यो वर्ष श्रम मन्त्रालयको खर्च ३४.१७ प्रतिशत मात्रै

  २०८१ वैशाख १३ गते १६:३०     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म(२०८१ वैशाख १२ गतेसम्म) ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएका हुन् ।

कुल विनियोजित बजेट १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ(३४.१७ प्रतिशत) मात्रै खर्च भएको उनले बताए । चालुतर्फ १ अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत) खर्च भएको र पुँजीगततर्फ ७ करोड ९६ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड ९० लाख रुपैयाँ(२३.९५ प्रतिशत) खर्च भएको उनले स्पष्ट पारे ।

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन भएकोमा वित्तिय हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयन हुने ५ अर्ब ३६ करोड रुपैयाँमध्ये १ अर्ब १४ करोड ५३ लाख ९९ हजार रुपैयाँ(२१ प्रतिशत) खर्च भएको बताए ।

मन्त्रालयबाट कार्यान्वयन हुने ५७ करोड ७८ लाख रुपैयाँमध्ये ४ करोड ११ लाख ५९ हजार रुपैयाँ(७.१२ प्रतिशत) खर्च भएको जानकारी दिए । त्यसैगरी व्यावसायिक तथा सीप विकास तालिमतर्फ सीप विकास तालिम प्रतिष्ठानबाट कार्यान्वयन हुने विनियोजित बजेट रकम २९ करोड ३३ लाख रुपैयाँमध्ये ४ करोड २३ लाख १५ हजार रुपैयाँ(१४.४३ प्रतिशत) खर्च भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.