सर्वोच्च शिखरको १० वर्षे आरोह-अवरोह

  २०८१ वैशाख ३ गते ११:५९     ऋतु


काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबारे नसुनेका मानिस सायद पाउन मुस्किल छ । नेपाल सात दशकभन्दा बढी अवधिदेखि सगरमाथाकै कारण संसारमा चिनिँदै आएको देश हो ।

हिमालै हिमालको देश भनेर पनि परिचित नेपालका दन्तेलहर मिलेका हिमालमात्रै हेर्न भनेर संसारका लाखौं पर्यटक आउने गर्छन् । संसारमा ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन् । तीमध्ये सर्वोच्च शिखर सगरमाथा सहित ८ हिमाल नेपालमै अवस्थित छन् ।

यहाँका अग्ला हिमाल पर्यटन भित्र्याउने मुख्य आधार हुन् । यहाँका सेतै टल्किने हिमाल आरोहण गर्ने र मनोरञ्जन गर्ने भनेर स्वदेशी तथा विदेशी पर्यटकको भिडै लाग्ने गर्छ । नेपालले हिमालको पर्यटनबाट नै राम्रो विदेशी मुद्रा आर्जन गर्छ ।

सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीको संख्या वर्सेनि बढ्दो अवस्थामा छ ।

सन् १९५३ मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको सफल आरोहणपछि अन्य हिमाल आरोहणमा पनि पर्वतारोहीको धेरै आकर्षण बढ्दै गएको देखिन्छ ।

त्यसैगरी सन् १९७५ मा जापानकी आरोही जुनको ताबेईले सगरमाथा शिखर पुगेर संसारकै पहिलो महिला आरोहीको कीर्तिमान कायम गरिन् भने नेपालकै पहिलो महिलाको उपाधि पासाङल्हामु शेर्पाले पाएकी छिन् । २०४९ सालमा सगरमाथाको आरोहण गरी फर्किने क्रममा पासाङल्हामुको मृत्यु भएको थियो ।

सगरमाथा चुचुरोमा मानिस पुगेको ७ दशक पुगिसकेको छ । यसबीच नेपालीसहित ८ हजार २ सय ७२ जनाले सगरमाथामाथि विजय हासिल गरिसकेका छन् ।

कैयौँ आरोहीले सगरमाथा चढेरै विभिन्न कीर्तिमान बनाइ संसारभरि नाम कमाएका छन् । अहिलेसम्म सगरमाथामा सयौं रेकर्ड बनेका छन् । नयाँ रेकर्ड बन्ने र तोडिने क्रम अहिले पनि चलिरहेकै छ ।

आखिर किन सगरमाथामा भीड लाग्छ आरोहीको ? यसबारे चर्चा गरौं ।

वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त ऋतु हो । अन्य ऋतुमा सगरमाथा आरोहण कमै हुने गर्छ  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यसपालि वसन्त ऋतुका लागि गत फागुन १८ देखि हिमाल आरोहण अनुमति खुला गरिसकेको छ ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै रोयल्टी (सलामी दस्तुर) भने सर्वोच्च शिखर सगरमाथाबाट नै उठेको छ । यसपालि सगरमाथा आरोहणका लागि २ सय ९ जनाले अनुमति लिएका छन् । उनीहरूबाट २९ करोड ७५ लाख २८ हजार ५ सय ३५ रुपैयाँ बराबर रोयल्टी उठेको छ ।

नेपालले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । विभागले यी हिमालको आरोहण अनुमति जारी गर्छ  । यीबाहेक नेपाल पर्वतारोहण संघले ५ हजार ८ सयदेखि ६ हजार ४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्छ  ।

१० वषमा कति पुगे सगरमाथा चुचुरो ?

सरगमाथा साहसको एउटा ज्वलन्त उदाहरण हो । सगरमाथा शिखर पुग्न लालायित आरोही आफ्नो ज्यान माया मारेर गएको हुन्छ । मौसमले साथ नदिए वा प्राविधिक रूपमा तलमाथि भयो भने त्यहाँ पुगका आरोही सकुशल घर फर्किन्छन् भन्ने आश नगरे हुन्छ ।

पर्यटन विभागले तयार पारेको पछिल्लो एक दशकको तथ्यांक पल्टाउँदा सर्वोच्च शिखर सगरमाथामा ३ हजार ८ सय ५० जनाले विजयी झण्डा फहराएका छन् ।

विभागका अनुसार २०१४ मा ६, २०१५ मा शून्य, २०१६ मा ४ सय ५१, २०१७ मा ४ सय २६, २०१८ मा ५ सय ६०, २०१९ मा ६ सय ४४, २०२० मा शून्य, २०२१ मा ४ सय ५९, २०२२ मा ६ सय ५८ र २०२३ मा ६ सय ४६ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । २०१४ र २०१५ भूकम्प र २०२० मा कोरोना भाइरस महामारीका कारण हिमाल आरोहण रोकिएको थियो ।

पर्यटन विभागका अनुसार गत वर्ष सन् २०२३ मा सगरमाथा आरोहण गर्न अनुमति लिएका विभिन्न देशका ४ सय ७८ आरोहीबाट मात्रै नेपालले ६६ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर रोयल्टी संकलन गरेको थियो ।

सगरमाथा आरोहण गर्न कति लाग्छ शुल्क ?

पर्ययटन विभागका अनुसार सगरमाथा शिखर पुग्न विदेशी नागरिकलाई प्रतिव्यक्ति ‘नर्मल रुट’ को वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर, शरद ऋतुमा ५ हाजर ५ सय डलर र वर्षात सिजनमा २ हजार ७ सय ५० डलर तिर्नुपछ हुन्छ  ।

यस्तै अन्य रुटबाट सगरमाथा चढ्नेले वसन्त ऋतुमा १० हजार, शरदमा ५ हजार र हिउँद÷वर्षातमा २ हजार ५ सय डलर तिर्नुपर्छ ।

यस्तै, नेपाली आरोहीले नर्मल रुटबाट सगरमाथा शिखर पुग्न वसन्त ऋतुमा ७५ हजार रुपैयाँ र अन्य रुटको ६० हजार रुपैयाँ तिर्नुपर्छ  । शरद ऋतुमा नर्मल रुटबाट सगरमाथा चढ्न ३७ हजार ५ सय रुपैयाँ र अन्य रुटबाट जान ३० हजार र हिउँद तथा वर्सातको याममा चढ्न नर्मल रुटका १८ हजार २ सय ५० र अन्य रुटको १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ  ।

सगरमाथा आरोहण गर्दा कति हुन्छ खर्च ?

संसारकै सबैभन्दा अग्लो हिमाल भनेपछि महँगो त हुने नै भयो । सगरमाथा आरोहण अनुमित शुल्क महँगो जस्तो देखिने गर्छ । तर, अनुमतिदेखि शिखर पुगेर फर्किंदासम्म आरोहीको दसौं लाख रुपैयाँ बराबर खर्च हुने गर्छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाका अनुसार सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले अनुमति लिन नेपाल सरकारलाई बुझाउनुपर्ने सलामी दस्तुर सहित खर्च जोड्दा कम्तीमा २५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्ने गर्छन् ।

सगरमाथा आरोहण गर्न नेपाली आरोहीले २० लाख रुपैयाँसम्म र विदेशी आरोहीले करिब ५० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् ।

संघ अध्यक्ष शेर्पाका अनुसार आरोहीले गर्ने खर्चभित्र नेपाल आउँदा लाग्ने भिसा शुल्क, बसाइ, हवाई भाडा, खुम्बु क्षेत्रमा खाने–बस्ने, बीमा, गाइड, सहयोगी स्टाफ, इक्विपमेन्ट अलायन्स, बेसक्याम्पमा ४० दिनसम्मको खाने–बस्ने सुविधा, हाई अल्टिच्युड टेन्ट, अक्सिजन, रोप फिक्सिङ शुल्क लगायत पर्छ ।

७० वर्षमा सवा ३ सयले गुमाए सगरमाथामा ज्यान

तेन्जिङ र हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेयता सात दशकमा ३ सय २८ जनाले ज्यान गुमाएको सरकारको तथ्यांक छ । पर्यटन विभागका अनुसार तीमध्ये ४० भन्दा बढी शेर्पा छन् । गत वर्ष वसन्त याममै सगरमाथा चढ्न गएकामध्ये १२ जनाको मृत्यु भएको थियो ।

फोहोर व्यवस्थापनमा चेतना बढ्दै

पछिल्ला केही वर्षदेखि सर्वोच्च शिखर सगरमाथा आरोहणमा चाप बढ्दै गए पनि सगरमाथामा धेरै फोहोर नभएको पर्वतारोहण संघ अध्यक्ष शेर्पा दाबी गर्छन् ।

‘सन् १९९२ मा टाइम्स म्यागजिनमा एक साइडमा सगरमाथा र अर्को साइडमा फोहोरको थुप्रो राखेर फोटो प्रकाशित भएपछि सरसफाइमा ध्यान दिन थालिएको हो,’ शेर्पा भन्छन्, ‘पत्रिकामा त्यो फोटो छापिँदा नेपालले आलोचना पनि खेप्नुपरेको थियो, अहिले फोहोर व्यवस्थापनप्रति सबै सचेत छन् ।’

अहिले सरकार र विभिन्न संघसंस्थाले सगरमाथा सफाइ अभियान नै चलाएका छन् । ‘अहिलेको अवस्थामा सगरमाथामा फोहोर नै छैन भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर, बाहिर हल्ला गरेजस्तो फोहोरको डंगुर नै भने छैन ।’

हिमाल आरोहण गर्नेले मानव मलमूत्र व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन् । तर, सगरमाथा आरोहण गर्नेको भीड वर्सेनि बढ्दै गइरहेको छ । यो भीडले पनि सगरमाथामा फोहोर व्यवस्थापन गर्नेमा चुनौती थपिरहेको छ । यसमा पनि सबैभन्दा ठूलो चुनौती मलमूत्र व्यवस्थापन भएको अध्यक्ष शेर्पा बताउँछन् ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस

प्रत्येक अंग्रेजी वर्षको मे २९ तारिखमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ । १९५३ मे २९ का दिन तेन्जिङ र हिलारीले मानव इतिहासमै पहिलो पटक संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा विजयी झण्डा फहर्याएको दिनलाई १७ वर्षदेखि नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ ।

हाल सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले संयुक्त रूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ ८ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.