नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबी प्रक्षेपण, मौद्रिक नीति लचिलो हुनुपर्ने

  २०८० चैत २९ गते १३:२५     विकासन्युज

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको छ । सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तिब्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ । नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।

प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको जानकारी दिए ।

कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा उर्जा थपिएको बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको जानकारी दिए ।

‘यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडिबीको ३.६ हामीले भनेका छौँ । यो आर्थिक वर्षको राष्ट्रिय तथ्यांक कार्यालयले पनि जिडिपीको तथ्यांक निकालिसकेको छ । यो अफिसियल तथ्यांकलाई हामीले मान्नु नै पर्छ । त्यसलाई सुधार गर्न औजारहरु मौद्रिक नीतिबाट, त्यस्तै गरी यो अर्धवार्षिक समीक्षाबाट पनि आएका छन् । पर्यटन क्षेत्र महत्वपूर्ण छ । कोभिडको भन्दा धेरै नै राम्रो भएको छ । होटलहरु बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक उर्जा पैदा भइरहेको छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ’, उनले भने ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एशिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ । अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.