एकदिन पनि टिकेन सेयर बजारको वृद्धि, परिसूचक र कारोबार दुबैमा गिरावट

  २०८१ वैशाख १० गते १५:३१     विकासन्युज

काठमाडौं । एक सातापछि आइतबार उकालो लागेको सेयर बजार सोमबार पुनः ओरालो लागेको छ । आइतबार दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले नै ओरालो लागेको छ ।

सेयर मूल्य मापक नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७७ प्रतिशतले घटी हो ।

सोमबार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार २ अर्ब २५ करोडको सेयर कारोबार भएको बजारमा सोमबार २ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ ।

सो दिन ३२० वटा स्क्रीप्स कारोबारमा आएका छन् । जसमध्ये गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको एकैदिन ११ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार बढेपनि संस्थाको सेयर मूल्य भने निरन्तर घटी रहेको छ । सोमबार संस्थाको सेयर मूल्य ३२.१० रुपैयाँले घटेर प्रतिकित्ता ७५५ रुपैयाँमा झरेको छ ।

घटेको बजारमा डोल्टी पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.३७ प्रतिशतले घटेर प्रतिकित्ता ४५१.१० रुपैयाँमा झरेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.२४ प्रतिशतले घटेर प्रतिकित्ता ६५० रुपैयाँमा झरेको छ ।

बजारमा म्युचुअल फण्ड सामान्य बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् । घटेको बजारमा पिपुल्स पावरका सेयरधनीले सबैभन्दा बढी अर्थात ६.९१ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४२ रुपैयाँले बढेर प्रतिकित्ता ६५० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.