सुरुङमार्ग हुदैँ काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुने

  २०८१ वैशाख ३ गते १७:११     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङ मानिएको नागढुंगा-नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।

सोमबार जापानी संस्कृति र नेपाली हिन्दु परम्पराअनुसार विशेष पूजाआजा गरेर मुख्य सुरुङ मार्गको ब्रेक थ्रु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरुङ ब्रेक थ्रु गरे । सुरुङ ब्रेक थ्रु गरिएसँगै कुल लम्बाई २.७ किलोमिटर (२,६८८ मिटर) रहेकोमा दुई मिटर खन्न बाँकी सुरुङ सकिएको छ । सुरुङ ब्रेक थ्रु गत फागुन २३ गते मिति तय भएको भएपनि स्थानीय अवरोधका कारण खन्ने काम रोकिँदा ब्रेक थ्रु मिति सरेको थियो ।

देशका अन्य विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाका मानिने नागढुंगाको २.८ किलोमिटरको दूरी घटाउनेछ । अहिले चलिरहेको सडकमार्ग हुँदै सिस्ने खोला बलम्बु साढे आठ किलोमिटर दूरी छ । सुरुङमार्ग हुदैँ काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुने उल्लेख गरिएको छ । आयोजनामा एउटा मुख्य र अर्को उद्धार(रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन् । रेस्क्यु सुरुङको लम्बाई २ हजार ५५७ मिटर छ । यो इभ्याकुएसन सुरूङ ब्रेक–थ्रु भइसकेको छ ।

आयोजनामा तीन वटा अण्डरपास हुनेछन् । हाल तीन वटै पूरा भइसकेको आयोजनाले बताएको छ । त्यस्तै बक्स कल्भर्ट चार वटै निर्माण सकिएको छ । एउटा ओभरपास पनि निर्माण भइसकेको छ । तीन वटै पुल निर्माण सकिएका छन् । फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ । आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो ।

सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो । आयोजनाको कुल लागत करिब २२ अर्बमध्ये जाइकाले करिब १६.६ अर्व ऋणमार्फत उपलब्ध गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.