फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दाबी बीमा रकम

  २०८० चैत २७ गते १०:१६     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमा बापत १५ लाख ७५ हजार भुक्तानी गरेको हो ।

इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल चैत्र ७ गते फरवार्ड माइक्रोफाइनान्सबाट ७ लाख रुपैंया कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् । ६ लाख ६५ हजार २ सय ६७ रुपैंया किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत नौ लाख नौ हजार सात सय ३२ रुपैंया प्रदान गरेको छ ।

बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ । फरवार्ड माईक्रोफाइनान्सले एक कार्यक्रम नै गरी इश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

सो क्रममा बोल्दै इश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज बिकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुबित्त बित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा वित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेशा, व्यापार व्यवसाय बिकास गर्ने जिकीर गरे ।

कार्यक्रममा बोल्दै फरवार्डका सञ्चालक सदस्य प्रा.डा श्यामकिशोर महतोले समुदाय र निम्न वर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशिल हुने विश्वास दिलाउँदै वित्तीय संस्था, स्थानीय समुदाय र स्थानीय सरकार बिच सहकार्य गर्न आवश्यक रहेको जनाए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले फरवार्ड संस्थाको पृष्ठभूमी, संस्थाको परीचय र उद्देश्य बारे बोल्दै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गरे । उनले इन्द्रवतीलाई दिइएको बीमा रकम हालसम्मकै ठूलो बीमा सुविधा भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.