पाण्डे महँगो सीईओ, खालिङको तलबमा उच्च वृद्धि

  २०८० चैत ७ गते १३:३९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको तलब तथा पारिश्रमिक साढे ५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बैंकका सीईओहरूको तलब ५.६३ प्रतिशत अर्थात् २ करोड २९ लाख रुपैयाँ घटेको हो ।

गत वर्ष वाणिज्य बैंकका सीईओहरूले ३८ करोड ३४ लाख ८६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । जबकी अघिल्लो वर्षमा ४० करोड ६३ लाख ८७ हजार रुपैयाँ तलब तथा पारिश्रमिक बुझेका थिए ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको तलब सबैभन्दा धेरै बढेको छ । यस बैंकले सीईओ खालिङको तलब ८९ प्रतिशत अर्थात् ९० लाख ५४ हजार रुपैयाँ बढाएर १ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष १ करोड १६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको थियो ।

यस्तै, एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानलाई गत वर्ष ३ करोड तलब भुक्तानी गरेको छ । बैंकका अनुसार उनको तलब २७.६० प्रतिशत अर्थात् ६४ लाख ६० हजार रुपैयाँ बढेर २ करोड ९८ लाख रुपैयाँ बुझेका हुन् । अघिल्लो वर्ष बैंकका सीईओले २ करोड ३४ लाख रुपैयाँ बुझेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सीईओ अनिर्वाण घोष दास्तिदारलाई गत वर्ष ३ करोड ६८ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करेड २१ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस बैंकका सीईओको तलब १४.३४ प्रतिशत अर्थात् ४६ लाख १९ हजार रुपैयाँ वृद्धि भएको हो ।

सिटिजन्स बैंकले सीईओ गणेशराज पोखरेललाई गत वर्ष १ करोड ९७ लाख रुपैयाँ तलब प्रदान गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओ पोखरेललाई १ करोड ७६ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा सीईओको तलब १२ प्रतिशत अर्थात् २१ लाख २८ हजार रुपैयाँ बढेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले ५ करोड ३७ लाख रुपैयाँ तलब बुझेका छन् । साविक नेपाल इन्भेष्टमेन्ट बैंक हुँदा सीईओ पाण्डेले ४ करोड ८१ लाख रुपैयाँ तलब बुझेका थिए । मेगा बैंकसँग मर्जरपश्चात् उनको तलब ११.६३ प्रतिशत अर्थात् ५५ लाख ९८ हजार रुपैयाँ बढेको हो ।

नेपाल एसबिआई बैंकको सीईओ दिपक कुमार देलाई गत वर्ष १ करोड ६४ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्षको तुलनामा उनको तलब ६.९४ प्रतिशत अर्थात् १० लाख ७० हजार रुपैयाँ बढेको देखिन्छ । अघिल्लो वर्ष उनले १ करोड ५४ लाख रुपैयाँ तलबभत्ता बुझेका थिए ।

एनएमबि बैंकको सीईओ सुनिल केसीको तलब ५.६७ प्रतिशत अर्थात् १३ लाख ३३ हजार रुपैयाँ बढेर २ करोड ४८ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । अघिल्लो वर्ष सीईओ केसीले २ करोड ३४ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए ।

लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहको तलब गत वर्ष ४.७९ प्रतिशत अर्थात् ६ लाख ६४ हजार रुपैयाँ बढेर १ करोड ४५ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओ शाहलाई १ करोड ३८ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो ।

ग्लोबल आइएमई बैंकले गत वर्ष सीईओ रत्नराज बज्राचार्यको तलबमा २.९९ प्रतिशत अर्थात् ७ लाख ६१ हजार रुपैयाँ बढाएर २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनलाई बैंकले २ करोड ५४ लाख रुपैयाँ तलब प्रदान गरेको थियो ।

प्राइम कमर्सियल बैंकका सीईओ तलब ०.२८ प्रतिशत अर्थात् ६० हजार रुपैयाँ बढेर २ करोड १० लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब पूर्व सीईओ नारायणदाश मानन्धरले बुझेका हुन् । अघिल्लो वर्ष उनले २ करोड १० लाख १५ हजार रुपैयाँ तलब बुझेका थिए । हाल बैंकको सीईओमा सञ्जीव मानन्धर कार्यरत छन् ।

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणले श्रेष्ठले गत वर्ष आफूले काम गरेवापत ६६ लाख ४ हजार रुपैयाँ तलब लिएका छन् । उनले अघिल्लो वर्ष पनि सोही रकम बराबरको तलब बुझेका थिए ।

हिमालयन बैंकका सीईओ अशोक राणाको तलब भत्ता ०.२२ प्रतिशत अर्थात् ४८ हजार रुपैयाँ घटेर गत असारसम्म २ करोड १४ लाख रुपैयाँ बुझेका छन् । अघिल्लो वर्ष उनले २ करोड १५ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए ।

सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको तलब ९.८२ प्रतिशत अर्थात् २२ लाख ९२ हजार रुपैयाँ घटेर गत वर्ष २ करोड १० लाख रुपैयाँ भत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनले २ करोड ३३ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए ।

माछापुच्छ्रे बैंकले सीईओ सन्तोष कोइरालालाई गत वर्ष १ करोड ५४ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३.४८ प्रतिशत अर्थात् २४ लाख ८७ हजार रुपैयाँ कम हो । अघिल्लो वर्ष बैंकले सीईओ कोइरालालाई १ करोड ७९ लाख रुपैयाँ तलब बुझेका थिए ।

नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय हुन् । नेपाल बैंकले सीईओलाई ५४ लाख ८० हजार रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको छ । अघिल्लो वर्ष ६४ लाख ५२ हजार रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत गर्ष १५ प्रतिशतले तलब भत्ता घटेको हो । तर, उक्त रकम पूर्व सीईओ कृष्ण बहादुर अधिकारीले बुझेका हुन् ।

कृषि विकास बैंकले सीईओलाई ४६ लाख रुपैयाँ तलब भुक्तान गरेको छ । अघिल्लो वर्ष बैंकले ६१ लाख ३२ हजार रुपैयाँ तलब भुक्तान गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष २५ प्रतिशत घटेको हो । उक्त तलब पूर्व सीईओ अनिल कुमार उपाध्यायले बुझेका हुन् । हाल बैंकको सीईओमा गोविन्द गुरुङ कार्यरत छन् ।

नबिल बैंकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानालाई गत वर्ष १ करोड ५९ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड ८३ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले सीईओको तलब ४३.८३ प्रतिशत अर्थात् १ करोड २४ लाख रुपैयाँ घटाएको हो ।

सानिमा बैंकको सीईओ निश्चलराज पाण्डेको तलब ४६.४८ प्रतिशत अर्थात् ९९ करोड ५० लाख रुपैयाँ घटेर गत वर्ष १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैयाँ तलब बुझेका थिए ।

कुमारी बैंकले सीईओलाई १ करोड ९० लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । उक्त रकम सीईओ खनाल र पूर्व सीईओ रमेशराज अर्यालले बुझेका हुन् । अघिल्लो वर्ष बैंकले सीईओलाई ३ करोड ९९ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो ।

प्रभु बैंकले सीईओ अशोक शेरचनलाई अघिल्लो वर्ष ४ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको हो । उनले गत वर्ष पनि अघिल्लो वर्षको हाराहारीमा तलबभत्ता बुझेको बैंक स्रोतले विकासन्युजलाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.