आजदेखि एसईई परीक्षा, पास हुन ३५ अंक ल्याउनै पर्ने

  २०८० चैत १५ गते ६:४०     विकासन्युज

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा २७ गतेसम्म चल्नेछ ।

देशभर एकैसाथ सुरु हुने परिक्षामा सहभागी विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ ।

परीक्षाको लागि २ हजार ६४ परिक्षा केन्द्र छन् भने जापानबाट २३ जना परिक्षा सहभागी हुने भएका छन् । जसअन्तर्गत कोशी प्रदेशमा ३७८, मधेशमा, २९५, बागमती ४४१, गण्डकीमा २१४, लुम्बिनीमा ३३८, कर्णालीमा १८६, सुदुरपश्चिममा २११ र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको छ ।

यो वर्ष सामुदायिक र संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परिक्षार्थीले परिक्षा दिँदैछन् । जसमा दुई लाख ५० हजार ७ सय ७२ छात्रा र दुई लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जनाले परिक्षा दिने भएका छन् । परीक्षार्थीमध्ये १५ हजार ७ सय ४९ जना परक्षिार्थी प्राविधिकतर्फका छन् ।

७७ हजार बढी जनशक्ति परिचालन

एसईई परिक्षाका लागि ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । ४ हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष र २५ हजार दुई सय २२ निरीक्षक परिक्षाका लागि खटाइने भएका छन् । यस्तै, पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

पास हुन ३५ अंक ल्याउनै पर्ने

यो वर्षको एसईई परीक्षामा परिक्षार्थीले पास हुन ३५ अंक ल्याउनै पर्नेछ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्षदेखि ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू हुने भएको छ । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीलाई माथिल्लो कक्षामा सहभागी नगराइने अर्थात् अब कक्षा ११ मा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्छ । विगतका वर्षहरूमा सैद्धान्तिक र प्रयोगात्मक जोडेर ३५ अंक ल्याए हुन्थ्यो भने यो वर्षदेखि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भएको छ । दुई विषयमा ३५ अंकभन्दा कम ल्याएमा मौका परीक्षा दिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.