लहडमै बैंकर पनि विदेश जान थाले : बैंकर श्रेष्ठ

  २०८० चैत ५ गते ११:२१     विकासन्युज

प्रदीपकुमार श्रेष्ठ सिटिजन्स बैंकको बागमती प्रदेश प्रमुख हुन् । वि.सं २०५८ सालमा बुटवल फाइनान्सबाट बैंकिङ करियर सुरू गरेका उनले त्रिभुवन विश्वविद्यायलयबाट एमबीएसम्मको अध्ययन गरेका छन् । बुटवल फाइनान्समा ६ वर्ष काम गरेपछि सेवा विकास बैंकको सहायक महाप्रबन्धक (एजीएम) बने । ७ वर्ष उक्त बैंकमा काम गरेका उनी तिनाउ बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । उनको नेतृत्वमा तिनाउ बैंकले विभिन्न ३ वटा तिनाउ, मिसन र नेपाल कम्युनिटी डेभलपमेन्ट (एनसीडी) बैंक मर्जर गराए । मर्जरपश्चात् १२ वर्ष बैंकको सीईओको भूमिका निर्वाह गरेका उनी तिनाउ मिसन बैंक सिटिजन्स बैंकमा गाभिएपछि ३ वर्ष सिटिजन्स बैंकको लुम्बिनी प्रदेश प्रमुख भएर काम गरे । ४ महिनाअघि मात्रै उनी सिटिजन्स बैंकको बागमती प्रदेशको प्रमुखमा सरूवा भएका छन् । सिटिजन्स बैंकले बागमती प्रदेशमा आफूलाई स्थापित गर्न र ग्राहकलाई छिटोछरितो सेवा दिन के कस्ता काम गरिरहेको छ भन्ने विषयमा केन्द्रित भएर श्रेष्ठसँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् ।

बागमती प्रदेशमा अन्य बैंकको तुलनामा सिटिजन्सको उपस्थिति र व्यवसाय कस्तो छ ?

बागमती प्रदेशमा सिटिजन्स बैंक सेवा प्रवाहका हिसाबले प्रतिस्पर्धी भएर काम गरिरहेको छ । सिटिजन्स बैंकको कुल निक्षेपमा बागमती प्रदेशबाट मात्रै ६६.५ अर्ब रुपैयाँ संकलन गरेको छ । साढे २६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । निक्षेपकर्ताहरू ४ लाख ६० हजार रहेका छन् भने कर्जातर्फका ग्राहकहरू ११ हजार छन् । तुलनात्मक रूपमा सिटिजन्स बैंक अन्य बैंकभन्दा पछि मात्रै सञ्चालनमा आएको हो । अन्य बैंकहरूको तुलनामा सिटिजन्स बैंकको उपस्थिति, व्यवसाय र नाफामा प्रतिस्पधात्मक रूपमा अगाडि बढिरहेको छ । बागमती प्रदेशमा सिटिजन्स बैंकले ५२ वटा शाखा कार्यालय, एक्सटेन्सन काउन्टर २ वटा र एटीएम ६१ वटामार्फत मोबाइल बैंकिङ २ लाख, डेबिट कार्ड डेढ लाख, डिम्याट खाता १ लाख बढी रहेाका ग्राहकहरूलाई  सेवा प्रवाह गरिरहेको छ । वाणिज्य बैंकसँगको तुलनामा यस प्रदेशमा सिटिजन्स बैंकको उपस्थिती सन्ताेषजनक रहेको छ । बैंकले सर्वसाधारण जनताको निक्षेपमा जोड दिएको छ । कर्पाेरेट निक्षेपभन्दा पनि सर्वसाधारणको निक्षेप हावी छ । यस्तै, कर्जा लगानीमा पनि कर्पाेरेट लेण्डिङ न्यून मात्रामा छ । १ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको कर्जा धेरै प्रवाह भएका छन् । व्यवसाय, उद्यमशीलतालाई जोड दिने हिसाबले साना कर्जामा बैंकले जोड दिएको हो ।

सिटिजन्स बैंक पछिल्लो समय मर्जरबिनै अगाडि बढिरहेको छ, मर्जर भएका बैंकसँग प्रतिस्पर्धा गर्न कत्तिको सजिलो छ ?

प्रतिस्पर्धा आफैंमा चुनौतिपूर्ण विषय हो । हामी बजारमा उत्रिएपछि प्रतिस्पर्धालाई सहज रूपमा लिएका छौं । त्यसमा मर्जर भएर ठूलो बैंक हुँदैमा तिनीहरूसँग प्रतिस्पर्धा गर्न अफ्ठ्यारो स्थिती हुन्छ भन्ने हुँदैन । हामीले ग्राहकलाई दिने सेवालाई कर्मचारीहरूमा मोटिभेसन र उत्सुकतालाई प्राथमिकतामा राखेर सकारात्मक रूपमा काम गर्छाैं । त्यसकारण प्रतिस्पर्धामा सिटिजन्स बैंक अन्य बैंकभन्दा कम छैन । प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो ।

बागमती प्रदेशमा उद्योग व्यवसाय बढी छन् । स्रोतसाधन पनि अन्यको तुलनामा बढी नै छ, अन्य प्रदेशको तुलनामा बागमतीमा सिटिजन्सको व्यवसाय हिस्सा कति छ ?

समग्र वित्तीय क्षेत्रमा निक्षेप तथा कर्जाको स्रोत र साधनका हिसाबले ६० प्रतिशतभन्दा बढी हिस्सा बागमती प्रदेशमा रहेको देखिन्छ । देशकै स्थिती हेर्दा ६० प्रतिशत बढी आर्थिक क्रियाकलाप बागमती प्रदेशमा हुने गरेको छ । उक्त बजारलाई क्याप्चर गर्ने गरी सिटिजन्स बैंकले रणनीति बनाएर काम गरिरहेको छ । सम्भावित कृषि क्षेत्र, उद्योग व्यवसाय, ब्यापार, ग्राहकको ऋण, यातायात (हायर पर्चेज) कर्जालाई समान रूपमा अघि बढाउने र निक्षेप तथा कर्जालाई अगाडि बढाउन ग्राहकको सत्तुष्टि र सेवालाई प्राथमिकतामा राखेका छौं । जबसम्म कर्मचारीहरू उत्साहित र कामप्रति जिम्मेवार हुँदैनन्, तबसम्म अगाडि बढ्न सकिँदैन । त्यसैले ग्राहक सन्तुष्टि र कर्मचारी सन्तुष्टिमा बागमती प्रदेशमा वाणिज्य बैंकहरूको नेतृत्व गर्ने गरी काम गरिरहेका छौं । सोही बमोजिम बैंकको सेवा तथा प्रडक्टमा गुणस्तरीय गरेर बिक्री गरिरहेका छौं । उपत्यका बाहिरको बैंकिङ रिलेसनका आधारमा गरिन्छ भने उपत्यभित्र प्रोफेसन बैंकिङ छ । रिलेशनभन्दा प्रोफेसनल बैंकिङ कारोबार सहज हुन्छ । उपत्यकामा व्यक्तिभन्दा सिस्टम हेरेर कारोबार भको देखिन्छ ।

सेवा सुविधाका हिसाबले अन्य प्रदेशको तुलनामा सुगम भएपनि केही ठाउँहरू बागमतीमा पनि धेरै विकट छन्, ती क्षेत्रमा बैंकले कसरी काम गरिरहेको छ ?

सिटिजन्स बैंकले सुनापाति, तिमाल लगायत ग्रामीण क्षेत्रमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेर सेवा दिइरहेको छ । सरकारले सेवा दिन नसकेको क्षेत्र वा वित्तीय पहुँच नपुगेको क्षेत्रमा एक्सटेन्सन काउन्टर, पोस मेसिन, ट्रान्सलेस बैंकिङका माध्यमबाट सेवा दिएका छौं । बागमती प्रदेशको वित्तीय पहुँच नपुगेको ठाउँहरूमा बैंकले विभिन्न माध्यमबाट सेवा दिइरहेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कस्ता क्षेत्रमा काम गरिरहेको छ ?

सिटिजन्स बैंकले व्यवसायलाई मात्रै नभई सामाजिक उत्तरदायित्वलाई पनि जोड दिएको छ । संस्थाले कमाएपछि त्यो क्षेत्रमा हामीले सामाजिक उत्तरदायित्वका काम पनि गर्नुपर्छ भन्ने बैंकको मूल धारणा छ । सोही अनुसार विद्यालय तथा कलेजमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरूलाई सहयोग गर्ने, वृद्धाश्रममा सहयोग गर्ने, रक्तदान गर्ने लगायत सामाजिक उत्तरदायित्वका कामहरू दूरदराजमा गरिरहेको छ । बैंकका सीईओनै स्वयम उपस्थित भएर सामाजिक उत्तरदायित्वका काम भइरहेका छन् । सामाजिक उत्तरदायित्व व्यवसायको एउटा पार्ट हो भन्ने हिसाबले अगाडि बढिरहेका छौं ।

डिजिटल बैंकिङमा सर्वसाधरणको पहुँच कस्तो छ ?

डिजिटल बैंकिङमा सिटिजन्स बैंक आक्रामक भएर काम गरिरहेको छ । हामीले हरेक कामलाई डिजिटल गर्ने र पेपरलेस बैंकिङमा अगाडि बढ्ने रणनीति बनाएका छौं । सोही रणनीति बमोजिम मोबाइल बैंकिङ ग्राहकहरू २ लाखको हाराहारीमा कारोबार गरिरहनु भएको छ । क्यूआर, पस, इकार्ड, चेक डिपोजिट मेसिन लगायत बैंकिङ सेवा दिइरहेका छौं । सकेसम्म ग्राहकहरू बैंकमा नआई घरमै बैंकिङ गर्न सक्नेगरी प्रणालीको विकास गरिरहेका छौं ।

बागमती प्रदेशमा बैंकरहरूले भोग्नु परेका समस्या के-के हुन् ?

बजारमा आर्थिक चलायमान छैन । कर्जा लगानी गरेपछि असुली दर न्यून छ । यो समस्या बागमती प्रदेश लगायत देशैभर छ । समग्र इण्डिष्ट्रिको असर सिटिजन्स बैंकमा पनि परेको छ । आर्थिक चलायमानताको न्यूनताले गर्दा व्यवसया विस्तार गर्न सकिरहेको अवस्था छैन । समाजमा देखिएका विकृतिहरू कर्जा लिएपछि पैसा तिर्नु पर्दैन, नतिर्नुहोस् भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । यो बैंकको चुनौतिका रूपमा आएको छ । त्यसले सिटिजन्स बैंकलाई पनि असर गरेको छ । यसले बैंकलाई घाटा भएको भन्दा पनि चुनौति थपेको छ ।

कर्जा लिएपछि तिर्नु पर्छ । बैंकमा भएको निक्षेप एउटा व्यक्तिको नभई सर्वसाधारण जनताको हो । जनताको पैसाको सुरक्षा बैंकले गरेको मात्रै हो । लगानीको अभावमा उद्यमशील हुन नसकेका व्यक्तिहरूलाई बैंकले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेर निक्षेपकर्ताको पैसा उद्यमीकहाँ पुर्याउने काम मात्रै गरेको हो । यो विषय जनताहरूले बुझ्दै हुनुहुन्छ । विस्तारै सुधारोन्मुखतर्फ पनि गइरहेको छ ।

बागमती प्रदेशमा बैंकिङ सचेतना कस्तो छ ? 

देशभरिको तुलनामा बागमती प्रदेश अगाडि हुनु स्वभाविक हो । अझैपनि प्रुडेन्सियल बैंकिङ अर्थात् बैंकिङ जनचेतना ग्रासरूटमा पुगेको छैन । जस्तो मेरो लालपुर्जा छ, पैसा दिनुहोस् भनेर माग्न आउनुहुनछ । लालपुर्जाका आधारमा पैसा माग्न आउनु भनेको बैंकिङ चेतनाको कमी भएरै हो । लालपुर्जालाई पैसा दिने होइन । व्यवसायी तथा उद्यमीको विचार र सोचलाई पैसा दिने हो । यस्तो सोचको कमी छ । सचेत ग्राहकहरू स्वस्फूर्तरूपमा बैंकमा आएर बैंकिङ कारोबार गर्नुहुन्छ । साथै बजारमा प्रतिस्पर्धा भएकाले हामी आफैं गएर बैंकका सेवा सुविधाका बारेमा जानकारी गराएर कारोबार गरिदिनुहोस् भन्छौं । त्यसैले दुइटै विधिको प्रयोग भइरहेको छ ।

उद्योगी व्यवसायीहरूले कहिलेकाहीँ बैंकविरूद्ध आन्दोलन गरिरहेका हुन्छन् । उहाँहरू किन सन्तुष्ट हुन नसक्नु भएको हो ?

बैंक आफैंमा आर्थिक चलायमान गर्ने माध्यम हो । बैंक डुब्यो भने देश नै डुब्ने हो । जस्तो नेपालका सबै बैंक डुब्यो भने देशको अर्थतन्त्र नै डामाडोल हुन्छ । निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकिँदैन । जनविश्वासमा बैंकप्रति नकारात्मक भावना आउँछ । निक्षेपकर्ताले बैंकमा पैसा राख्न मानेनन् भने लगानीकर्ताले लगानी नै पाउनु हुन्न । त्यसैले व्यापारी र बैंक भनेका नङ र मासु जस्तै हुन् । बैंकबिना व्यवसाय र व्यवसायबिना बैंक चल्दैनन् । यो विषय व्यापारीहरूले बुझ्न आवश्यक छ । बैंक घाटामा गयो भने विश्व बैंक, आइएमएफ लगायत विदेशी डोनर, लगानीकर्ताहरूले नेपालीलाई पत्याउँदैनन् । नेपाल कालोसूचीमा पर्ने बित्तीकै उद्योगी व्यवसायीहरूको स्थिती आफै नाजुक बन्छ । त्यसैले व्यापारी र बैंक भनेका नङ र मासु जस्तै हुन् । एकअर्का बिना चल्न सक्दैनन् । आन्दोलन गरेर समस्या समाधान हुँदैन । अहिलेको मुख्य समस्या आर्थिक चलायमानताको अभाव हो ।

सरकारसँग पैसा अभाव भएकाले ठेकेदार लगायतको भुक्तानी गर्न सकेको छैन । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि ब्याज बढ्नु स्वभाविक हो । ब्याज बढ्नु भनेको बैंकले पैसा किन्नु हो । बैंकले महँगोमा पैसा किनेपछि महँगो मै बेच्नुपर्छ । अहिले ब्याजदर घटेको छ । ऋणीहरूलाई पनि ब्याजदर घटाइरहेका छन् । त्यसैले ब्याजदर घटबढ हुने विषय भनेको बजारले निर्धारण गर्छ । देशको अर्थतन्त्रले तय गर्छ । सडक आन्दोलबाट समस्या समाधान हुने विषय होइन । देशको अर्थतन्त्र सुधार भयो भने स्वतः सुधार हुँदै जान्छ । आन्दोलनले ब्याजदर घट्ने र बढ्ने हुँदैन ।

वर्किङ क्यापिटल गाइडलाइन आफैंमा राम्रो छ । ऋणीले पैसा लगेपछि सही ठाउँमा लगानी गर्नुपर्छ । यदि व्यवसाय सञ्चालनका लागि कर्जा लियो भने घर, गाडी नकिनी व्यवसायमै लगानी गर्नुपर्छ । जुन उद्देश्यका लागि कर्जा लिएको हो, सोही क्षेत्रमा मात्रै लगानी गर्नुपर्छ भन्ने वर्किङ क्यापिटल गाइडलाइनको मुख्य मर्म हो । वर्किङ क्यापिटल पहिला नै आउनु पर्ने हो । त्यतिबेला त्यो गाइडलाइन सरल भईदियो । सरल बाटोमा हिडिरहेका बेला एकैपटक अफ्ठ्यारो बाटोमा हिँड्दा गाह्रो हुन्छ ।

पहिला नेपालको बैंकिङ सहज तरिकाले चलिरहेको थियो । व्यवसायका लागि कर्जा लियो भने उक्त पैसाबाट घर बनाउने, गाडी किन्ने, श्रीमतिलाई गहना किन्ने, विवाह गर्ने लगायत गर्थे । अहिले व्यवसायबाहेक अन्य क्षेत्रमा डाइभर्ट नगर्नुहोस्, घर बनाउन घर कर्जा, गाडी किन्न गाडी कर्जा, गहना किन्नु वा विवाह गर्नु छ भने व्यक्तिगत कर्जा, पढाउनु छ भने शैक्षिक कर्जा लिनु होस् भनिएको हो । यो व्यवस्था पहिला पनि थियो । तर, यति धेरै कडाईका साथ लागू भएको थिएन । अहिले राष्ट्र बैंकले सुक्ष्म रूपमा कडाइका साथ लागू गर्याे । जस्तो एक करोडको व्यवसायमा ४ करोड कर्जा प्रवाह भयो । उक्त कर्जा अन्य क्षेत्रमा पनि लगानी भयो । १ करोडको व्यवसायले ४ करोडको कर्जा थेग्न सकेन । अहिलेको मुख्य समस्या यही नै हो । जसले कर्जा लिएर व्यवासयमा लगानी गरेको छ, उसलाई समस्या छैन । जसले कर्जा लिएर अन्य क्षेत्रमा लगानी गरेको छ, उसका कारण समस्या आएको हो ।

पछिल्लो समय बैंकरहरू पनि विदेश पलायन भइरहेको सुनिन्छ, यो अवस्था किन आयो ?

यो विषय देशको नीतिगत व्यवस्थामा निर्भर पर्छ । बैंकले उद्यमशीलतमा लगानी गर्ने हो । उद्यमशीलताको वातावरण सरकारले बनाउने हो । उद्योग व्यवसायलाई सुरक्षित गर्ने, बजार विस्तार गराउने काम सरकारको हो । व्यावसायिले व्यवसाय गरिरहेको छ । तर, त्यो व्यवसायको भविष्य के हुने भन्ने विषय अनिश्चित हुन्छ । नीति नियम बनाउँदा त्यो विषय सोचेको हुँदैन । अन्ततः व्यवसाय घाटामा जाँदा लगानीकर्ताहरूको मनोबल घट्दै जान्छ । त्यसपछि एउटाले नेपालमा त केही पनि हुँदैन भनेर हल्ला गर्छ । त्यसपछि एक/दुइटा गरेर सबैतिर हल्ला गर्छन् । विदेशमा गएपछि राम्रो कमाउन सकिन्छ भन्ने लहड चलेको छ । यो लहड धेरै लामो समय जाँदैन । किनभने विदेशमा पनि सहज रूपमा पैसा कमाउन सकिँदैन । राम्रो काम गर्न पाउन गाह्रो छ । देशको नीतिगत समस्या र आर्थिक मन्दीका कारण समस्या आएको हो । हामीले जागिर गर्दा बैंकिङ क्षेत्र प्रतिष्ठित क्षेत्रका रूपमा लिइन्थ्यो । तर, अहिले समाजमा बैंकप्रति नकारात्मक धारणा बनेको छ । बैंकरलाई पिट्ने, कालोमोसो लगाउने, गालिगलौज गर्ने जस्ता गतिविधिले गर्दा बैंकरहरूले असुरक्षित महसुस गरिरहेका छन् । पुराना कर्मचारीहरूमा बैंक छाड्ने प्रवृत्ति कम छ । तर, नयाँ प्रवेशी तथा ४/५ वर्ष काम गरेका व्यक्तिहरूमा छाड्ने लहड छ । साथी विदेश गयो भने म पनि जान्छु भनेर जागिर छाडिरहेका छन् । नयाँ प्रवेशीहरू एक/दुई वर्ष काम गरेका कर्मचारीहरू छाड्ने लहड छ । यसका प्रभाव सिटिजन्स बैंकमा पनि परेको छ ।

बैंकहरू अहिले बिजनेस विस्तारभन्दा पनि कर्जा असुलीमा ध्यान दिइहरेको सुनिन्छ, कर्जा असुलीमा भोग्नु परेका सकसहरू र अनुभव के कस्ता छन् ?

मैले बैंकिङ सुरु गर्दा बैंकबाट पैसा लिएपछि तिर्नुपर्छ भन्ने मानसिकता थियो । पहिला चिठ्ठी पठाउन पनि हुलाक तथा मान्छे जाने प्रचलन थियो । बैंकले चिठ्ठी काटेर घरमा पठाएपछि ऋणीले आफूले खाइनखाई जसरी पनि पैसा तिर्थे । आफूसँग नभएपनि अरूबाट पैसा सापटी लिएर पनि तिर्थे । पत्रिकामा नाम सार्वजनिक गर्ने वा लिलाम प्रक्रिया बढाउँछु भनेपछि झनै छिटो रकम असुली हुन्थ्यो । तर, अहिले आएर विकृतिको रूपमा बढ्यो । जनताको निक्षेपलाई सुरक्षा दिएर सञ्चालन भएको वित्तीय क्षेत्रको पैसा तिर्नु पर्दैन । ऋण असुल्न आयो भने कालोमोसो दल्नुपर्छ, कुटपिट गर्नुपर्छ भन्ने भाष्य बनाईएका छन् ।

म बुटवलमा हुँदा उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुने अवसर पाएको थिएँ। उक्त कार्यक्रममा बैंकर मेरो घरमा आयो भने ढुंगा हान्छु भन्ने शब्द प्रयोग गरे । यस्ता सामाजिक सञ्जालमा त छ्यापछ्याप्ती नै छ । अहिलेको मार्केट नियन्त्रणभन्दा बाहिर गएको छ । जसले जे बोले पनि हुने होकी भन्ने जस्तो देखिन्छ । जसले गर्दा बैंकिङ क्षेत्रमा रिकभरीमा चुनौति थपेको छ । तर, पछिल्लो समय बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ भन्ने सचेतना बढेको पनि छ । त्यसैले एकछिन गाह्रो भएपनि विस्तारै जनताले बुझ्नु भयो भने बैंकरहरूलाई पनि सहज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.