प्रसाईंले थप कर्जा माग्दा बैंकर्स हच्किए, ६ अर्ब डुबेको ठाउँमा कति फसाउने ?

  २०८० चैत १९ गते १९:२७     विकासन्युज

काठमाडौं । बैंकको कर्जा नतिर्ने मुख्य मुद्दा बनाएर विभिन्नरूपमा विरोध कार्यक्रम गर्दै आएका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकहरूसँग थप कर्जा माग गरेका छन् । आइतबार बैंकहरू र प्रसाईंबीच भएको छलफलमा उनले बैंकहरूबाट थप कर्जा प्रवाहका लागि आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई लाइसेन्स दिन आदेश दिएपछि बैंक र प्रसाईंबीच आइतबार छलफल भएको थियो । प्रसाईंले चलाएको पूर्वाञ्चल क्यान्सर हस्पिटल र निर्माणाधीन बीएण्डसी मेडिकल कलेजमा विभिन्न बैंकहरूको करिब ६ अर्ब रुपैयाँ कर्जा फसेको छ ।

ग्लोबल आइएमई बैंक, कुमारी बैंक, प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले प्रसाईँसँग करिव ६ अर्ब रुपैयाँ असुल गर्न सकिरहेका छैनन् ।

यी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसहित दुई दर्जन भन्दा उच्च तहका कर्मचारी र प्रसाईं समूहबीच आइतबार लामो छलफल भएको थियो । स्रोतका अनुसार राष्ट्र बैंकले दिएको नीतिगत सुबिधा प्रयोग गर्दै चैत मसान्तसम्म तिर्न बाँकी ब्याजको १० प्रतिशत तिरेर ९० प्रतिशत ब्याजलाई साँवामा परिणत गर्न बैंकहरुरूले आग्राह गरेका थिए ।

प्रसाईंले बीएण्डसी मेडिकल कलेजमा विद्यार्थी भर्ना भएपछि मात्र कर्जा भुक्तानी गर्न सक्ने पुरानै अडान राखेका थिए । त्यति मात्र होइन पूर्वाञ्चल क्यान्सर हस्पिटलका लागि आवश्यक मेसिनरी औजार खरिदका लागि करिब ३० करोडको एलसी खोल्न र निर्माणाधिन बीएण्डसी मेडिकल कलेजको बाँकी काम गर्न आवश्यक रकम ऋण माग गरेका छन् ।

कर्जा तिर्न बोलाएको बैठकमा ऋणीले थप कर्जा माग गरेपछि बैंकर्सको मनमा चस्का पसेको छ । विगतमा लिएको कर्जा तिर्दिनँ भनेर आन्दोलन गर्ने, बैंकरलाई मनलाग्दी मुख छोड्ने, बैंकरहरूमाथि खुकुरी प्रहार गर्न र कालोमोसो दल्न हुल पठाउने जस्ता अराजक गतिविधि गर्ने प्रसाईंलाई कसरी कर्जा थप्ने ? बैंठकमा सहभागी एक बैंकर्सले विकासन्युजसँग भने ।

‘६ अर्ब फसेको छ, अब कति रकम फसाउने ? सबैको मनमा शंका पलाएको छ,’ उनले भने ।

बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउन सकेको थिएन । तर, सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएपछि उनी कलेज सञ्चालन गर्ने पक्षमा छन् । तर, वर्षाैंदेखि अलपत्र कलेजको पूर्वाधार सञ्चालन योग्य बनाउने, विद्यार्थी भर्ना पूर्वको तयारी गर्न ठूलो रकम आवश्यक भएको भन्दै उनले बैंकसँग थप कर्जा माग गरेका छन् । प्रसाईंले सोमबार पनि विभिन्न बैंकर्ससँग एक्लाएक्लै भेटेर थप कर्जाको लागि लविङ गरेका छन् ।

प्रसाइँका समर्थकले खुकुरी प्रहार गरी घाइते भएका बैंकका एक कर्मचारी

बैंकरहरूका अनुसार प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् भने लिएको ऋण पनि तिर्न ताकेता गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.