अटो बजारमा शाओमीको धमाकेदार ‘इन्ट्री’, लन्च गरेको २७ मिनेटमै ५० हजार अर्डर

  २०८० चैत १८ गते ८:५०     विकासन्युज

एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको २७ मिनेटभित्रै ५० हजार अर्डर प्राप्त गरेको बताएको छ ।

विश्वव्यापी रूपमा कारको बिक्री घटिरहेका बेला शाओमी विद्युतीय कार लिएर बजारमा प्रवेश गरेको छ, जसले विद्युतीय कार बजारमा नयाँ प्रतिस्पर्धाको संकेत दिएको छ ।

एक कार्यक्रममा कम्पनीका सिइओ लेई जुनले कम्पनीको स्ट्यान्डर्ड सु सेभेन मोडलको मूल्य २ लाख १५ हजार ९ सय युआन (२९ हजार ८ सय ७२ अमेरिकी डलर) र म्याक्स भर्सनको मूल्य २ लाख ९९ हजार ९ सय युआन हुने बताए ।

शाओमीले यतिबेला विश्वबजारमा कारको ठूलो हिस्सा ओगटेका टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । चीनमा टेस्लाको मोडेल ३ को सुरुवाती मूल्य २ लाख ४५ हजार ९ सय युआन रहेको छ ।

शाओमीका सिइओ लेई जुनका अनुसार सुसेभेन एकपटक चार्ज गर्दा ७ सय किलोमिटरसम्म दौडन सक्छ । यो टेस्लाको मोडेल ३ भन्दा राम्रो छ, जुन एकपटक चार्ज गर्दा ५ सय ६७ किलोमिटरसम्म दौडन सक्छ ।

कम्पनीले एसयु सेभेनमा फोन, ल्यापटप र अन्य डिभाइसमा प्रयोग हुने अपरेटिङ सिस्टम प्रयोग गर्नेछ, जसलाई उपभोक्ताले रुचाउने अपेक्षा गरिएको छ । रिसर्च कम्पनी काउन्टरपोइन्टका अनुसार शाओमी विश्वव्यापी रूपमा स्मार्टफोन बेच्ने तेस्रो ठूलो कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा यसको हिस्सा १२ प्रतिशत छ ।

विगत एक वर्षदेखि नै शाओमीले सुसेभेन लन्च गर्ने संकेत दिएको थियो । यसलाई पोर्शको ट्याकन र पानामेरा स्पोर्ट्स कार मोडेलहरूसँग तुलना गरिएको थियो ।

चुनौती र बढ्दो प्रतिस्पर्धा

शाओमीको यो नयाँ कार सरकारी स्वामित्वको बीएआईसी ग्रुपको कारखानामा उत्पादन हुनेछ । यो फ्याक्ट्री बेइजिङमा छ र यस कम्पनीले एक वर्षमा कम्तिमा दुई लाख कार बनाउने लक्ष्य राखेको छ ।

अटोमेसनसँग सम्बन्धित बिल रुसोले बीबीसीसँग भनेका छन्, ‘कम्पनी अहिलेसम्म जुन स्तरमा पुगेको छ, त्यो आफैंमा ठूलो सफलता हो । तर, सबैभन्दा ठूलो सफलता त्यो हुनेछ जब शाओमी इलेक्ट्रिक कार बजारमा उपभोक्तामाझ आफ्नो स्थान बनाउन सक्षम हुनेछ ।’

यद्यपि, यस प्रविधिको क्षेत्रमा चुनौती भने निकै नै रहेको छ । यस तथ्यबाट पनि स्पष्ट हुन्छ कि आईफोन निर्माता एप्पलले गत महिना इलेक्ट्रिक कारहरू बनाउने आफ्नो योजना रद्द गरेको थियो ।

शाओमीले आगामी १० वर्षमा इलेक्ट्रिक कार व्यवसायमा १० अर्ब डलर लगानी गर्ने बताएको छ ।

रिस्टाड इनर्जी नामक रिसर्च कम्पनीसँग आबद्ध अभिषेक मुरलीले भनेका छन्, ‘चीनमा इलेक्ट्रिक कारहरू धेरै परिपक्व छन् र यसले एक स्थिर इकोसिस्टम सिर्जना गरेको छ जसले कार निर्माताहरूलाई धेरै मद्दत गर्दछ ।’

उदाहरणका लागि, यहाँ ब्याट्री आपूर्ति श्रृंखला धेरै बलियो छ र इलेक्ट्रिक कारहरूको बढ्दो माग पूरा गर्न ठूलो चार्जिंग नेटवर्क निर्माण गरिएको छ । शाओमीको पहिलो कार चीनमा यस क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला लन्च गरिएको हो ।

हालैका महिनाहरूमा टेस्लाका अर्बपति मालिक एलन मस्कले चीनमा आफ्ना कारको मूल्यमा कयौं हजार डलरले कटौती गरेका छन् । यसको कारण के हो भने विश्वव्यापी रूपमा बिक्री हुने सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी बीवाईडीले पनि आफ्नो कारको मूल्य घटाएको छ ।

चीन विद्युतीय कारका लागि विश्वको सबैभन्दा ठूलो बजार हो । सो सन्दर्भमा चीनमा नयाँ प्रतिस्पर्धी शाओमी हो ।

पछिल्लो साता बीवाईडीले आफ्नो वार्षिक नाफामा नयाँ रेकर्ड कायम गरेको छ । यद्यपि कम्पनीले यो वर्षको अन्त्यतिर यो गति केही सुस्त भएको पनि बताएको छ । त्यस्तै, सांघाईस्थित कार निर्माता कम्पनी नियोले अर्थतन्त्रमा आएको मन्दीका बीच उपभोक्ताले खर्च घटाएको बताएको छ ।

अर्को साता अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले पनि जनवरीदेखि मार्चसम्मको बिक्रीको तथ्यांक सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.