सहकारी पीडित भन्छन् : दुःख गरेर जम्मा पारेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रियो

  २०८१ वैशाख ३ गते १६:१२     विकासन्युज

काठमाडौं । सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका हुन् । उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह शुरु हुन थालेको बताए ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफ्ना भाईले पठाएको रकम सहकारीमा जम्मा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताए । उनले भाईले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताए । आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

उनले भने, ‘विदेशबाट भाईले पठाएको पाँच लाख रुपैयाँ सहकारीमा जम्मा गरेको थिएँ । अहिले भाईले पैसा मागेको छ । तर मसँग दिने पैसा छैन, भाई मसँग रिसाएको छ । बोलचाल छैन । सिंहदरबारसम्म पुगेँ, गुनासो लिएर तर म एक्लैको कुरा केही सुनेन । पुलिसले पनि सुनेन । हामी अरुको भाँडा माझेर खाने मान्छेको एक रुपैयाँ गरेर जम्मा गरेको पैसा मैले पाइनँ । सरकारले गरिव जनताको आवाज सुनेन । हामी गरिव दुःखीको सुनुवाई कहिले हुन्छ ?’

उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले सरकारले गरिब जनताको दुःख नसुनेको आरोप लगाए । गरिब दुःखीको सुनुवाई कहिले हुन्छ ? भन्ने उनीहरुको प्रश्न थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.