उद्योगी व्यवसायीले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल

  २०८० चैत १६ गते १५:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् ।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीहरुले मनोवल कमजोर भयो, व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए ।

उनले मुलुकभरका उद्योगी व्यवासायीहरुलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरुले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे । अब उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायिक वातावरण छैन भनेर निरास हुन आवश्यक नभएको बताए । मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको जानकारी दिए ।

अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरे । बैंक तथा वित्तीय संस्थाहरुले कृषि, जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने जानकारी दिए ।

‘बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने प्राथमिक क्षेत्रहरु छन् । ती क्षेत्रहरु बाहेक निर्माण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ । बैंकहरुले कृषिमा १५,जलस्रोतमा १० प्रतिशत भन्ने छ । त्यस्तै निर्माण क्षेत्रमा पनि लगानी गर्नको लागि बैंक र बीमाहरुको फण्डहरु छ । मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिती, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको छ । व्यवसायीहरुले नकारात्मक भन्दा पनि सकारात्मक सन्देश दिनसक्दा मात्रै व्यवसायीहरुले चाहेको आर्थिक विकास हुनसक्छ’, उनले भने ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । उनले मागमा वृद्धि र निजी क्षेत्रको मनोवल पनि माथि उठ्न नसकेको अवस्थाले उद्योगी व्यवसायीहरुले नयाँ लगानीका योजनाहरु अघि बढ्न नसकेको जानकारी गराए ।

उनले निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए । सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिलता दिन आवश्यकता रहेको उल्लेख गरे । अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय प्रभावकारी बजेट कार्यान्वयन भएको भन्दै प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने धारणा राखे ।

उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न नसकेको दाबी गरे । उनले चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशत भन्दा माथि नगएको बताए ।

‘मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएको छ । तर वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुनसकेको छैन । अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय भनेको प्रभावकारी बजेट कार्यान्वयन हो । सरकार आगामी वर्षको बजेट बनाउन जुटेको छ । आगामी बजेटले स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने रणनीति लिनुपर्छ । स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनेगरी आउनुपर्छ’, उनले भने ।

उनले निर्माण व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकार आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने रणनीति लिनुपर्नेमा जोड दिए । स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनुपर्ने परिसंघको माग रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.