काठमाडौं-चितवन यात्रा ५७ मिनेटमा, १०० किमि सडक बनाउन २२१ अर्ब लाग्ने

  २०८१ वैशाख ३ गते १०:४०     विकासन्युज

काठमाडौं । लगानी बोर्डले चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन एक्सप्रेसवे परियोजनालाई लगानी सम्मेलन २०८१ मा शोकेसिङ गर्ने भएको छ । लगानी सम्मेलन यहि बैशाख १६ र १७ गते हुँदैछ ।

काठमाडौं-हेटौडा-चितवन ओहोदोहोर गर्ने यो सडकको लम्बाई १०० किलोमिटर भन्दा कम हुनेछ । ४ लेनमा बन्ने एक्प्रेसवेबाट काठमाडौं-चितवन यात्रा ५७ मिनेटमा गर्न सकिने छ ।

यो परियोजनाको लागत २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ अनुमान गरिएको छ । यस सडकमा ४ स्थानमा सुरुङमार्ग हुनेछ । सुरुङ मार्गको कुल लम्बाई २९.८ किलोमिटर हुने छ । सबैभन्दा लामो सुरुङ मार्ग १३.२ किलोमिटर लामो हुनेछ ।

यस मार्गका ३० वटा पुल बनाउनु पर्ने हुन्छ । पुलहरुको कुल लम्बाई ९.५३ किलोमिटर हुनेछ । सबैभन्दा लामो पुल १.३ किलोमिटर लाम्बाईको हुनेछ ।

यो परियोजना बन्दा चितवन-काठमाडौं यात्रा ५० किलोमिटर छोटो हुनेछ । यात्रा समय ४ घण्टा कम हुनेछ । यातायातको लागत उल्लेख्य मात्रामा कम हुनेछ भने काठमाडौं तराई जोड्ने भरपर्दो वैकल्पिमक राजमार्ग हुने लगानी बोर्डले जनाएको छ ।

राजधानी काठमाडौंसँगको व्यापार विस्तार गर्न, लागत कम गर्न, यात्रालाई छिटो र सुरक्षित बनाउन, कार्वन उत्सर्जन कम गर्न यो परियोजना धेरै लाभदाही हुने लगानी बोर्डको तर्क छ ।

सरकारले यो परियोजना सार्वजनिक-निजी साझेदारी मोडलमा बनाउन चाहेको छ । आयोजनाको पूर्वतयारीको लागि २ वर्ष, निर्माणको लागि ४ वर्ष र सञ्चालनको लागि २५ वर्ष गरी ३१ वर्षको लागि परियोजना सरकारले निजी क्षेत्रलाई दिन लागेको हो । सञ्चालन अवधि २५ वर्ष पूरा भएपछि निर्माताले यो परियोजना सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.