आईटी विज्ञहरू भन्छन् : सहकारीहरू पूर्ण डिजिटाइज हुनुपर्छ

  २०८० चैत २ गते १५:४४     विकासन्युज

काठमाडौं । सूचना प्रविधि विज्ञहरूले सहकारीहरू पूर्ण डिजिटाइज हुनु पर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भइरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनीहरू यस्तो बताएका हुन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडि बढाएको बताए । कानुनी रुपमा स्पष्टता नभए पनि सहकारीले डिजिटल कारोबार गर्न नपाईने भन्ने नभएको उनको भनाइ छ ।

कोर बैकिङ, मोबाइल बैकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडि बढाइरहेको उनले सुनाए ।

यस्तै, आकाश डिजिटलका अध्यक्ष सुजनबाबु अधिकारीले सहकारीमा डिजिटाईजेशनको कुरा गर्दा वालेट र कोर बैकिङ मात्रै नभएको धारण राखे । कार्यालयमा हुने सम्पूर्ण कामलाई कागजरहित बनाउनु नै डीजिटाइजेशन भएको उनको भनाइ छ ।

सदस्यहरूले घरमै बसेर सहकारीको सम्पूर्ण वित्तीय सेवा लिन सक्नु नै डिजिटाइज भएको उनको धारणा छ । डिजिटाइजेशनमा जाँदा सेवामा प्रभावकारिता र समयको बचत हुने हुँदा यसबाट सदस्यले बढी लाभ लिन सक्ने उनले बताए ।

मोबाईल फाइनान्स टेक्नोलोजीका अध्यक्ष स्मरण दवाडीले डिजिटाइजेशनमा जान सहकारीले लगानी बढाउनुपर्ने र कुल खर्चको १० प्रतिशत पनि लगानी नभएको बताए । लगानी नगर्ने तर सेवा सुविधा मात्रै खोजेर नहुने उनको धारणा छ ।

सदस्यहरूले मोबाइलबाट पैसा तिर्ने मात्रै डिजिटाईजेशन नभएको भन्दै उनले सहकारीका सदस्यले उत्पादन गरेको वस्तु तथा सेवाको समेत बजारीकरण गरेर समुदायको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने उनको जोड छ । सहकारी बचत तथा ऋणको मात्रै कारोबार नभई सदस्यको उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने सम्मको प्रविधिमा जोडिन सक्दा यसका सबै पक्षले फाइदा लिन सक्ने बताए ।

मोरु डिजिटल वालेटका श्रेस पौडेलले सहकारीहरू ग्रास रुटसम्म पुगेको क्षेत्र भएकाले प्रविधि साक्षरता जगाउन उपयुक्त माध्ययम भएको बताए । सन् २०३० सम्म सहकारीमा डिजिटाईजेशनमा जान अहिलेदेखि नै लगानी बढाउनु पर्नेमा उनको जोड छ । प्रविधिको सीमा नभएको भन्दै उनले त्यो माईन्ड सेट गरेर कन्क्लेभबाट बाहिर निस्कन उनको आग्रह छ ।

प्रतिस्पर्धी र गुणस्तरीय सेवा दिन सहकारीहरू पनि तयार हुनुपर्ने उनको जोड छ । कन्क्लेभमा सहभागिहरुले डिजिटाईजेशनमा जान दुर्गम क्षेत्रमा पूर्वाधारको विकास नभएको बताए । दुर्गममा इन्टरनेट लगायत व्यवस्था नहुँदा सदस्यलाई सहज सेवा दिन समस्या परेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.