क्यूआर कोडमा बाह्र बाजा, प्रवर्द्धनमा लक्ष्मी सनराईज

  २०८१ वैशाख ३ गते १७:५३     विकासन्युज


काठमाडौं । नेपाल कला, साहित्य, भेषभूषा र संस्कृतिमा धनी छ । जात, भाषा, वर्ग, भेष, संस्कृति र संस्कारका हिसाबले एक खुला संग्रहालय हो नेपाल । यहाँ जातीय, भेगीय र भूगोलअनुसार भाषा बोलिन्छ, भेष देखिन्छ, संस्कार पाइन्छ र संस्कृति अपनाइन्छ । यी र यस्ता संस्कृति झल्किने माध्यम झनै मनमोहक र अब्बल छन् । अर्थात्, हाम्रा मौलिक बाजाहरूले आफ्नै विशेषता झल्काउँछन् ।

तर, पछिल्लो समय हाम्रा गाउँघरमा घन्किने र विभिन्न जातजातीले बजाउने बाजा पनि लोप हुँदै जान थालेका छन् । अहिले तिनै लोप हुन लागेका बाजागाजा विभिन्न संघसंस्थाले संरक्षण र सम्बर्द्धन गर्दै पनि आइरहेका छन् ।

यस्तै परम्परागत सांस्कृतिक बाजागाजा प्रवर्द्धन गर्ने उद्देश्यले ‘क’ वर्गको लक्ष्मी सनराईज बैंकले बाजागाजासहितको २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

‘नेपाल बहुसांस्कृतिक, बहुभाषिक, आफ्नै मौलिक परम्परा र सांस्कृतिक विविधताले भरिपूर्ण र समृद्ध छ, युगौंदेखि हाम्रो दैनिक जीवनमा गुञ्जिने मनोरञ्जनको साधन, मेलापात, विशेष संस्कारसहित अन्य विभिन्न पलहरूमा घन्किँदै आएको गीत–संगीत नेपाली पहिचानको अभिन्न अंग हो,’ बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा उल्लेख छ, ‘हाम्रो कला र संस्कृति विश्वसामु देशको चिनारी बनेको छ । यही विविधताको सुन्दर पक्षलाई निरन्तरता दिनु हरेक नेपालीको दायित्व हो ।’

लक्ष्मी सनराईज बैंकले विगतदेखि नै विभिन्न मौलिक विषयवस्तुलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ ।

नेपालका संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई संरक्षण एवं सम्बर्द्धन गर्नका लागि यस्ता कार्यहरू गर्दै आएको बैंकले बताएको छ ।

बैंकका अनुसार क्यालेन्डरमा समावेश गरिएका यी बाजाहरूले संस्कृतिको पहिचान दिन्छ । बैंकले क्यालेन्डरमा समावेश गरेका लोकबाजाका बारेमा नेपाल लोकबाजा संग्राहलय, त्रिपुरेश्वरसँग सहकार्य गरेको हो ।

यहाँ समावेश गरिएका बाजामध्ये कतिपय हामीले सुनिरहेका छन् भने कतिपय हामीले नसुनेका बाजा पनि छन् ।

बैंकका अनुसार देशको कला, संस्कृति र मौलिकतासँगसँगै आधुनिक प्रविधि अपनाउने र आफ्नो मूल्–मान्यता नबिर्सिने ‘थिम’ क्यालेन्डरमा समावेश गरिएकाे छ ।

बाजा कस्तो बज्छ भनेर सुन्नका लागि बैंकले धुनसहितको क्यूआर कोड पनि उपलब्ध गराएको छ ।

यी लोकबाजाको धुनका लागि बैंकले काठमाडौंलगायत बाहिर जिल्लाबाट पनि कलाकार झिकाएर धुन रेकर्ड गरेकाे हाे ।

सनराईज बैंकले प्रवर्द्धन गरेका नेपाली मौलिक बाजा यस्ता छन्:

गोपाल डन्डी

गोपाल डन्डी थारु समुदायले सामूहिक ‘रास नृत्य’ गर्दा एकापसमा ठोक्काएर बजाइने बाजा हो । यो बाजा कडा काठबाट बनेको एक जोडी डन्डी हो । यो बाजा बजाउँदा ट्याक–ट्याक आवाज आउँछ । यसको आवाज निकै मनमोहक सुनिन्छ ।

यो बाजाको प्रयोग ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल, मेची काली सिंगै ढिक्का, साझा हाम्रो ज्यान नेपाल…’ बोलको गीतमा प्रयोग गरिएको छ । यस गीतमा तारा थापाको स्वर रहेको छ भने शब्द दुर्गालाल श्रेष्ठ र संगीत न्ह्यु बज्राचार्यको छ ।

केन (ढोलक)

किराँत समुदायको यो केन (ढोलक) बाजा काठको ठूलो ढुंग्रोलाई छालाले मोरेर बनाइन्छ । यसको एकातिर भित्रबाट खरी लगाइएको हुन्छ । यसलाई हातले कुटेर बजाइ नाचगानका लागि ताल निकालिन्छ ।

यो ढोलकको प्रयोग ‘सोई ढोले सोई…’ बोलको (चण्डी गीत) मा प्रयोग गरिएको छ । यो गीतमा स्वर राजन राई, बेदना थुलुङ, भीषण मुकारुङ र आभा मुकारुङले दिएका छन् भने संगीत राजन राईको हो । गीतको शब्द संकलन पनि राजनकै छ ।

उर्नी

उर्नी धिमाल समुदायको मौलिक लोकबाजा हो । उर्नी नरिवलको गट्टामा छालाले मोरी, एक हात लामो काठमा तार जोडेर बनाइन्छ । यो काजाको तारमा धनुले रेट्दै औंलाले थिचेर सुमधुर धुन निकालिन्छ ।

यो बाजाको प्रयोग ‘काफल गेडी कुटुक्कै…’ बोलको गीतमा प्रयोग गरिएको छ । यस गीतमा सिन्धु मल्ल र महेश बुढाथोकीको स्वर रहेको छ भने शब्द संगीत पनि महेश बुढाथोकीकै छ ।

टुङ (यलम्बर)

यलम्बर एक प्रकारको बाजा हो । यो हेर्दा बाँसको ढुंग्रो जस्तो हुन्छ । यो बाजा भालुबाँसका दुवै आँख्ला (जोर्नीको गाँठो) नफुटेको गिँडबाट बनाइएको हुन्छ । यो बाजाको बीच भागमा एक अङ्गुल लामो र एक अङ्गुल चौडाइको प्वाल पारिएको हुन्छ ।

प्वालको दुवैतिर दुइटा तार निकालिएका हुन्छन् । प्वालको ठिकमाथि तारमा बाँसको पातलो पाता अड्याइएको हुन्छ । यो यलम्बर ताल बाजाअन्तर्गत पर्छ । यसको नाम प्रथम किराँत राजा यलम्बरको नामबाट रहन गएको हो भनिन्छ । यो किराँत समुदायमा प्रचलित छ ।

मुरली

मुरली निगालो वा गोपीबाँसको आँख्लाबाट बनाइने, ओठले च्यापी फुकेर बजाइने सुरबाजा हो । मुखले फुक्दै यसको ६ वटा प्वालमा हातका औंलाले चलाइ सुमधुर धुनहरू निकालिन्छ । यो सुरबाजाको प्रयोग प्रायः सबै गीतमा प्रयोग गरिन्छ ।

सहनाई

सहनाई पञ्चेबाजा समूहको प्रमुख जोडी बाजा हो । भाले सहनाईलाई फुक्दै सुर दिइन्छ भने पोथी सहनाईलाई फुक्दै भाखा हालेर बजाइन्छ ।

यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन् । विशेष गरी एलुमिनियम (सिलाबर) र पित्तलबाट निर्मित सहनाईले आठ वटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धुनहरू प्रस्फुटन गर्दछ । सहनाई नौमती बाजाको प्रमुख आकर्षण हो ।

मादल

मादल नेपालको एक प्रसिद्ध ताल बाजा हो । यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजका सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो । यसलाई दुई हातले कुटेर बजाउनुपर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ ।

छतिउन, दार तथा खमारीको काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ । यसको एकापट्टी केही सानो, अर्कापट्टी अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ ।

मादल दुई खाले हुन्छन् । पूर्वेली मादल र पश्चिमेली मादल । पूर्वेली मादल आकारमा अलिक ठूलो र पश्चिमेली मादल अलिक सानो हुन्छ ।

टुङ्ना

टुङ्ना काठ र बाँसबाट बनेको हातले बजाउने एक नेपाली तारवाद्य लोकबाजा हो । टुङ्ना बनाउने काठ भने गुराँसको बढी प्रयोग हुन्छ । यो सुरबाजा हो । यो नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा र तामाङ जातिमा बढी लोकप्रिय छ ।

यो बाजा झन्डै डेढदेखि दुई हातसम्म लामो हुन्छ । यसको शिर भागमा शार्दूलका टाउकाको आकृति कुँदिएको हुन्छ । टुङ्नामा ४ देखि ६ वटा तार जडिएका हुन्छन् । यो बाजा काँधमा भिरेर दाहिने हातले नख्खी र देब्रे हातले तार थिचेर बजाइन्छ ।

डम्फु

डम्फु तामाङ समुदायमा प्रचलित बाजा हो । ठेट तामाङ भाषामा यसको नाम ‘डाम्बा’ भए पनि ‘डम्फु’ यसको नेपालीकरण भएको नाम हो । डम्फुको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा–बाख्राको छालाले बेरेर खिल मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो ।

प्राचीनकालमा पेङ दोर्जेले आफ्नी प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रुखको घेरामा मृगको छालाले मोरेर ३२ किला ठोकेर डम्फु बनाएका हुन् भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ ।

धिमे

धिमे रुखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोरेर बनाइएको ताल बाजा हो । यो बाजा काठमाडौं उपत्यकाका नेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो ।

बिनायो

बिनायो किराँतहरूको परम्परागत बाजा हो । जुन छिप्पिएको मालिङ्गोबाट बनाइन्छ । बाँसको सानो (लगभग ६ इन्च) भाटाको बीचमा खोपेर जिब्रो निकाली दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाइएको हुन्छ ।

यसरी बनाइएको बिनायोलाई जिब्राको अगाडिपट्टि लामो डोरीलाई झड्कारेर बजाइन्छ । यसरी बजाउँदा विभिन्न भाका निकाल्न बिनायोलाई मुखको दुवै ओठमा राखी भित्रबाट हावाको धक्काद्वारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ ।

यो बाजा किराँत महिलाले आफ्नो चोलोको तुनामा झुण्डाएर बोक्छन् । यसरी बोकेको बिनायोलाई मेलापात वा हाटबजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुइटा जिब्रो भएको बनाउन छाडिएको छ ।

सारङ्गी

सारङ्गी एक तारवाद्य हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ । सारङ्गी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो । भारत र पाकिस्तानमा यसलाई हिन्दुस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्यरूपले लोकगीतसँग प्रयोग गरिन्छ ।

यसको आवाज मानिसको स्वरजस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारिक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ ।

लक्ष्मी सनराईज बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ छ । साथै, बैंकले २५० सय भन्दा धेरै शाखा कार्यालयबाट सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.