अमेरिकी तल्लो सदनले पारित गर्‍यो टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक

  २०८० चैत १ गते ७:०३     विकासन्युज


काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार लोकप्रिय भिडियो एप टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत सेयर अमेरिकी कम्पनीलाई नदिए सधैंका लागि अमेरिकामा टिकटक बन्द हुने विधेयकमा उल्लेख छ ।

टिकटकले अमेरिकालाई आफ्नो सेयर बेच्न चिनियाँ स्वीकृति लिनुपर्नेछ । चीनले यसलाई अस्वीकार गर्ने सम्भावना देखिँदैन । कम्पनीले यसअघि आफ्नो मूल्य २ खर्ब ६८ अर्ब डलर रहेको जनाएको थियो ।

अमेरिकी सांसदहरूले कम्पनीको हालको स्वामित्वको संरचनालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै यो कदम चालेका हुन् ।

तल्लो सदनबाट दुई तिहाई बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुने–नहुनेमा शंका छ ।

यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय पूर्ण कार्यान्वयन हुन पाएको थिएन । तर, अहिले भने ट्रम्पले आफ्नै निर्णय विपरित टिकटक प्रतिबन्धको विरोध गरेका छन् ।

टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकाले ठहर गरे पनि टिकटकले भने १५ करोड जना अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा चीन सरकारको पहुँच भन्दा टाढा रहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ । यस्तै, चीनले टिकटक प्रतिबन्ध लगाउने अमेरिकाकोे कदमले उसैलाई समस्यामा पार्ने चेतावनी पनि दिएको छ ।

विदेश मन्त्रालयले भनेको छ, ‘टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने प्रमाण अमेरिकाले कहिल्यै फेला पारेको छैन, तर टिकटकलाई दबाउन पनि रोकिएको छैन, यसले उसैलाई समस्यामा पार्नेछ ।’ एजेन्सी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.