भैँसी पाल्ने किसानलाई पर्वतको पैयुँ गाउँपालिकाले ५० हजार अनुदान दिने

  २०८१ वैशाख २६ गते १०:५७     विकासन्युज

पर्वत । जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ ।

किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी ५० हजार रुपैयाँका दरले अनुदानको व्यवस्था गरिएको हो ।

यसअघि राँगा पालेका प्रत्येक किसानलाई २० हजार रुपैयाँ अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए । सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई चार लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।

गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए ।

यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो । पालिकामा किसानले एउटा भैँसीलाई राँगो लगाएको एक हजार ५०० रुपैयाँ खर्च तिर्दै आएका छन् । अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ । राँगापालक किसानलाई चार लाख रुपैयाँ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.