उपनिर्वाचनको सुरक्षाको लागि निर्वाचन आयोगले गर्यो तीन बुँदे निर्णय

  २०८१ वैशाख १० गते १६:२६     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थासम्बन्धी तीन बुँदे निर्णय गरेको छ । सोमबार बसेको आयोगको बैठकले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा  विभिन्न तीन बुँदे निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कार्य गर्नेलाई कारबाही गर्न थप आदेश लिनुनपर्ने निर्णय भएको छ ।

आगामी बैशाख १५ गते इलामको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य र बझाङ क्षेत्र नम्बर १ (१)मा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।

यस्ता छन् आयोगको निर्णयहरू :
१. उपनिर्वाचनको मतदान हुने दिन मिति २०८१/०१/१५ गते निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्याउन नहुने, दफा ५ बमोजिम मतपत्रको दुरुपयोग गर्न नहुने, दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार विना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने, दफा ९ बमोजिम मत संकेत सार्वजनिक गर्न नहुने, दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने, दफा ११ बमोजिम मतपत्रबाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने, दफा १२ बमोजिम मतदान भएको मतपत्र बिगार्न वा नष्ट गर्न नहुने, दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकुल हुने गरी कुनै पनि कार्य हुन नदिन र कही कतैबाट भए गरेमा थप आदेश लिनुनपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र सोको जानकारी गराउने । कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृतमार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई र जिल्ला सुरक्षा समितिमार्फत मतदान केन्द्र तथा घुम्ती टोलीमा खटिने सुरक्षाकर्मीहरूलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत लेखी पठाउने ।

२. इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचनको दिन मिति २०८१/१०/१५ गते सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने। निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिने ।

३. निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिन २०८१ वैशाख १५ गतेको अघिल्लो ४८ घण्टा अर्थात २०८१ वैशाख १२ गते राती १२ः०० बजे पश्चात मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने । उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सुक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनुनपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.