मन्दीमा ठूलो लगानीको माग, बीमा कम्पनीको हकप्रद सेयरमा अझै २२ अर्ब थप्नुपर्ने

  २०८० चैत १६ गते १३:४०     विकासन्युज

काठमाडौं । ‘वाणिज्य बैंकको पुँजी २ अर्बबाट ८ अर्ब बनाउँदा  हकप्रद सेयर भर्नका लागि लिएको कर्जा सेयरधनीहरूले अहिलेसम्म पनि तिर्न सकेका छैनन्’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले अनौपचारिक कुराकानीमा भन्दै थिए । नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न निर्देशन दिएपछि धमाधम हकप्रद सेयर जारी गर्दा लगानीकर्ताहरूले ऋण लिएर सेयर खरिद गरेका थिए । तर, त्यो बेला लिएको ऋण अहिलेसम्म पनि चुक्ता गर्न नसकेको ती सीईओले भनाइ छ ।

हो, यतिबेला बीमा कम्पनीहरूको नियामक नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि आधा दर्जन बीमा कम्पनीले हकप्रद सेयरको माध्यमबाट तोकिएको पुँजी पुर्याउने गृहकार्य गरिरहेका छन् । मर्जर र बोनस सेयरको माध्यमबाट पुँजी वृद्धि सीमा पूरा नभएपछि बीमा कम्पनीहरू धमाधम हकप्रद सेयरको तयारी गरिरहेका हुन् ।

तर, अर्थतन्त्र सुस्ताएको बेला एकैपटक यति धेरै कम्पनीको हकप्रद आउने भएपछि लगानीकर्ताहरू पैसाको जोहो कसरी गर्ने भन्ने विषयमा चिन्तित बनेका छन् । दर्जनौं बीमा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएपछि सेयरधनीहरू फेरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने तयारी गरिरहेको लगानीकर्ताहरू बताउँछन् । बीमा कम्पनीहरूले हकप्रद सेयरमा करिब २१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्नु पर्ने भएकाे छ ।

जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्यज्योति लाइफले हकप्रद सेयर निष्काशन गरेर पुँजी पुर्याउने तयारीमा छन् । जसमध्ये एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब रुपैयाँ पुँजी पुर्याउने भएको छ । कम्पनीको हालको पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । अब कम्पनीले सेयरधनीहरूबाट २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने भएको हो ।

प्रभु महालक्ष्मी लाइफको पुँजी ४ अर्ब २९ करोड रुपैयाँको १७ प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब २ करोडभन्दा पुँजी पुग्ने देखिन्छ । अब कम्पनीका सेयरधनीहरूले ७३ करोड ३ लाख २० हजार रुपैयाँ जोहो गर्नु पर्ने हुन्छ । यस्तै, सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ छ । अब लगानीकर्ताहरूबाट १ अर्ब ६ करोड रुपैयाँ बढी रुपैयाँ संकलन गर्नु पर्ने देखिन्छ ।

एशियन लाइफको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँको ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोडभन्दा बढी पुग्छ । यस आधारमा कम्पनीले सेयरधनीहरूबाट १ अर्ब ३२ करोड ५२ लाख रुपैयाँ उठाउन खोजेको छ ।

सानिमा रिलायन्स लाइफले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । सूर्यज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । कम्पनीले १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ ।

मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । सानिमा जीआईसीले २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

यूनाईटेड अजोडले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हालको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६६ प्रतिशत हकप्रद पछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्ने छ ।

यी माथिका बीमा कम्पनीका सेयरधनीहरूले ठूलो रकम जोहो गर्नु पर्ने देखिन्छ । अझै प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पनि पुँजी वृद्धि गर्न निर्देशन दिएपछि संस्थापक लगानीकर्ताहरूलाइ टाउको दुखाइको विषय बनेको छ । हिमालयन रिइन्स्योरेन्सले २० अर्ब पुँजी पुर्याउन ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ । नेपाल पुर्नबीमा कम्पनीका लागि पनि करिब ४ अर्ब  रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नुपर्ने छ । बीमा कम्पनीका लगानीकर्ताहरू पैसाको जोहो गर्न दौडधुप गरिरहेका छन् । साथै जलविद्युत कम्पनीहरूले पनि हकप्रद सेयर जारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.