ऋण काढेरै घ्यू पिऊँ, अर्काको रौं उखेल्न छाडौं

  २०८० चैत २८ गते १६:३६     डा बाबुराम भट्टराई

नेपालले तीव्र आर्थिक वृद्धिदर पनि हाँसिल गर्नुछ । सँगसँगै समन्यायिक वितरण पनि हाँसिल गर्नुछ । स्वास्थ्य बीमा नीति पनि हाँसिल गर्नुछ । छिमेकका दुई ठूला अर्थतन्त्रसँग तालमेल पनि मिलाउनु छ । यसको निम्ति हामीले केही संरचनात्मक स्ट्रक्चरल रिफर्महरु हामीले गर्नुपर्छ । ठूला ठूला परियोजना ठूला उद्योगधन्दा, निर्यातमूलक अर्थतन्त्र नगरी पनि वृद्धिदर हाँसिल हुँदैन । तर त्यति मात्रै गर्यौं भने पनि देशको विविधता छ, असाध्यै पछ्यौटेपन छ । कृषि प्रधान अर्थतन्त्र छ । त्यसले गर्दा फेरि हामीले समन्यायिक वितरण र दीगो विकास हाँसिल नहुन सक्छ । त्यसैले वृद्धि, वितरण, दीगोपन र खुसीपन यी चार आयामसहितको बाटो नेपालले लिनु उपयुक्त हुन्छ ।

पहिलो त राजनीतिक स्थीरता भएन भने आर्थिक विकास र सम्मृद्धि हुँदैन । लोकतान्त्रिक स्थीरता र एउटा भिजनरी लिडरशीपविना कुन पनि देशको विकास हुँदैन ।

हाम्रो अहिलेको कृषि प्रधान अर्थतन्त्र छ, जहाँ हाम्रा ६० प्रतिशत जनसंख्या अहिले पनि कृषिमा आवद्ध छन् । यो क्षेत्रलाई यही रुपमा राख्यौं भने देश कहिल्यै पनि विकास हुँदैन । कृषि, उद्योग र सेवा जुन तीन वटा क्षेत्र छन् । कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा विशेष जोड दिनुपर्छ । कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशतभन्दा तल झार्नुपर्छ । उद्योग क्षेत्रमा लागेको श्रमशक्तिलाई ३०/३५ प्रतिशतसम्म पुर्याउनुपर्छ र सेवा क्षेत्रलाई ४५/५० प्रतिशतसम्म पुर्याउनुपर्छ । यसो गरियो भने देश विकास हुने हो । यसको लागि स्थीर राजनीतिक नेतृत्व र ठोस आर्थिक नीति चाहिन्छ ।

हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानुपर्छ । त्यसपछि बलियो आर्थिक विकास प्राधिकरण बनाएर त्यसले देशलाई दुई दशकभित्र निरन्तर दुई अंकको आर्थिक वृद्धि कसरी हाँसिल गर्न सकिन्छ । त्यसको निम्ति स्वदेशी पुँजी कति परिचालन गर्न सकिन्छ ? कुन कुन क्षेत्रमा तुलनात्मक लाभ छन् ? भारत र चीनका ठूला बजारबाट कसरी लाभ लिन सकिन्छ लगायतका विषयमा एउटा योजना बनाएर कार्यान्वयन गरौं । यो मेरो पहिलो सुझाव ।

दोश्रो, भारत र चीनसँगको अर्थतन्त्रसँग तालमेल मिलाएर जना सकिएन भने पनि नेपालको अर्थतन्त्र उभो लाग्न सक्दैन । सुगौली सन्धीभन्दा यताको सूचकहरु हेर्ने हो भने हाम्रो डिपेन्डेन्सी बढेको बढ्यै छ । व्यापार घाटा बढेको बढ्यै छ । सुगौली सन्धीभन्दा अगाडि हाम्रो आयातभन्दा निर्यात ५ गुणा बढी थियो । सुगौली सन्धीदेखि यता पञ्चायत कालसम्म आउँदा निर्यात भन्दा आयात ५ गुणा बढ्यो र अहिले बढ्दै गएर निर्यात भन्दा आयात १५ गुणा अगाडि बढेको छ । ठूला अर्थतन्त्रबाट सानो अर्थतन्त्रलाई संरक्षण गर्न सकिएन भने परनिर्भरता बढ्दै जान्छ । त्यसैले हामीले भारतसँग नै सहकार्य गर्नुपर्छ, चीनसँगको सहयोगी भूमिका लिनुपर्छ सँगसँगै अन्य देशबाट पनि पुँजी र प्रविधि ल्याएर नेपालको विकास गर्न सक्छौं । यो भयो राजनीतिक सन्तुलन । हामीले राष्ट्रिय सहमति निर्माण गर्नै पर्छ ।

तेस्रो, अबको युगमा माथि र तल दुबैतिरबाट विकास गर्न सकेनौं भने देश पछाडि पर्छ । जनताको संलग्नता तलबाट र माथिबाट सहि नीति बनाउन सकेनौं भने पनि हाम्रो जस्तो पछाडि परेको देशले सन्तुलित विकास गर्न सक्दैन । त्यसैले संघीयताको जुन अपूणर्ताहरु छन् त्यसलाई पूणर्ता दिनुपर्छ र केन्द्रले विदेशी लगानी, सञ्चार, सुरक्षा लगायतका विषयमा ध्यान दिने र ठूला पूर्वाधारहरु जस्तै सडक, बिजुली, पानी, सिञ्चाई, विमानस्थल लगायतको जिम्मा लिने हो । प्रदेशले मध्यमस्तरको जिम्मा लिने र स्थानीय स्तरबाट सामान्य रुपमा कार्यान्वयन गर्ने हो । यस्तो नीति बनाएर गएपछि मात्रै बल्ल नेपालको तीव्र र सन्तुलित विकास हुन्छ । र, यसमा हामीले सुधार गर्नैपर्छ । भन्न त संघीयताले देश बिगार्यो भनिन्छ । तर त्यस्तो होइन ।

चौथो, डिजिटल युग आइसक्यो । हाम्रा सम्पत्ति कसको कति हो भन्ने ठेगान छैन । बाउ बाजेका पालाका लेखेका कागजपत्रहरुको अक्षर बुझिँदैन, हामी आफैले बुझन सक्दैनौं । त्यसैले एकपटक हामी सबैले हाम्रा सम्पत्तिको अभिलिखिकरण गरौं । र, सबैले स्वघोषणा गरौं । बाउबाजेका पालादेखिको सम्पत्तिको कुनै अभिलेख छैन । यस्तो अवस्थामा कुन सेतो धन कुन कालो ? कसरी छुट्याउने ? त्यसले अहिलेको जस्तै हालत हुन्छ । आफ्नो सरकार आएको बेलामा अर्को पाटीकालाई भ्रष्टाचारी भनेर समाएको छ, आफ्नालाई जोगाएको छ । सरकार फेरिन्छ, फेरि अर्कोको पालो आउँछ । यसरी एकले अर्काको रौं उखेल्ने हो भने त हामी सबै सिधिन्छौं । त्यसैले पूणर् सुरक्षा दिएर सम्पत्तिको अभिलेख गरौं । अनि कर प्रणाली अनुसार जाऔं । यो सुधार हामीले गर्नै पर्छ । कृषि क्षेत्र लगायतका प्राकृतिक सम्पदा छन् । त्यसको सामूहिक ढंगले कसरी व्यवस्थापन गर्ने ? नीति बनाउनु पर्यो । नेपालको सन्दर्भमा पनि दक्षिण एशियाली मोडल अपनाउनुपर्छ ।

पाँचौं, शिक्षा । दक्षजनशक्ति बिना कुनै देशको विकास हुँदैन । हाम्रो अहिलेको शिक्षा प्रणालीले विकास हुँदैन, यसको आमसुधार गरौं ।
छैटौं, वित्तीय क्षेत्र । पछिल्लो समय बैंकमा कर्जा प्रवाह नभएको भन्ने सुनिएको छ । जब उद्योग धन्दाको विकास भइरहेको छैन, उत्पादनको विकास भइरहेको छैन भने खाली जमिनमा र व्यापारमा मात्रै लगानी भइरहेको छ । जसको सीमा हुन्छ, त्यो लगानीको प्लेटोमा पुगिसकेकोले बैंकको पैसा कर्जामा गइरहेको छैन । त्यसैले वित्तीय पुँजी र औद्योगिक पुँजीको बीचमा एउटा इन्भर्स रिलेसन हुन्छ । जबसम्म औद्योगिक पुँजीमा जोड्नु हुन्न वित्तीय पुँजी एउटा बिन्दु माथि अगाडि बढ्न् सक्दैन । यो क्षेत्रमा सुधार गरौं ।

सातौं, हाम्रो जस्तो पिछडिएको देशमा एनआरएनको लगानीलाई देशभित्र ल्याउनको लागि हामीले संरक्षण दिनैपर्छ । उताको सम्पत्ति यता ल्याउनेभन्दा यताको सम्पत्ति बेचेर उता जाने बढी भइरहेको छ । यसमा पनि सुधार गरेर उक्त लगानी भित्र ल्याउने प्रयास गरौं । सुरुको हाम्रो लगानी भनेको नेपालभित्र रहेका हामी र देशबाट बाहिर गएका नेपालीहरु हुन् । त्यसैले यसमा पनि सुधार गरौं ।

आठौं, हाम्रो मानसिकता बदलौं । संस्कार बदलौं । हाम्रो उद्यममैत्री छैन । जातीय भेदभाव हाम्रो सोचबाट हटेको छैन । म ब्राहम्ण हुँ, मलाई पढ्न लेख्न आउँछ तर उद्यम व्यवसाय गर्न भुद्दिभाङ, केही पनि आउँदैन । सीप भएका दलितलाई हामी हेप्छौं । महिलाहरुको श्रमको हामी गणना नै गर्दैनौं । उद्यम व्यवसाय गर्नु, धन आर्जन गर्नु भनेको राम्रो काम हो भनेर हामीले सिकाउनु पर्छ । अहिले दुःख पाएर पनि जोगी भएर बस, भोकभोकै हिड्, मरेपछि स्वर्गमा सबै सुविधा पाउँछन् भन्ने सोच हाम्रो समाजमा छ । यस्तो सोचले उत्पादन वृद्धिमा सघाई पुग्दैन । चारपाकले भने झै ऋण गरेर पनि घ्यू पिउनुपर्छ भन्ने सोच हामीमा विकास भयो भने दुःख गरेर भएपछि अधिक आर्जन वृद्धिको बाटोमा लाग्छन् मानिसहरु । यस्तो अभ्यासले व्यक्तिलाई पनि धनी बनाउँछ, आर्थिक समृद्धिमा पनि मद्दत गर्छ । त्यसैले हामीले हाम्रो सोचमा पनि सुधार गरौं ।

हामी आशावादी बनौं । नेपाल बन्छ, बनाउनुपर्छ । मूख्य रुपमा भारत र चीन ठूला अर्थतन्त्रको रुपमा अगाडि आएका छन्, यिनीहरुसँग तालमेल मिलाएर, यिनीहरुको भ्यालूचेनसँग जोडिएर उद्योगधन्दा व्यापार अगाडि बढाउने ढंगले गयौं भने केही दशकभित्र नेपाल बन्छ ।
(उद्योग दिवसका आवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.