एकदिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकममा पनि गिरावट

  २०८० चैत १४ गते १५:२७     विकासन्युज

काठमाडौं । लगातार चारदिन घटेर बढेको नेप्से परिसूचक बुधबार पुनः घटेको छ । मंगलबार दोहोरो अंकले बढेको परिसूचक बुधबार पनि दोहोरो अंकले नै घटेको छ ।

बुधबार कारोबार खुल्दा उकालोको यात्रा तय गरेको बजारले केही समयमै ओरालोको यात्रा समातेको थियो । यससँगै कारोबार बन्द हुँदा सेयर मूल्य मापक नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशतले कम हो ।

बजारमा परिसूचकसँग कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार भने २ अर्ब २३ करोडमा सीमित भएको छ । कूल कारोबार संख्या भने दुबै दिन बराबर अर्थात ३१० नै रहेको छ ।

बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर मूल्य भने ५ रुपैयाँले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा झरेको छ ।

बजार घटेपनि बढेपनि सवोत्तम सिमेन्टको सेयर मूल्यमा भने निरन्तर सर्किट लागिरहेको छ । बुधबार घटेको बजारमा पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सर्किट लागेर प्रतिकित्ता ९८४.६० रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन ८०-२० नामक डिबेन्चरको पनि मूल्य ९.९३ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.६६ प्रतिशतले घटेको छ ।
बुधबार उत्पादनमूलक बाहेक कारोबारमा आएका सबैसमूह राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.