस्था गरे । यदि कुनै कम्पनीको खुद नाफा कम छ तर त्यस कम्पनीसँग अन्य सम्पत्ति (जग्गा, घर वा अन्य केही) छ भने त्यस कम्पनीले ती सम्पती बेचर आएको रकमलाई समेत नेटवर्थमा जोडेर नाफा भयो भनेर पब्लिकमा जान पाउने व्यवस्थाको कार्यन्वयन गरे । यद्यपि यस कार्यलाई भने विज्ञहरूले उनको कार्यकालमा भएको गलत निणर्यको रुपमा व्याख्या गर्ने गरेका छन् ।

सानो पुँजीको कम्पनी र ठूला पुँजीका कम्पनीहरूलाई छुट्याउन पर्छ भनेर नियमावली तयार गरी स्विकृतिको लागि मन्त्रालय पठाएका छन् । यो नियम मन्त्रालयबाट पारित हुन भने बाँकि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.