काठमाडौंका १८ वटा सम्पदा संरचनाको सम्पूर्ण जानकारी अब क्युआर कोडबाटै लिन सकिने

  २०८० चैत २२ गते १४:३७     विकासन्युज

काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ । सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरुलाई जोगाउन क्युआर कोडको प्रयोग थालिएको हो ।

बुधबार कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन् । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यसको मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ ।

क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ ।

कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्द्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो ।

क्युआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.