भिसीको नियुक्ति प्रक्रियाबाट भए पनि अझै पूर्ण भइसकेको छैन : प्रधानमन्त्री

  २०८१ वैशाख ३ गते १२:३१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताएका छन् ।

सोमबार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त गनै पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्वपूर्ण रहेको बताए ।

उनले यसको पहल आफूले शुरु गरेको भन्दै अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपति लगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गरे । भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्ने र सोहीअनुसार आफूले काम गरिरहेको बताए ।

‘सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि यो स्टेटमेण्ट छ, यो महत्वपूर्ण छ जस्तै मलाई लागेको छ । यो कहाँबाट शुरु गर्ने, कसले गर्ने ? भन्ने एउटा च्यालेन्ज जस्तो थियो, मैले यो टियुको कन्भोकेसनको बेलामा अब टियुको भिसी र पदाधिकारी मेरिटोक्रेसीको आधारमा मेरिटको आधारमा गर्छु म भनेर त्यहाँ पहिला पब्लिक घोषणा गरेँ । अझै त्यो सिस्टमेटाइज गर्न त अझै बाँकी छ । भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्छ र त्यसरी मात्रै विश्वविद्यालयहरुलाई ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने थियो’, उनले भने ।

प्रधानमन्त्री दाहालले देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा जरूरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.