हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो : अध्यक्ष ढकाल

  २०८० चैत १५ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे ।

उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए । सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए ।

भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको जानकारी दिए ।

उनले उक्त विवाहका इभेन्ट नेपालमा ल्याउनसके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको बताए । अध्यक्ष ढकालले सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन आवश्यक रहेको जानकारी दिए ।

‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेछ । उनीहरु थाइल्याण्ड, फिलिफिन्स, इण्डोनेसिया, दुबईमा गइरहनुभएको छ । यो इभेन्टहरु धेरै सख्यामा भइरहेको छ । सरकारले विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छ । तत्काल सञ्चालनमा ल्याउन सकियो भने नेपालमा पर्यटनको धेरै सम्भावना रहेको छ’, उनले भने ।

उनले पर्यटन बोर्डलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको समेत सहभागिता गराउन माग गरे । पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिताले मात्रै पर्यटन प्रवद्र्धन थप प्रभावकारी बनाउन सकिने बताए । अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.