सर्वोत्तमको सेयर भाउ हजारमाथि, बुक बिल्डिङबाट किन्नेहरु पनि उच्च फाइदामा

  २०८० चैत १५ गते १५:१०     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर भाउ एक हजारमाथि पुगेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयर बिहीबारको बजारमा एक हजार रुपैयाँमाथि किनबेच भएको हो ।

कम्पनीको सेयर कारोबारको सातौं दिन अर्थात बिहीबार पनि बजार खुल्नासाथ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको हो । सो दिनको कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १०८२.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ९८.१० रुपैयाँले बढी हो ।

कम्पनी गत चैत ६ गते दोश्रो बजारमा प्रवेश गरेको थियो । सो दिनको पहिलो कारोबार प्रतिकित्ता ५५६.०८ रुपैयाँलाई आधार मानेर भएको थियो । सो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको थियो । त्यसयता आजसम्म गरी कूल ७ दिन सेयर कारोबार भयो । यो अवधिमा कम्पनीको सेयर मूल्यमा दैनिक सकारात्मक सर्किट लागिरहेको छ ।

नेपालमै पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्रीमा राखेको हो । जसमा लगानी गर्ने सर्वसाधारण र संस्थापक दुबै लगानीकर्ताहरु फाइदामा देखिएका छन् । कम्पनीको सेयर मूल्यमा निरन्तर सर्किट लागेसँगै कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताहरु उच्च फाइदामा देखिएका हुन् । कम्पनीको सेयरमा सर्वसाधारणले प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले लगानी गरेका थिए भने संस्थापक लगानीकर्ताले कम्पनीको प्रतिकित्ता सेयरको लागि न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ६०१.५० रुपैयाँसम्म लगानी गरेका थिए ।

आजको दिनसम्ममा कम्पनीको सेयरमा लगानी गरेका सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता ७२१.८ रुपैयाँको दरले फाइदा भएको छ ।

बिहीबारको बजारमा कम्पनीको सेयर कारोबार पनि सर्वाधिक भएको छ । एकैदिन सर्वोत्तमको १९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीको मूल्य बढेसँगै बजार पुँजीकरण पनि स्वतः बढेको छ । बिहीबार कम्पनीको बजार पुँजीकरण ५० अर्ब ३४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.