मन्त्रीले सरूवा गर्ने त्रासमा अर्थमन्त्रालयका कर्मचारी, सचिवसँग दूरी बढ्दै

  २०८० चैत १२ गते १६:४४     विकासन्युज

काठमाडौं । मन्त्री फेरिएसँगै अर्थमन्त्रालयका कर्मचारीहरूमा सरुवाको त्रास बढेको छ । बजेट निर्माणका विभिन्न काममा जुट्नु पर्ने बेला अर्थ मन्त्रालयका कर्मचारीमा भने सरूवाको त्रास बढेको हो । अहिले अर्थमन्त्रालयका कर्मचारीहरूबीच को कहाँ सरूवा हुन सक्ने भन्दै छलफल तथा गाइँगुईं चल्न थालेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव, सहसचिवदेखि मन्त्रालय अन्तर्गतका विभिन्न विभागका प्रमुखहरूको सरुवा गर्नसक्ने हल्ला कर्मचारीहरूमा छ । सरुवा हुने हल्ला भए पनि कसको कहाँ र कहिले भन्ने सन्दर्भमा जानकारी नभएको अर्थमन्त्रालयका एक सहसचिवले बताए ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले फागुन १४ गते नै बजेटका सिद्धान्त तथा प्राथमिकता प्रतिनिधिसभामा पेस गरेका थिए । संघीय सरकारले आवश्यक आम्दानी र खर्च दुवै गर्न नसकिरहेको अवस्थामा चालु आवको बजेट कार्यान्वयनको ‘पिक आवर’मा काम गर्ने र आगामी बजेटको लागि विभिन्न विषयमा केन्द्रित भएर काम गर्नुपर्ने बेलामा अर्थ मन्त्रालयका कर्मचारीहरू भने सरुवाको बहसमा सीमित भएका छन् ।

‘म नै यहाँ हुन्छु कि हुन्न भन्नेछ, अरु नीतिगत छलफल त के हुनु,’ एक सहसचिवले भने ।

अर्थमन्त्री पुनले अहिलेसम्म सचिवालयलाई पूर्णता दिएका छैनन् । उनले कुनै आर्थिक विज्ञलाई सचिवालयमा नियुक्ति पनि गरेका छैनन् । साथै आगामी आवको बजेट लेखनको विषयमा कुनै टिम समेत बनाएका छैनन् ।

नयाँ बनेको सत्ता पक्षको गठबन्धनले सरकार सञ्चालनको सन्दर्भमा न्यूनतम साझा कार्यक्रम तय गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा पनि कुनै साझा धारणा ल्याएर सोहीअनुरुपको कर्मचारी टिम निर्माण गर्नसक्ने कर्मचारीहरुले अनुमान गरेका छन् ।

‘रामप्रसाद सरकै सरुवा हल्लाले उहाँ दाैडिरहनु भएको छ’, मन्त्रालयका सचिवको विषयमा एक सहसचिवले भने, ‘हामीहरूको पनि के हुन्छ ?’

पूर्व अर्थमन्त्री डा. महतले राजस्व आम्दानीमा देखिएको गिरावटका कारण आगामी आर्थिक वर्षको बजेटमार्फत् राजस्वको दायरा विस्तार गरिने भनाइ राख्दै आएका थिए । तर, मन्त्रालयको जिम्मेवारीमा पुन आइसकेपछि उनले सो विषयमा कुनै औपचारिक वा अनौपचारिक छलफल गराएका छैनन् ।

मन्त्रिपरिषद्ले असोज ५ गते विद्याधर मल्लिकको नेतृत्वमा निर्माण गरेको चार सदस्यीय उच्चस्तरीय कर प्रणाली सुधार समितिको कार्यकाल यहि चैत १५ गते सकिँदैछ । मन्त्रालयको जिम्मेवारीमा वर्षमान पुनको आगमनसँगै उनले पनि राजीनामा बुझाउन खोजेको तर, उनको जिम्मेवारीलाई राजनीतिक रुपमा नलिन आग्रह गरेसँगै सुझाव निर्माणको कामलाई अन्तिम रुप दिन लागेको एक सहसचिवले बताए ।

फागुन २३ गतेबाट अर्थमन्त्रालय सम्हालेका मन्त्री पुनको सचिवालयमा त्यहाँदेखि अहिलेसम्म भेटघाट गर्न आउनेको भिड छ । तर, नीतिगत निर्णयको क्षेत्रमा काम गर्ने कर्मचारीहरु भने लामो समयदेखि उनको दृष्टिकोणको पर्खाइमा भएकाले अन्यौलतामा भएको देखिएको छ ।

अर्थमन्त्री पुन र अर्थसचिव कृष्णहरी पुस्करबीच पनि दूरी बढ्दै गएको बुझिएको छ । अर्थमन्त्रालयमा पुन अर्थमन्त्रीका रूपमा आए लगत्तै सचिव पुस्कर अमेरिकाको भ्रमणमा गएका थिए । अर्थमन्त्रीको चाहना उनी नजाउन् भन्ने थियो । तर, अर्थमन्त्रीको आग्रहलाई वेवास्ता गर्दै उनी पूर्वनिर्धारित कार्यक्रम भन्दै अमेरिका उडेको हल्ला अर्थमन्त्रालयमा थियो । त्यसपछि मन्त्री र सचिबबीच दूरी बढेको अड्कलबाजी मन्त्रालयका कर्मचारीले गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.