काठमाडौं महानगरले भत्काएको न्यूरोड सडक पुनर्स्थापना गर्न सडक विभागकाे २ दिने अल्टिमेटम

  २०८१ जेठ १७ गते ७:१४     विकासन्युज


काठमाडौं । सडक विभागले काठमाडौं महानगरबाट भत्काइएका न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडकखण्ड २ दिनभित्र मर्मत गर्न भन्दै महानगरलाई अल्टिमेटमे दिएको छ ।

बुधबार सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले महानगरलाई भत्काइएको सडकखण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको हो ।

‘मिति २०८१/०२/०३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिएता पनि मिति २०८१/०१/१२ मा विना सहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडकखण्डमा त्यहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनु हुन भनी मिति २०८१/०२/१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनर्स्थापना भएको देखिएन,’ बुधबार महानगरलाई पठाएको कार्यालयको पत्रमा उल्लेख छ ।

कार्यालयले महानगरबाट भत्काइएका सडक खण्ड २ दिनभित्र मर्मत नभएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन पनि कार्यालयले चेतावनी दिएको छ ।

यसअघि महानगरका प्रमुख मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो फ्याँकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.