नयाँ दिल्ली र मालेबीच विवादले माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटक एक तिहाइले घटे

  २०८० फागुन २६ गते १५:४५     विकासन्युज

माले । गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्धमा तनाव आएसँगै माल्दिभ्स आउने पर्यटक संख्यामा पनि कमी देखिएको हो ।

सन् २०१९ को मार्च सम्ममा २७ हजार २२४ जना भारतीय पर्यटक आएका थिए । पर्यटन मन्त्रालयको सन् २०२३ को तथ्यांकअनुसार सन् २०२३ को मार्च ४ सम्ममा माल्दिभ्समा ४१ हजार ५४ भारतीय पर्यटकले भ्रमण गरेका थिए ।

माल्दिभ्सको अधाधु अनलाइनका अनुसार यो वर्षको पहिलो दुई महिनामा २७ हजार २२४ भारतीय पर्यटक माल्दिभ्स पुगेका छन् । गत वर्षको तुलनामा यो सङ्ख्या १३ हजार ८३० ले कम हो ।

गत वर्षको पहिलो दुई महिनाको अवधिमा माल्दिभ्समा पर्यटकका लागि भारत १० प्रतिशत बजार हिस्साका साथ दोस्रो ठूलो स्रोत थियो । यद्यपि, यो वर्ष भारतीय पर्यटकको सङ्ख्या ६ प्रतिशतका साथ सूचीको छैटौं स्थानमा रहेको छ ।

माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गन्तव्यका रूपमा विकास गर्न आह्वान गरेका थिए ।

नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर भाइरल पोस्टको कडा विरोध गरेपछि यो विषयले ठूलो कूटनीतिक विवाद निम्त्याएको थियो । तीनै जना उपमन्त्रीलाई निलम्बनमा राखिएको छ ।

यस वर्षको सुरुमा माल्दिभ्सको पर्यटन उद्योगका सरोकारवाला अधिकारीले भारतमा बहिष्कार अभियानले गति लिएको र लोकप्रिय भारतीय फिल्म स्टारहरूको समर्थन प्राप्त गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एण्ड टुर अपरेटर्स (माटाटो) ले भारतीय पाहुनाको बुकिङ रद्द गर्दा परेको असरबारे सर्वेक्षण गरेको थियो तर उक्त निष्कर्ष सार्वजनिक गरिएको थिएन ।

सन् २०२१र०२३ सम्म माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या दुई लाखको हाराहारीमा रहेको छ । यद्यपि, यस वर्ष अहिलेसम्म सबैभन्दा बढी अर्थात् ५४ हजारभन्दा बढी चिनियाँ पर्यटकहरूको आगमनको भएको र माल्दिभ्सको पर्यटनका लागि चीन नै शीर्ष बजार भएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.