मर्सिडिज-बेन्जको ‘रेकर्ड ब्रेक’ बिक्री, प्रत्येक दुई लक्जरी कारमध्ये एउटा मर्सिडिज

  २०८० चैत ३० गते ९:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना भारतमा बिक्री भएका प्रत्येक दुई लक्जरी कारमध्ये एउटा मर्सिडिज बेन्ज कार थियो ।

यस हिसाबले मर्सिडिजका लागि जनवरी-मार्च त्रैमासिक उत्कृष्ट रह्यो र यस अवधिमा कम्पनीले ५ हजार ४ सय १२ कार बिक्री गरेको थियो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो ।

मर्सिडिजले जनवरी-मार्च २०२३ मा ४ हजार ६ सय ९७ कार बिक्री गरेको थियो । यस अवधिमा देशमा कुल ११ हजार ८ सय ५३ लक्जरी कार बिक्री भएको छ ।

आर्थिक वर्ष २०२४ भारतीय बजारमा जर्मन कार निर्माता कम्पनी मर्सिडिजका लागि उत्कृष्ट रह्यो जसमा कम्पनीले १८ हजार १ सय २३ कार बिक्री गरेको छ जुन अघिल्लो आर्थिक वर्षमा बिक्री भएका १६ हजार ४ सय ९७ कारको तुलनामा १० प्रतिशत बढी हो ।

तीन जर्मन दिग्गज कार कम्पनी मर्सिडिज, बीएमडब्लू र अडी मिलेर ९ हजार ९ सय ६८ लक्जरी कार बेचेका छन् । बिक्रीका हिसाबले यी तीन लक्जरी कार उत्पादकहरूमध्ये मर्सिडिज बेन्जको हिस्सा ५५ प्रतिशत रह्यो ।

बीएमडब्लूले जनवरी-मार्चमा ३ हजार ५ सय १० कार बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशतले बढी हो ।

अडीले १ हजार ४६ कार बेचेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.४ प्रतिशतले बढी हो ।

उद्योगको अनुमानअनुसार यो अवधिमा भोल्भो, जेएलआरलगायतका १ हजार ८ सय कार बिक्री भएका छन् ।

यो वर्षको जनवरी-मार्चमा देशमा मर्सिडिजको कुल बिक्रीमा एसयूभीको हिस्सा ६० प्रतिशत रह्यो । ईभीको बिक्री १ सय ३० प्रतिशतले बढेको छ भने कुल बिक्रीमा उनीहरूको हिस्सा ६ प्रतिशत रहेको छ ।

मर्सिडिज बेन्ज इन्डियाका प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृत सन्तोष अय्यरले कम्पनीले आगामी त्रैमासिकमा भारतमा १२ वटा नयाँ कार लन्च गर्ने योजना रहेको बताए । तीमध्ये तीनवटा ब्याट्रीबाट चल्ने विद्युतीय कार हुनेछन् ।

उनले भने, ‘हामीसँग २ सय गाडीको अर्डर छ र हाम्रा केही कार ग्राहक एक वर्षदेखि पर्खिरहेका छन् ।’ कम्पनीले सन् २०२४ मा तीनवटा नयाँ कार बजारमा ल्याएको छ ।

कम्पनीका ८५ प्रतिशत कारको मूल्य ७० लाखभन्दा माथि रहेको अय्यरले बताए । मर्सिडिज बेन्जले यस वर्ष १० नयाँ उदीयमान बजारमा प्रवेश गर्दैछ ।

बीएमडब्लू ग्रुप इन्डियाका अध्यक्ष विक्रम पाहवाले भने, ‘बीएमडब्लू ग्रुप इन्डियाले जनवरी-मार्च त्रैमासिकमा उत्कृष्ट प्रदर्शन गरेको छ र यस अवधिमा हाम्रो बिक्री ५१ प्रतिशतले बढेको छ । कम्पनीले जनवरीमार्च त्रैमासिकमा २ सय ११ ईभी कार बिक्री गरेको छ ।’

यसैगरी अडी इन्डियाका प्रमुख बलवीर सिंह ढिल्लनले आर्थिक वर्ष २०२४ मा अडीको बिक्री ३३ प्रतिशतले बढेको बताए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.