हाइड्रोजन उत्पादनमा निजी क्षेत्र हतारिँदै, सरकार भने सुस्त

  २०८१ वैशाख ५ गते १९:००     विकासन्युज

काठमाडौं । जलविद्युतको हब बनेको नेपालमा पछिल्लो समय ‘ग्रीन हाइड्रोजन’ (हरित हाइड्रोजन) उत्पादनको चर्चा र बहसको विषय बन्न थालेको छ । स्वच्छ ऊर्जा उत्पादनमा टेवा पुर्याउने भएकाले हरित हाइड्रोजन व्यावसायिक रूपमा उत्पादन गर्न निजी क्षेत्र हतारिएको छ भने सरकारी निकाय सुस्त छ ।

उर्जा व्यवसायी गरु न्यौपानेले नेपालमा हाइड्रोजन उत्पादन गर्न भारतीय कम्पनीसँग सम्झौता समेत गरिसकेका छन् । तर, यसका लागि आवश्यक नीति नियम नहुँदा उक्त सम्झौतापत्र थन्किएर बसेको उनको भनाइ छ ।

‘निजी क्षेत्रबाट पहिलो जलविद्युत आयोजना बनाउने म हुँ, सोलारबाट उर्जा उत्पादन गर्ने पनि पहिलो मै हुँ,’ उनले भने, ‘हाइड्रोजन उत्पादन गर्ने हुटहुटी छ, भारतको ग्रीन जोन इनर्जी कम्पनीसँग १ मेगावटको आयोजना बनाउन सम्झौता गरेको छु, तर मेरो हुटहुटीलाई सुहाउने गरी नीति नियम छैन ।’

भारतको ग्रीन जोन कम्पनीसँग सहकार्य गरेर प्रोजेक्ट तयार भएको तर आवश्यक नीति नियम नहुँदा समस्या भोग्नु परेको उनले बताए । उनका अनुसार हाइड्रोजन उत्पादका विषयमा नेपाल र भारतमा सँगसँगै छलफल तथा बहस सुरु भएको हो । भारतमा उद्योग खोलेर सरकारबाट सहुलियत पाएर प्रयोग गरिसकेका छन् । तर, नेपालमा आफ्नो हालत खराब भएर सम्झौताभन्दा माथि जान नसकेको उनको भनाइ छ ।

उनका अनुसार नेपालमै उत्पादन भएको हाइड्रोजनलाई उद्योगहरूमा प्रयोग गर्न सकिन्छ । नेपालमा टनेल वा सुरुङ खन्न ठूलो मात्रामा विस्फोटक पदार्थ आवश्यक पर्छ । उक्त विस्फोटक पदार्थका लागि ग्रीन हाइड्रोजनबाट एल्मुनिया बनाउन सकिने उनको भनाइ छ ।

‘हामी टनेल (सुरुङ) को युगमा प्रवेश गरेका छौं । ठूला विकास निर्माणका काम गर्नु परेको छ, जबकि विस्फोटक पदार्थ नेपाली सेनाले मात्रै उत्पादन गरिरहेको छ । राष्ट्रको आवश्यकता भएकाले ग्रीन हाइड्रोजनमा जान हतार गर्नुपर्छ,’ उनले भने, ‘यस्ता प्रकारका उद्योगको धेरै सम्भावना छ, हाइड्रोजन उत्पादन गर्न हतार गर्नुपर्याे, आज नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने, मेरै कार्यकालमा गर्छु भनेर काम हुनुपर्याे ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत नेपालमा ग्रीन अर्थतन्त्र र ग्रीन आर्थिक विकासको चर्चा गर्न ढिला भएको र अब ग्रीन अर्थतन्त्रका विषयमा बहस छलफल गर्न आवश्यक रहेको बताउँछन् ।अब जलवायु अनुकुल समाज बनाउनुपर्ने भएकाले ग्रीन इकोनोमिकको अवधारणा अघि सार्नुपर्ने उनले बताए । देशको स्रोत साधन सदुपयोग नहुँदा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘नेपालमा स्रोत साधन धेरै छ, तर हामी पेट्रोलियम पदार्थ आयातमा रमाइरहेका छौं, नेपालसँग भएका स्रोतहरुको प्रयोग भइरहेको छैन, जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन,’ उनी भन्छन्र, ‘देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ, नेपाल जलस्रोतको धनी देश भनिरहेका छौं अब सरकारले ग्रीन अर्थतन्त्र, ग्रीन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ, सरकारले यसमा प्राथमिकता दिएर नीति तथा कार्यक्रममा लैजानुपर्ने आवश्यकता पैदा भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.