चैत मसान्तको रिपोर्ट खराब निस्कँदै, एनबीएले खाने भयो बैंकको नाफा

  २०८१ वैशाख २ गते १७:५९     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र ब्याजदर निरन्तर घट्दा पनि व्यवसाय भने खासै बढ्न नसकेको बैंकरहरू बताउँछन् । विगतमा बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा ब्याजदर उच्च भएको थियो । उच्च ब्याजदरमा कर्जा लगानी नहुँदा व्यवसाय वृद्धिमा ब्रेक लागेको थियो भने खराब कर्जा (एनपीएल) बढेको थियो ।

तर, यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम र ब्याजदर एकल अंकमा हुँदा पनि व्यवसाय उत्साहजनक हुन नसकेको बैंकहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका बैंकरहरू धितो बिक्री नहुँदा बैंकमा गैर बैंकिङ सम्पत्ति (एनबीए) थुप्रिएको बताउँछन् । चालु आर्थिक वर्ष ९ महिनाको अवधिमा बैंकको एनपीएल अझै बढ्ने र नाफामा असर गर्ने बैंकरहरूको भनाइ छ ।

अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा तिर्न सकेनन् । ऋणीहरूले समयमा कर्जाको साँवा ब्याज तिर्न नसकेपछि धितोका रूपमा राखिएको घरजग्गा, सुन लगायत बैंकहरूले लिलामीमा राखे । उक्त धितो लिलामी बिक्री नहुँदा बैंकहरू आफै सकार्न बाध्य भएपछि तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो बढ्ने हिमालयन बैंकका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली बताउँछन् । बिक्री नभएपछि बैंकहरू लिलामीमा राखिएको धितो आफै सर्कान बाध्य भएको उनको भनाइ छ । उनका अनुसार खराब कर्जा (एनपीएल) घटे पनि एनबीए बढ्दा सेयरधनीहरूले पाउने (वितरणयोग्य) नाफा घटाउँछ ।

‘ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्याे, लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैंले सकार्नुपर्छ, अहिले बैंकहरूमा यस्तो सम्पत्ति थुप्रएको छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बढ्दा वितरणयोग्य नाफामा असर गर्छ, जबसम्म त्यो सम्पत्ति बिक्री हुँदैन तबसम्म उक्त पैसा वितरण गर्न मिल्दैन, त्यसलाई नाफाबाट घटाउनुपर्छ, जस्तो १ अर्ब नाफा र एनबीए ५० करोड रुपैयाँ छ भने त्यो ५० करोड रुपैयाँ नाफाबाट घटाउनुपर्छ ।’

उनका अनुसार बैंकहरू धमाधम गैर बैंकिङ सम्पत्ति बेचिरहेका छन् । तेस्रो त्रैमासको वित्तीय विवरणमा बैंकहरूको एनपीएल सामान्य बढ्ने उनको भनाइ छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भए पनि आन्तरिक सूचक कमजोर रहेको उनले बताए ।

‘दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सुधार भएको देखिन्छ, बाह्य क्षेत्रतर्फ रेमिट्यान्स, विदेशी मुद्रा बढेको छ, आन्तरिक अर्थतन्त्रलाई सुधार गर्ने हो भने राम्रो हुने देखिन्छ,’ उनले भने, ‘एनपीएल प्वाइन्ट एक/दुई प्रतिशतले बढ्न सक्छ, अहिले नै कुनै पनि बैंकको एनपीएलमा ठूलो सुधार भएको छैन, एनपीएल बढ्दा नाफामा केही असर पर्छ ।’

खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । जसका कारण नाफामा स्वतः असर पर्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल तेस्रो त्रैमासमा बैंकहरूको ब्यालेन्ससिट दोस्रो त्रैमास जस्तै आउने बताउँछन् । तेस्रो त्रैमासबाट सुधार हुने अपेक्षा गरेको भए पनि खासै सुधार हुन नसकेको उनको भनाइ छ ।

‘चैतमा सहज हुने अपेक्षा थियो, तर खासै सहज अवस्था छैन, यसपटक बैंकहरूको खराब कर्जा सामान्य बढ्ने देखिन्छ, एनपीएल बढेपछि स्तवः बैंकको नाफामा असर गर्छ, किनभने एनपीएल बढ्दा प्रोभिजन राख्नुपर्छ,’ उनले भने, ‘अघिल्लो २ क्वार्टरलाई पनि भाग लगाउने हो भने तेस्रो त्रैमास खासै उत्साहजनक छैन ।’

बैंकहरूले बाध्य भएर गैर बैंकिङ सम्पत्ति सकार्नुपरेको उनको भनाइ छ । गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि मात्रै कर्जा असुल भएको मानिने उनले बताए ।

‘लिलामीमा राखेको धितो बिक्री नभएर आफैं सकार्दा यस्तो सम्पत्ति बढ्यो, गैर बैंकिङ सम्पत्तिका रूपमा सकार्नु समस्याको समाधान होइन, बाध्यात्मक व्यवस्था भएर लिनु परेको हो, किनभने पैसा नउठेपछि गैर बैंकिङमा भएपनि लिनुपर्छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि कर्जा नगदमा असुल भए सरह हो, ऋण दिँदा नगद पैसा दिनुपर्छ, त्यसैले बिक्री भएर नगद पछि मात्रै प्रभावकारी रूपमा कर्जा उठेको मानिन्छ ।’

राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) देवेन्द्ररमण खनाल बैंकको ब्याजदर घटिरहेकाले आगामी दिनमा सुधार हुने बताउँछन् । तर, अघिल्लो क्वार्टरबाट तेस्रो क्वार्टरमा आउँदा बैंकहरूको उत्साह ब्यालेन्ससिट नआउने उनले बताए ।

‘अहिले कर्जा पुनरसंरचना गरेको हुँदा एनपीएल त्यति धेरै बढ्दैन, नाफा राम्रो पोजिसनमा आउने अवस्था छैन, १० प्रतिशत ब्याज तिरेर पुनर्संरचना गर्दा नाफामा स्वतः असर गर्छ,’ उनले भने, ‘जबसम्म ब्याज असुल हुँदैन तबसम्म नाफा बढ्न सक्ने स्थिति छैन । तर, समग्रमा गति लिने अपेक्षा छ ।’ अर्थतन्त्र सुधारको संघारमा रहेकाले बैंकिङ क्षेत्र पनि सुधार हुँदै जाने आशा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.