संकटमा मानविकी, रोजगारी नपाइने चिन्तामा न्यून आकर्षण

  २०८० चैत १३ गते ११:२२     विकासन्युज

काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेज समाजिक कार्य (सोसल वर्क)मात्र पढाइ हुने कलेज हो । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको कलेजमा अहिले विद्यार्थीको संख्या निकै कम छ । लामो समयदेखि ब्याच्लर्स इन सोसियल वर्क (बिएसडब्लू) कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले केही वर्ष यतादेखि (एमएसडब्लू) कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

तर, विद्यार्थीको संख्या नहुँदा कलेज सञ्चालनमै अन्यौलको अवस्था सिर्जना भएको बुझिएको छ । कलेज प्रमुख प्रदिप्ता कादम्बरी सामाजिक विषय विद्यार्थीको रोजाइमा नै नपर्ने भएकाले कलेजलाई विद्यार्थी पाउन समस्या भइरहेको बताउँछिन् ।

‘अहिले धेरै विद्यार्थीको रोजाइमा डाक्टर र इन्जिनियरलगायत अन्य प्राविधिक विषय पर्छन्,’ उनी भन्छिन्, ‘अभिभावकलाई पनि आफ्नो छोराछोरी डाक्टर, इन्जिनियर बनुन् भन्ने लाग्छ, सोसियल वर्क पढेर के हुन्छ ? भन्ने अभिभावक धेरै नै छन्, त्यसैले पनि यस्ता विषयमा विद्यार्थीको संख्या कम हुँदै आएको हो ।’

सोसियल साइन्स, मानविकी जस्ता विषय अहिले विद्यार्थीकोे प्राथमिकतामा पर्दैन । यस्ता विषय पढ्न नसक्ने, कमजोर विद्यार्थीले पढ्ने हो भन्ने भाष्य निर्माण गरिएको छ । तर, यो भाष्य नै गलत रहेका उनको भनाइ छ । कादम्बरीजस्तै मानविकी संकाय पढाइ हुने धेरै कलेजमा यो संकाय पढ्ने विद्यार्थीको संख्यामा कमी छ ।

यस्तै, देशकै पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालयमा पनि विद्यार्थीको संख्या घट्दै गएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानविकी संकायमा पनि विद्यार्थीको संख्या घट्दै गएको छ । सो संकाय अन्तर्गत अर्थशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, भूगोल, इतिहास, कला, साहित्य, भाषा, पत्रकारिता, संस्कृतिजस्ता विषय पर्दछन् ।

विश्वविद्यालयको मानवकीकी संकायका १६ वटा विभागमा अहिले कुल २ सय ४३ विद्यार्थी मात्र छन् । केन्द्रिय शिक्षाशास्त्र विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल १६ वटा विभागमा एक हजार ३ सय ५० जना विद्यार्थी आवश्यक रहेकोमा २ सय ४३ जना मात्रै रहेको बताउँछन् ।

त्रिभुवनविश्व विद्यालयको भुगोल केन्द्रिय विभागमा यो वर्ष स्नातकोत्तरमा १६ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष १९ विद्यार्थी भर्ना भएका थिए । विभागका साहयक प्रमुख ज्ञानुराजा महर्जनका अनुसार एमफिलमा यो वर्ष ४ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष पाँच जना विद्यार्थी भर्ना भएका थिए । स्नातकोत्तर र एमफिलमा अध्ययन गर्न कम्तिमा पनि १० जना विद्यार्थी आवश्यक पर्छ ।

महर्जन भन्छन्, ‘जति विद्यार्थी आए पनि उनीहरूलाई पढाउने गरेका छौं, विद्यार्थीको निकै अभाव छ ।’

किन मानविकी तथा शिक्षाशास्त्र संकायमा विद्यार्थीको सख्या घट्दैछ भन्ने जिज्ञासामा सो संकायकी डिन कुशुम शाक्य अन्य संकायमा पनि विद्यार्थीको संख्या नै घटेको बताउँछिन् ।

‘यो संकायमा विद्यार्थीको सख्या घटेको भन्ने हल्ला मात्र हो,’ भन्छिन्, ‘केही विषयमा विद्यार्थी घटेको होलान् तर, राजनीतिशास्त्र, समाजशास्त्र लगायतका विषमा विद्यार्थीको संख्या झन बढेको छ, यस्तो अवस्थामा विद्यार्थी घटे भन्न मिल्दैन ।’

विद्यार्थी आफूले मन परेको विषय पढ्ने भएकाले यो वा यही कारणले विद्यार्थी पढ्न छोडेको भन्न नमिल्ने बताउँछिन् ।

किन कम भए विद्यार्थी ?

उच्च शिक्षा हासिल गर्नुको उद्देश्य नै रोजगारीका लागि हो । जुन विषय पढ्दा रोजगारीका सम्भावना धेरै हुन्छन्, विद्यार्थीको रोजाइ पनि त्यही विषय पर्छन् । मानविकी संकायका विषय र अहिलेको बजारको माग नमिलेको कारण मानविकीमा विद्यार्थीको आकर्षण घटेको जानकारहरू बताउँछन् ।

समाजशास्त्री टिकाराम गौतम अहिलेको बजार हेरेर विद्यार्थी विषय छनोट गर्ने गरेको बताउँछन् । ‘बजारमा के–को माग छ, त्यो अनुसार आफूले पढेर काम पाउँछु कि पाउँदैन पढ्नु भन्दा पहिले विषय छनोट गरिन्छ,’ उनी भन्छन्, ‘अहिले राजनीति, इतिहास, भुगोल पढेकालाई काम पाउन नै गाह्रो छ, त्यसैले पनि मानविकीमा विद्यार्थीको संख्या घटेको हुन सक्छ ।’

ब्रिटिस प्रोफेसर ट्पाइन बीले भनेका छन्, ‘समाजशास्त्र र इतिहास भनेका जुम्ल्याहा दिदीबहिनी हुन् ।’ समाजशास्त्री डा.दिलीप मल्ल शिक्षकले इतिहास र समाजशस्त्रको महत्व विद्यार्थीलाइ बुझाउन नसक्नु र यो विषयलाई सरकारले नै महत्व नदिनुले विद्यार्थीको सख्या घटिरहेको बताउँछन् ।

‘विकासको लागि वा राज्यको रणनीतिको लागि समाजको अध्ययन गर्नुपर्ने हुन्छ, ‘हाम्रो समाजमा फराकिलो सामाजिक मनोविज्ञान छ, हामी एक गाउँबाट अर्को गाउँमा जाँदा त्यहाँको सामाजिक मनोविज्ञान फरक पाउँछौं, समाजको अध्ययन गर्ने शास्त्र समाजशास्त्र, समाजको मनोविज्ञान के छ ? हिजोको इतिहास कस्तो थियो भन्ने कुरा इतिहासले बताउँछ ।’

इतिहास र समाज अध्ययन गरेर यसको महत्व दर्शाउन सक्यो भने मात्र यसमा विद्यार्थीको सख्या बढ्ने उनको भनाइ छ । उनी यसको महत्व बुझाउन सकेन भने यो संकाय ठूलो संकटमा पर्ने बताउँछन् ।

‘अबको बच्चालाई समाजशास्त्र, मानवशास्त्र, इतिहास , बुझाउन सक्नुपर्छ, यसका लागि राज्य संरचनामा पनि परिवर्तन गर्नुपर्छ र यसमा आवद्ध प्रोफेसर संस्थाबाट सामाजिक परामर्श गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

समाजशास्त्री निर्मला ढकाल पढाइ, डिग्री राजगार, आर्थिक अवस्था र आर्थिक सुदृढिकरणसँग जोडिने बताउँछिन् । जसरी प्राविधिक धारमा पढिसकेपछि सजिलै रोजगारी पाइन्छ, त्यति यो विषयमा नपाइने भएकाले नै यो विषयमा पढ्ने विद्यार्थीको संख्या कमी आएको बताउँछिन् ।

‘रोजगारीसँग यस्ता विषयहरू नजोडिएकाले विद्यार्थी यो क्षेत्रमा आकर्षण भएन,’ उनी भन्छिन्, ‘डिग्रीले मात्र खान लगाउन पुग्दैन, खानलाउन आफ्नो डिग्री कुनै रोजगारसँग ठोक्कीनु पर्ने भएकाले अहिलेको जुन प्रतिस्पर्धा छ, बजारमा दक्ष, प्राविधिक माग हुन्छ भन्ने विषय अध्ययन गरेर विद्यार्थी विषय रोज्छन् । ’

पाठ्यक्रममा नै विभेद

कुनैपनि विद्यार्थीले सेकेण्डरी एजुकेसन इक्जामिनेशन (एसईई) दिइकेपछि आफू के विषय पढ्ने, कुन विषयमा आफ्नो भविष्य तय गर्ने योजना बनाउँछन् । प्राविधिक विषय लिएर पढ्ने वा कुनै विषय लिएर पढ्ने भन्ने उसको रोजाइ हुन्छ । तर, धेरै जसो विद्यार्थीले एसईई पास गरिसकेपछि नै मानविकी संकाय अन्तर्गतका विषय रोज्दैनन् ।

किनकी पाठ्यक्रम विकास केन्द्रले नै यो विषय कमजोर विद्यार्थीका लागि हो भन्दै छुट्टयाइ दिएको छ । एसईईमा आएको नम्बर अनुसार विद्यार्थीले संकाय छनोट गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रको निर्देशिका अनुसार विज्ञान विषय पढ्न उच्च ग्रेड ल्याउनुपर्छ । तर, मानविकी संकायका विषय पढ्न जस्तोसुकै ग्रेड भएपनि हुने भनेको छ ।

एसईईपछि विद्यार्थी पढ्ने विषय उच्च ग्रेड र कम ग्रेडले छुट्याउँदा राम्रो विद्यार्थीका लागि विज्ञान र कमजोर विद्यार्थीका लागि अरू विषय भनेर छुट्टयाए जस्तो हुँदा एसइइपछि नै यो संकायमा विद्यार्थीको आकर्षण कम रहेको विज्ञहरू बताउँछन् । यस्तो व्यवस्थाले विद्यार्थीको मनोविज्ञान नै कमजोर हुने मानवशास्त्री शुरेस ढकालको भनाइ छ ।

कमजोर पढाइ

मानवशास्त्री शुरेस ढकाल ह्युम्यानिटज र सोसल साइन्सेजको पढाइको स्तर मापन गर्ने तरिका नभएको बताउँछन् । यी संकायमा विद्यार्थी घट्नु आन्तरिक र बाह्य कारण रहेको बताउँदै उनी पढाइको गुणस्तर कमजोर हुनु, समसामयिक विषयवस्तु नहुनु, रोजगारीका लागि उत्तम क्षेत्र नभएकाले विद्यार्थीको संख्या घटेको बताउँछन् ।

ढकाल त्रिविको व्यवस्थापन नै कमजोर रहेको बताउँछन् । कुनै पनि विद्यार्थीलाई आकर्षण गर्न संस्था आकर्षित हुनुपर्छ,’ उनी भन्छन्, ‘विद्यार्थी यो संकाय घट्यो, यो संकायमा बढ्यो भन्ने मात्र कुरा हैन, त्रिविको जिम्मेवार निकाय को हो ? यो त्यसको जिम्मेवारी हो, कि यो सबै अधिकार विभागलाई दिनुपर्छ न भए जिम्मेवार निकाय जवाफदेखि हुनुपर्छ । ’

सम्पूर्ण अधिकार डिन अफिस अथवा केन्द्रले राख्ने नतिजा प्रकाशन गर्न ढिलो गर्ने लगायतका विभिन्न समस्या रहेको उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.