नेपाल आएका पर्यटकको दैनिक औसत खर्च ४१ डलर

  २०८१ वैशाख ६ गते १७:५७     विकासन्युज

काठमाडौं । सन् २०२३ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४१ अमेरिकी डलर खर्च गरेका छन् । गत वर्ष २०२२ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४०.५ डलर खर्च गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार नेपाल आएका प्रत्येक पर्यटकले दैनिक औसत ४१ डलर (औसत ५ हजार रुपैयाँ) खर्च गरेका छन् ।

त्यसैगरी २०२३ मा नेपालले पर्यटक आगमनबाट ५४ करोड ८२ लाख डलर (७२ अर्ब रुपैयाँ हाराहारी) आम्दानी गरेको छ । २०२२ मा ३५ करोड ९७ लाख डलर अर्थात् ४७ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सन् २०२२ र २०२३ को दुई वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाख २९ हजार ७ सय ५१ थियो । जसमध्ये हवाइमार्गबाट १५ लाख ६ हजार ९ सय १ जना र स्थलमार्गबाट १ लाख २२ हजार ८ सय ५० जना पर्यटक नेपाल आएका थिए ।

सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए भने २०२३ मा १० लाख १४ हजार ८२२ पर्यटक आएका थिए । हवाई मार्गबाट आउने पर्यटकको संख्या २०२२ को तुलनामा २०२३ मा ५४. ३ प्रतिशतले बढी हो । स्थलमार्गबाट २०२२ को तुलनामा २०२३ मा ३५२.४ प्रतिशले बढी पर्यटक आएका थिए ।

सन् २०२२ मा पर्यटकको औसत बसाइ १३.१ दिन रहेको थियो भने २०२३ मा १३.२ दिन रहेको थियो । यो बसाई २०२२ को तुलनामा २०२३ मा ०.८ प्रतिशतले बढी हो ।

मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको तथ्यांकअनुसार दुई वर्षमा नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला छन् । सन् २०२२ को तुलनामा महिला पर्यटक बढी छन् ।

सन् २०२२ मा ३ लाख ५८ हजार ६ सय ८३ जना पुरुष पर्यटक आएका छन् भने २०२३ मा ५ लाख ६६ हजार ६ सय ६५ पुरुष पर्यटक आएका छन् ।

यस्तै २०२२ मा २ लाख ५६ हजार १२ महिला पर्यटक र २०२३ मा ४ लाख ४७ हजार ४ सय ७ महिला पर्यटक आएका छन् । यसैगरी २०२२ मा १७४ जना र २०२३ मा ४ सय १० जना अन्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१–४५ वर्ष उमेर समूहका छन् ।

सन् २०२३ मा यो उमेर समूहका सर्वाधिक ३ लाख १७ हजार १७० जना आएका छन् । यो कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो ।

दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका २ लाख ७२ हजार ३४२ जना पर्यटक आएका छन् । यो २६.८४ प्रतिशत हो ।

मन्त्रालयले धेरै पर्यटक आएका प्रमुख पाँच देश पनि सार्वजनिक गरेको छ । जसमा २०२२ र २०२३ मा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचीमा पहिलो नम्बरमा भारत रहेको छ ।

दुवै वर्ष दोस्रो नम्बरमा अमेरिका छ । २०२२ मा तेस्रोमा बेलायत र चीन, चौथोमा अस्ट्रेलिया र बेलायत तथा पाँचौं नम्बरमा बंगलादेश र अस्ट्रेलिया छन् ।

यस्तै दुई वर्षमा नेपाल भित्रिएका कुल पर्यटकमध्ये बिदा मनाउन आएका पर्यटकको संख्या २०२२ मा ३ लाख ९७ हजार ८ सय २० थियो भने २०२३ मा ६ लाख ३४ हजार ३ सय १ थियो । यो संख्या २०२२ को तुलनामा २०२३ मा ५९.४ प्रतिशतले बढी हो ।

यस्तै धार्मिक गतिविधिका लागि २०२२ मा ७९ हजार १ सय ४६ पर्यटक आएका थिए भने २०२३ मा १ लाख ३२ हजार ९ सय ४९ पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा ६८ प्रतिशतले बढी हो ।

यसैगरी २०२२ मा पदयात्रा र पर्वतारोहणका लागि ६१ हजार ७ सय १ र २०२३ मा १ लाख ५४ हजार २ सय ६२ जना पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा १५० प्रतिशतले बढी हो ।

यस्तै अन्य गतिविधिका लागि २०२२ मा ७६ हजार २ सय २ र २०२३ मा ९३ हजार ३ सय ७० पर्यटक नेपाल आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा २२.५ प्रतिशतले बढी हो ।

मन्त्रालयले २०२२ र २०२३ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्स पनि सार्वजनिक गरेको छ । जसमा २०२२ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्सको नम्बर १ उपाधि कतार एयरवेजले पाएको छ भने २०२३ मा सबैभन्दा बढी पर्यटक नेपाल एयरलाइन्सले बोकेको छ ।

यस्तै २०२२ मा धेरै पर्यटक बोक्ने दोस्रो नम्बरमा नेपाल एयरलाइन्स छ भने २०२३ मा कतार एयरवेज रहेको छ ।

तेस्रो नम्बरमा २०२२ र २०२३ मा हिमालय एयरलाइन्सले धेरै पर्यटक बोकेको छ । यस्तै चौथो नम्बरमा धेरै पर्यटक बोक्ने एयरलाइन्समा क्रमशस् फ्लाई दुबई र इन्डिगो एयर रहेको छन् । पाँचौ नम्बरमा भने क्रमश इन्डिगो एयर र फ्लाई दुबई छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.