वीरगञ्ज नगरक्षेत्रका आधादर्जन सडक कालोपत्र गरिँदै

  २०८० चैत २१ गते १७:०४     विकासन्युज

वीरगञ्ज । पर्सागढी नगरपालिकाले ग्रामीण सडक पूर्वाधारलाई प्राथमिकता दिएको छ । वर्षौंदेखि जीर्ण, हिलाम्मे र धूलाम्मे नगरक्षेत्रका आधादर्जन सडकलाई चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने योजनाअनुसार काम अघि बढाइएको हो । सोही योजनाअनुसार नगरपालिकाले वडा नं १ स्थित जनता सडकमा कालोपत्र सम्पन्न गरेको छ ।

वर्षौंदेखि सडक जीर्ण हुँदा हिलो र धूलोका कारण सास्ती भोग्दै आएका स्थानीय सो सडक पक्की भएसँगै हर्षित भएका छन् । कोइलाभार मन्दिरदेखि कोइलाभार टोलसम्मको सडकखण्डलाई नगरपालिका कार्यालयले नगरस्तरीय भौतिक पूर्वाधार योजना अन्तर्गत दुई करोड ४५ लाख ६६ हजारको लागतमा निर्माण गरेको हो । उक्त एक दशमलव ५४ किलोमिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीयवासीले बताएका छन् ।

‘पहिला सडक कच्ची थियो, वर्षायाममा हिलाम्मे र सुख्खायाम धुलाम्मे हुन्थ्यो’, पर्सागढी नगरपालिका–१ का श्याम महतोले भने, ‘आवतजावतमा सहज मात्रै होइन्, अब हिलो र धुलोबाटमुक्त भएको अनुभूति भइरहेको छ ।’ ठूलो धार्मिक महत्व बोकेको कोइलाभार मन्दिरसम्म पुग्न पहिला धेरै गाह्रो हुने र अब टोलबाट मन्दिरसम्म पुग्न सहज भएको उनको भनाइ छ ।

नगरपालिकाले ग्रामीण भेग र सहरको दुरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको समान नजिकैको बजारसम्म पुर्‍याउनसमेत सहज भएको स्थानीय कामेश्वर यादवले बताए । लामो समयदेखि सरकारी उपेक्षामा परेको सो सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर कालोपत्र गरिएको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले बताए ।

नगरपालिकाको सबै सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख पाठकले बताए । उनले कालोपत्र सडक निर्माण कार्यलाई सहरी र ग्रामीण क्षेत्रमा सन्तुलित रुपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे ।

‘मेरो पहिलो प्राथमिकता नै स्थानीय सडक पूर्वाधार निर्माण नै हो’, नगरप्रमुख पाठकले भने, ‘कच्ची सडकको मर्मत गर्दा बढी खर्च हुने र समयपनि नोक्सानी हुन्छ, त्यसैले दिगो सडक विकास गर्ने लक्ष्यसहित सडकलाई कालोपत्र गर्न थालेका छौँ ।’ यसैवर्ष नगरपालिकाको छ वटा स्थानका सडकलाई कालोपत्र गर्न लागेको उनको भनाइ छ ।

नगरप्रमुख पाठकका अनुसार यसैवर्ष पर्सागढी नगरपालिका–१ को नववा बजारदेखि भटनी टोल जोड्ने सडक, वडा नं २ को बागबन्नदेखि छतवनटाँडी जाने सडकखण्ड, वडा नं ३ को मानव आश्रमदेखि आमोदेवी मन्दिर जाने सडकखण्ड, वडा नं ५ को जमुनीचोकदेखि वडा नं ४ जोड्ने हर्दिया–हरदासपुर सडकखण्ड र वडा नं ८ को वडा कार्यालयदेखि वडा नं ३ को वडा कार्यालय जोड्ने सडकखण्ड कालोपत्र गरिने छ ।

‘एक पटक सडक कालोपत्र भयो भने वर्षौंसम्म त्यो सडकमा बजेट खर्चिनु पर्दैन’, नगरप्रमुख पाठकले भने, ‘जसका कारण एकातिर सडकमा हिलाम्मे र धुलाम्मे पनि भएन् र अर्कोतर्फ बजेट तथा समयको समेत बचत हुन्छ ।’ त्यो बजेटले अर्को काम पनि खर्च गर्न सकिन्छ, उनले भने ।

ती अधिकांश सडक कालोपत्र गर्ने गरी सम्झौताको काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सकिने योजना रहेको उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.