‘बीमा कम्पनीहरू कानूनको पालना गर्दै अघि बढ्नुपर्छ, कमी कमजोरी दोहोर्याउनु हुन्न’

  २०८० चैत ३० गते १९:११     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू कानूनको परिपालना गर्दै विश्वसनीय, जवाफदेही र पारदर्शी किसिमले अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्राधिकरणद्वारा नववर्ष २०८१ सालको पूर्वसन्ध्यामा प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित ‘नववर्ष २०८१ सालको शुभकामना आदान-प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्येक बीमा कम्पनीले गन्तव्य तय गरी सोही अनुसार नीति, रणनीति र कार्यक्रम बनाई गन्तव्यमा पुग्नेगरी कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘समग्र बीमा उद्योगलाई अघि बढाउन विश्वसनीयता कायम हुनुपर्छ, विगतका उपलब्धीको दिगोपनामा जोड दिनुपर्छ, सहकार्यलाई बढी प्रभावकारी बनाउनुपर्छ, सेवाको लागत घटाउन र दक्षता अवभिवृद्धि गर्न व्यापकरूपमा नविनतम् प्रविधि अवलम्बन गर्नुपर्छ, कमी कमजोरीलाई दोहोरिन दिनु हुँदैन ।’ अध्यक्ष सिलवालले भने ।

अध्यक्ष सिलवालले बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने गरेको उल्लेख गर्दै बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै छिटोछरितो रूपमा बीमा दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहबाट नागरिकको विश्वास जित्न सकिने र बीमाको दायरा पनि फराकिलो हुँदै जाने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी, नेपाल बीमक सङ्घ र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष, विभिन्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्राधिकरणको नयाँ वेभसाइट शुभारम्भ
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेका छन् । शुक्रबारकै कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गर्दै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेभसाइट संचालनमा ल्याएको बताए ।

अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने जानकारी दिँदै बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारवाही लगायत समग्र विषयमा नयाँ वेभसाइटबाट जानकारी प्राप्त हुने बताउँदै आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेभसाइटलाई परिमार्जन गर्दै लगिने बताए ।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारीले नयाँ वेभसाइटबाट प्राधिकरणको केन्द्रीय कार्यालयका साथै प्रादेशिका कार्यालयका समग्र गतिविधिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए ।

प्राधिकरणको नयाँ वेभसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.