टिभिएसको नयाँ बाइकमा समस्या, पीडित भन्छन्,-‘कम्पनीले फिर्ता लिओस्, म चड्दै चड्दिन’

  २०८० चैत १२ गते १५:०२     विकासन्युज

काठमाडौं । प्रकाश श्रेष्ठ पेशाले बैंकर हुन् । बैंकिङ क्षेत्रमा काम गरेको उनले करिब एक दशक भयो । आफू बैंकिङ क्षेत्रमा काम गर्ने भएकाले उनले अन्य क्षेत्रमा पनि कर्मचारीहरूले बैंकिङ क्षेत्रको जस्तो व्यवहार गर्छन् भन्ने सोचेका छन् ।

उनले गत जनवरीमा टीभीएसको जमल सोरूमबाट मोटरसाइकल खरिद गरे । उनले २ लाख ६६ हजार ५ सय रुपैयाँमा टीभीएस राइडर १२५ मोडलको मोटरसाइकल खरिद गरेर घर फर्किए । अघिल्लो दिन मोटरसाइकल खरिद गरेर खुसी हुँदै घर फर्केका उनी अर्को दिन बिहानै निराश बन्नु पर्यो ।

खरिद गरेको दोस्रो दिनमा मोटरसाइकलमा समस्या देखियो । उनले बाइक स्टार्ट गर्न खोजे पनि स्टार्ट भएन । पटक–पटक प्रयास गर्दा बल्लतल्ल स्टार्ट भयो । उनले मनमनै सोचे, ‘चिसोको मौसम भएर ब्याट्री डाउन भएको होला ।’

तर, जमल सोरूमलाई बाइक स्टार्ट भएन भनेर जानकारी भने गराए । तेस्रो दिन पनि त्यस्तै समस्या देखियो । उनले केही दिन त बाइक तातेपछि सुधार होला भन्ने सोचे । अफिस जानु १० मिनेट अगाडि नै बाइक स्टार्ट गरेर खाना खान जान्थे ।

तर, पनि समस्या निरन्तर दोहोरियो । दैनिक समस्या आउन थालेपछि जमल सोरूममा गएर देखाउँदा कर्मचारीले उनलाई टेकु सर्भिस सेन्टर गएर देखाउन सुझाव दिए । सोही बमोजिम उनी टेुक सर्भिस सेन्टर पुगे ।

‘मैले जनवरी फर्स्टमा जमल सोरूमबाट टीभीएसको राइडर बाइक किनेको हुँ, बाइक किनेको डे वानदेखि समस्या आयो, एक/डेढ सय किलोमिटर मात्रै कुदाएर कम्पनीलाई जानकारी गराउँदा सर्भिस सेन्टर जाउ भन्यो,’ उनले गुनासो गर्दै भने, ‘सामान्य समस्या होला भनेर सर्भिस सेन्टर गएँ, सर्भिस सेन्टरमा देखाउँदा केही भएको छैन, एकचोटी बन्द गरेर फेरी स्टार्ट गर्याे भने स्टार्ट हुन्छ भन्याे, यो समस्या सबैकोमा हुन्छ भनेर सहज उत्तर दिएर फर्काए ।’

उनका अनुसार तीन महिना नवित्दै उक्त बाइकलाई धेरै पटक सर्भिस सेन्टरमा देखाइसके । कम्पनीका धेरै व्यक्तिसँग कुरा गसिकेका छन् । उनी टेकु सर्भिस सेन्टरमा मात्रै ३/४ पटक धाइसके । बाइकमा समस्या आउँदा सानो भर्याङ सर्भिस सेन्टर पनि पुगे । तर, उनी बैंकर भएकाले सधैं सर्भिस सेन्टर धाउन सक्ने अवस्था थिएन । अफिसले पनि सधैं बिदा दिने अवस्था थिएन ।

‘साढे ९ बजे अफिस आउनुपर्छ, केही दिन बिदा लिएर सर्भिस सेन्टर गएँ, इन्जिनियरले बाइक परीक्षण गरेपछि केही पनि समस्या छैन । तैपनि ब्याट्री फेरिदिन्छु भन्नुभयो, जबकी २ सय किलोमिटर पनि कुदेको थिएन,’ उनले भने, ‘२ लाख ६६ हजार रुपैयाँ नगदमा खरिद गरेको बाइकमा पहिलो दिन नै समस्या आउँदा पीडा भयो ।’

कम्पनीले ब्याट्रीमा समस्या हुन सक्ने आँकलन गर्दै ब्याट्री पनि फेर्यो । तर, समस्या पुरानै दोहोरियो । एकदिन त कम्पनीबाटै मान्छेहरू आएर बाइक लगेर गएको उनले सुनाए । तर, कम्पनीबाट फेरि कुनै समस्या छैन भन्ने कुरा आयो । उनले फेरि कम्पनीमा गएर ल्याए । तर, फेरि स्टार्ट नै नहुने समस्या देखियो ।

सामान्य समस्या होला भनेर एडजस्ट गरिरहेका बैंकर श्रेष्ठ बाइकको इन्जिनमा पछि समस्या आयो भनियो । ६/७ सय किलोमिटर मात्रै कुदेको बाइको इन्जिनमा समस्या देखियो भनेपछि उनी अचम्ममा परे । उनको बाइकबाट ट्रयाक्टरको जस्तै आवाज आउन थालेपछि कम्पनीले इन्जिन पनि फेरिदियो ।

जतिपटक समस्या आउँछ उनी कम्पनीलाई जानकारी गराउँछन् । तर, उनले फोन गर्दा कर्मचारीले पनि सहज रूपमा उत्तर नदिने, झर्किएर बोल्ने गरेको गुनासो उनको छ ।

‘सोरुममा फोन गर्दा म व्यस्त छु, तपाईंको मात्रै काम होर भनेर फोन काट्नु हुन्छ, सोरुमको कर्मचारीले मलाई नराम्रो व्यवहार गरिन्, तपाईंलाई जे मन लाग्छ, त्यही गर्नुहोस् भन्ने जस्ता व्यवहार गर्नु भयो,’ श्रेष्ठले गुनासो गर्दै भने, ‘समस्यामा परेको ग्राहकको समस्या समाधान गर्नुको साँटो जे गर्न सक्छस् त्यही गर भन्ने अभिव्यक्ति दियो ।’

निरन्तर बाइकमा समस्या आएपछि उनले आफ्नो पैसा फिर्ताको माग गरेका छन् । ‘मलाई बाइक सर्भिसमा लिँदा लिँदै इरिटेड भइसकेँ, एउटा लेभलसम्म सहन सकिन्छ । तर, अब त्यो लेभल कटिसकेको छ । बाइक फिर्ता दिएर मेरो पैसा फिर्ता दिनुपर्छ,’ उनले भने ।

टीभीएस काठमाडौंका इन्चार्ज पुजन श्रेष्ठका अनुसार बाइकमा समस्या आएपछि कम्पनीले बनाइदिन सक्छ । बिक्री भइसकेको बाइक फिर्ता हुने अवस्था भने छैन । यस विषयमा आफूले कम्पनीको माथिल्लो तहमा जानकारी गराइसकेको जानकारी दिए ।

‘उहाँको बाइकमा समस्या भएको सत्य हो, उहाँको पीडा मैले पनि महसुस गरेको छु, इन्जिनमा समस्या आउनु स्वाभाविक पनि हो । तर, उहाँले बाइक फिर्ता गर्नु पर्ने माग पूरा गर्न मेरो अथोरिटीमा छैन, उहाँले राख्नु भएको मागका लागि माथिल्लो तहमा जानकारी गरेको छु, माथिबाट जे निर्णय आउँछ मैले त्यही कार्यान्वयन गर्छु,’ उनले भने, ‘बाइक बिक्री गर्दा टम्स एण्ड कण्डिसन अनुसार वारेन्टी कार्ड दिइएको हुन्छ, त्यसमा बाइक फिर्ता गर्दैनौं । पार्टपुर्जाहरू फेरिदिने भनेर उल्लेख गरिएको हुन्छ ।’

सवारी साधनमा समस्या देखिएपछि यसअघि विद्युतीय सवारी निर्माता टेस्लाले बिक्री भइसकेको गाडी पनि फिर्ता लिएको थियो । टेस्लाको गाडीको ब्रेक, पार्क र एन्टीलक ब्रेक सिस्टम (एबीएस)को वार्निङ लाइट देखाउने इन्स्ट्रुमेन्टल प्यानलमा अक्षरको आकार सानो भएपछि कम्पनीले अमेरिकी ग्राहकबाट गाडी फिर्ता लगेको थियो । संसारमा यस्ता उदाहरण धेरै भएपनि नेपाली उपभाेक्ताले भने त्यस्ताे सुविधा पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.