महासंघ अध्यक्ष ढकालको युएई र मंगोलियाका राजदूतसँग भेट, नेपालमा लगानी गर्न आग्रह

  २०८० फागुन ३० गते १७:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँग भेटवार्ता गरेका छन् । बुधबार युएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मंगोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भएको उक्त भेटवार्तामा अध्यक्ष ढकालले नेपालमा लगानी प्रवर्धन गर्न आग्रह गरे ।

उनीहरूबीच नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे ।

युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि धन्यवाद दिए । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए । भेटमा राजदूत अब्दुल्ला अल शम्सीले नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौता को सम्भावनाका बारेमा पनि कुरा राखे ।

त्यसैगरी मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.