अर्थतन्त्र सुधारमा तत्काल पहल गर्न अर्थमन्त्रीलाई उद्योग परिसंघको आग्रह

  २०८० फागुन ३० गते ९:२५     विकासन्युज

काठमाडौं ।  नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई दिँदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ ।

अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए । उनले भारतले अवलम्बन गरेको जिएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको भन्दै बहुदर भ्याट प्रणालीमा जान आग्रह गरे ।

अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरूको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरू प्रभावित भइरहेकोतर्फ ध्यानाकर्षण गराए । कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यावसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरूलाई ‘डिक्रिमिनलाइज्ड’ गरिनुपर्ने आवश्यकता रहेको बताए ।

सो अवसरमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताए । प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्रीसमेतलाई दिएको भन्दै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागु गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ। यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन’ मन्त्री पुनले भने ।

अर्थतन्त्र केही दबाबमा रहेको भन्दै निर्माण व्यवसायीहरूको दिनुपर्ने भुक्तानी दिई बजारलाई चलायमान बनाउन ३०-४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत उनले बताए । बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक रूपमा लिँदै उनले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रूपमा छलफल गर्ने बताए ।

सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, स्थायी आमन्त्रित सदस्य गोकुल भण्डारी, गर्भनिङ काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, शिवरतन शारडा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.