२३ करोडमा डोल्पा जिल्ला अस्पताल भवन निर्माण, अब २५ शय्यामा स्तरोन्नती गरिने

  २०८१ जेठ ४ गते १४:३२     विकासन्युज

काँक्रेविहार । जिल्ला अस्पताल डोल्पाको लागि आधुनिक भवन निर्माण भएको छ । २३ करोड लागतमा उक्त भवन निर्धारित समयमा निर्माण भएको हो ।

बिहीबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अस्पतालको उद्घाटन गरेसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । अस्पतालले २५ शश्यामा सेवा विस्तार गर्ने लक्ष्य राखे पनि हाल १५ शय्याको सेवा दिइरहेको छ ।

चालु आवमै प्रदेश सरकारले जिल्ला अस्पताललाई भौतिक पूर्वाधार तथा उपकरण व्यवस्थापन गरी १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्यअनुसार भवन निर्माण भएको मन्त्री शाहीले जानकारी दिए । नयाँ भवन निर्माणसँगै अस्पतालमा आन्तरिक व्यवस्थापनका काम हुने र त्यसमा मन्त्रालयको पूर्ण सहयोग रहने मन्त्री शाहीले बताए ।

अहिले अस्पताल जान र आउन भेरी नदी माथी पुल नहुँदा समस्या छ ।  समस्या समाधानका लागि उक्त पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ पोखरेलले अस्पतालका लागि  प्रदेशले सहयोग गर्ने प्रतिबद्धता जनाए । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या हुने गरेको डा अखण्ड उपाध्यायले जानकारी दिए ।

डोल्पाका बिरामीलाई अहिले हवाई मार्गबाट उद्धार गरेर बाहिर उपचारका लागि लाने गरिएको छ । सामान्य खालका बिरामी जिल्ला अस्पतालमा उपचार भए पनि जटिल समस्या भएकालाई जुफाल विमानस्थलबाट जहाजमार्फत सुर्खेत, नेपालगञ्ज लाने गरिएको छ । ७० प्रतिशतभन्दा बढी करारका स्वास्थ्यकर्मीबाट अस्पतालमा उपचार सेवा सञ्चालन गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.