बैंकका शक्तिशाली महिला सञ्चालक, व्यवस्थापनमा अब्बल बनेर बोर्डमा प्रवेश

  २०८० फागुन २५ गते १३:५६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्मचारीसँगै सञ्चालक समूहमा पनि महिलाको सहभागिता बढ्दो छ । बैंकमा कार्यरत महिलाहरू बैंकबाट विदा भएसँगै उनीहरु धमाधम सञ्चालकका रुपमा नियुक्त हुने अभ्यास बढिरहेका छन् । अहिले अधिकांश वाणिज्य बैंकले महिलालाई विशेष प्राथमिकतामा राखेर सञ्चालकको रुपमा नियुक्त गर्ने अभ्यास बढाउँदा त्यसले सञ्चालक समितिमा पनि एक किसिमको सुन्दरता देखिन्छ । कतिपय महिला सञ्चालकहरु सेयरधनी भएर सञ्चालक बनिरहेका छन् भने कतिपय महिलाहरु अनुभव र ज्ञानका आधारमा स्वतन्त्र सञ्चालक बन्ने अवसर पाइरहेका छन् ।

नेपालको संविधानले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । कम्पनी ऐनले पनि पब्लिक कम्पनीमा सेयरधनी  महिला छ भने सञ्चालक समूहमा पनि महिलाको सहभागिता हुनु पर्ने व्यवस्था गरेको छ । तर, पनि कतिपय बैंकमा भने अहिले पनि महिला सञ्चालक छैनन् । कतिपय बैंकले दुई जना महिलासम्म महिला सञ्चालक राखेका छन् ।

बैंकको सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु ठूलो लगानी, लामो बैंकिङ अनुभव, सीप र योग्यताका आधारमा सञ्चालक समितिमा शक्तिशाली देखिन्छन् । सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु पूर्व बैंकर, प्राध्यापक, सरकारी निकायको उच्च तह तथा वित्तीय क्षेत्रमै लामो समय काम गरेकाहरु देखिन्छन् । आज हामीले कुन बैंकमा कसको सहभागिता छ भन्ने सामग्री तयार पारेका छौं ।

लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकमा ६ जना सञ्चालकमध्ये दुई जना महिला सञ्चालक छन् । स्वती रुङ्गटा र विद्या बस्न्यात सञ्चालकको रुपमा काम गरिरहेका छन् । लक्ष्मी बैंकमा सनराइज बैंक मर्ज हुनुअघि सनराइज बैंकमा शारदा शर्मा सञ्चालक थिइन् । तर, अहिले उनी सञ्चालकबाट विदा भइसकेकी छन् । लक्ष्मी सनराइज बैंकमा विद्या बस्न्यातले स्वतन्त्र सञ्चालकको रुपमा काम गरिरहेकी छन् भने रुङ्गाटा सन् २०१२ देखि सञ्चालकको रुपमा काम गरिरहेकी छन् । रुङ्गाटाले ग्लोबल इक्विटी फण्डमा म्यानेजिङ पाटर्नरको रुपमा पनि काम गरिरहेकी छन् भने उनीसँग वित्तीय क्षेत्रको राम्रो अनुभव छ ।

माछापुच्छ्रे बैंक : सात जनाको सञ्चालक समिति रहेको यस बैंकमा बन्दना कार्की सञ्चालक छिन् । उनी पब्लिक डाइरेक्टर हुन् । कार्कीले सिक्किम मणिपाल विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छन् । उनीसँग विभिन्न क्षेत्रका विभिन्न संस्थाहरूमा काम गरेको अनुभवका साथै उत्कृष्ट प्रशासनिक सीप पनि छ । उनले गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हिमश्री फुड्स प्रालिको प्रोक्योरमेन्ट म्यानेजरको रूपमा पनि पनि काम गरेकी छन् ।

नबिल बैंक : नबिल बैंकमा आशा राणा अधिकारीले महिला सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालक हुन् । तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकी उनीसँग यसअघि विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । उनले तत्कालीन सनराइज बैंकको डेपुटी सीईओ भएर पनि काम गरिसकेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेकी उनीसँग साढे तीन दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

एनआईसी एशिया : सात जना सञ्चालकमा एनआईसी एशिया बैंकका एक जना महिला सञ्चालक छन् । सो बैंकमा विजया स्वारले महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । कृषि विकास बैंकको विभिन्न पदमा रहेर काम गरिसकेकी उनीसँग बैंकिङ क्षेत्रमा चार दशक बढीको अनुभव छ । उनले यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सञ्चालकको रुपमा तथा फण्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षको रुपमा कार्य गरेको अनुभव छ ।

उनले एशियन ईन्स्टिच्यूट अफ म्यानेजमेन्ट, मनिला, फिलिपिन्सबाट डेभलप्मेन्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । हाल उनी एनआइसी एशिया बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि समितिको संयोजक र कर्मचारी सेवा सुविधा समितिको सदस्यका रुपमा काम गरिरहेकी छन् ।

एनएमबि बैंक : एनएमबी बैंकले बन्दना पाठकलाई बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको छ । तत्कालीन एनसीसी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेकी उनी एनसीसी कुमारी बैंकसँग मर्ज भएपछि उनले बैंक छाडेकी थिइन् । उनले जागिर छोडेपछि एनएमबि बैंकले स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग तीन दशकसम्म बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

एभरेष्ट बैंक : एभरेष्ट बैंकमा उर्मिला श्रेष्ठले पब्लिक सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनको बैंकमा सेयर लगानी छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनले महिला सहयात्रा लघुवित्तको अध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : यस बैंकको स्वतन्त्र सञ्चालकका रुपमा मञ्जु बस्नेत काम गरिरहेकी छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुनु अघि मेगा बैंकमा सबिनादेवि काफ्लेले काम गरिरहेकी थिइन् ।

नेपाल एसबिआई बैक : नेपाल एसबिआई बैकको सञ्चालकका रुपमा अप्सरा उप्रेती काम गरिरहेकी छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । बैंकिङ क्षेत्रमा करिब एक दशकको अनुभव भएको उनको भूमिका बैंकमा महत्वपूर्ण छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेकी छन् ।

सानिमा बैंक : सानिमा बैंकको महिला सञ्चालको रुपमा गायत्री थापा काम गरिरहेकी छन् । उनी २०७६ जेठमा बैंकको सञ्चालकका रुपमा नियुक्त भएकी थिइन् । बैंकमा ६ जना सञ्चालकमध्ये उनी एउटा मात्रै महिला सञ्चालक हुन् । उनी बैंकमा महत्वपूर्ण सञ्चालकका रुपमा परिचित छन् । उनी कर्मचारी सेवा सुविधा समितिको संयोजक समेत हुन् ।

प्रभु बैंक : प्रोफेसर डा. गिता प्रधान प्रभु बैंकको सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी पनि एक महत्वपूर्ण सञ्चालक हुन् । यसअघि उनी सेञ्चुरी बैंकको सञ्चालक थिइन् । प्रभुमा सेञ्चुरी गाभिएपछि उनी प्रभु बैंकको सञ्चालक बनेकी हुन् ।

कृषि विकास बैंक : सरकारी स्वामित्वको कृषि विकास बैंकमा महिला सञ्चालकको रुपमा रिता सुवेदीले काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी लेक्चर पनि हुन् ।

सिद्धार्थ बैंक : मिना कुमारी सैंजुले सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनीसँग ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि उनी पञ्चिमाञ्चल ग्रामीण विकास बैंक, नागरिक लघुवित्त संस्था लिमिटेड र जनता बैंक नेपाल लिमिटेडकी निर्देशक थिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी नेपाल बैंकको उपमहाप्रबन्धक भएर पनि काम गरेकी थिइन् ।

नेपाल बैंक : सात जना सञ्चालक रहेको नेपाल बैंकमा डा. सावित्री रञ्जित श्रेष्ठ महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । उनले नेपाल सरकारबाट प्रतिनिधित्व गरेकी हुन् ।

प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकको महिला सञ्चालकको रुपमा डा. तारादेवि चित्रकार काम गरिरहेकी छन् । उनी गत वर्षको पुसमा बैंकको सञ्चालकमा नियुक्त भएकी थिइन् । उनी प्राध्यापक पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरी रहेकी थिइन् । उनी सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् ।

राष्ट्रिय वाणिज्य बैंक : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकको रुपमा रोमिला ढकाल उप्रेतीले काम गरिरहेकी छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले यसअघि एभरेष्ट बैंकमा २० वर्ष काम गरेको अनुभव छ ।

सिटिजन्स बैंक : यस बैंकमा सिता कार्की केसी सञ्चालकका रूपमा छन् । उनी ट्राभल व्यवसायसँग आवद्ध छिन् ।

कुमारी बैंक : कुमारी बैंकमा पनि सिमरन अग्रवाल सञ्चालकका रूपमा काम गरिरहेकी छन् । यसअघि बैंकमा महिला सञ्चालक थिएन । तर, हाल बैंकमा महिला सञ्चालकले प्रतिनिधित्व पाएको हो ।

प्रभावकारी भूमिका

तीन दशक बढी समय बैंकको कर्मचारी भएर काम गरेकी एनएमबि बैंकका स्वतन्त्र सञ्चालक बन्दना पाठक पछिल्लो समय बैंकहरुको बोर्डमा महिलाको सहभागितासँगै आवाज पनि निर्णायक हुन थालेको बताउँछिन् । उनले बैंकको सञ्चालक समितिमा बस्ने अधिकांश महिलाहरु ज्ञान, सीप र अनुभवले निखारिएका हुनाले पनि बैंक सञ्चालक समितिले महिलाको कुरालाई निर्णायकका रुपमा लिने गरेको सुनाउँछिन् ।

‘म पनि एनसीसी बैंकबाट बाहिरिएको १५ दिनमै एनएमबि बैंकको सञ्चालक बनें, महिलाको सहभागिताकै लागि मात्रै भएको भए उहाँहरुले अरुलाई नै सञ्चालक बनाउन सक्थे तर क्षमता र अनुभव भएको मान्छे उहाँहरुले खोज्नु भयो, देखाउनका लागि मात्रै भन्दा पनि सीप, ज्ञान र अनुभव भएका महिलाहरुको सहभागिता सञ्चालक समितिमा देखिन्छ, यसले सिंगो बैंकको पफर्मेन्समा फाइदा भइरहेको छ,’ उनले विकासन्युजसँग भनिन् ।

उनका अनुसार बैंकको तल्लो तहमा कर्मचारीहरु बढी भएपनि माथिल्लो तहमा भने न्यून सहभागिता छ । माथिल्लो तहमा पुगेका महिलाहरु कुनै न कुनै बेला सञ्चालक बन्ने सम्भावना बढी हुन्छ । बैंकको सञ्चालकमा महिलाको प्रतिनिधित्व हुनै पर्ने व्यवस्थाले पनि महिलालाई सञ्चालकसम्म पुग्न केही सहज भएको हुन सक्ने उनको बुझाइ छ ।

‘निर्णायक तहमा पुग्दा महिलाहरुको कुरा सुन्ने, उहाँहरुको सुझावलाई बैंकले कार्यान्वयन पनि गरिरहेको हुन्छ, अहिले जति बैंकको सञ्चालकमा महिलाहरु हुनु हुन्छ, उहाँहरु सबै कुनै न कुनै हिसाबले परिपक्व हुनुहुन्छ, त्यसैले पनि बैंक सञ्चालक समितिले महिलाको सुझावलाई कार्यान्वयनको तहमा पुर्याउँछ,’ उनले भनिन् ।

आधा दर्जन बैंकमा छैनन् महिला

चार वटा वाणिज्य बैंकले महिला सञ्चालक नियुक्त गरेको छैन । स्ट्याण्डर्ड, हिमालयन र ग्लोबल आइएमई बैंकले महिला सञ्चालक राखेको छैन । ग्लोबल आईएमई बैंकमा सात जनाको सञ्चालक टिम भएपनि महिलाको सहभागिता छैन । ग्लोबलमा गाभिनुअघि बैंकअफ काठमाण्डूमा २ जना सञ्चालकहरु अमृता उप्रेती र मोहना लोहनी सञ्चालकका रुपमा काम गरिरहेका थिए । ग्लोबल र बिओके मर्ज भएपछि उनीहरु सञ्चालकबाट बाहिरिएका थिए ।

कम्पनी ऐन, २०६३ ले पब्लिक कम्पनीहरुमा रहने सञ्चालक समितिको बारेमा स्पष्ट व्याख्या गरेको छ । जसअनुसार पब्लिक कम्पनीमा एक जना महिला सञ्चालक अनिवार्य राख्नु पर्ने व्यवस्था छ । पब्लिक कम्पनीहरुमा सेयरधनी महिला छन् भने ती कम्पनीले एक जना महिला सञ्चालक राख्नै पर्ने व्यवस्था रहेको कम्पनी रजिष्ट्रार महेश बराल बताउँछन् ।

उनका अनुसार पछिल्लो समय नयाँ दर्ता गर्न आउने पब्लिक कम्पनीलाई भने सञ्चालक समितिमा महिला भए÷नभएको विषय प्राथमिकताका साथ हेर्ने गरिएको छ ।

‘कुनै पनि पब्लिक कम्पनीको सेयरधनी महिला छन् भने सञ्चालक समितिमा महिलाको सहभागिता अनिवार्य गरिएको छ, त्यो विषयलाई हामीले पनि सुक्ष्म ढंगले हेर्ने गरेका छौं,’ उनले विकासन्युजसँग भने ।

यस्तै, राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंक तथा वित्तीय संस्था ऐनले बैंकको सञ्चालक समितिमा महिलाको सहभागिताको विषयमा कुरा नगरेको भएपनि बैंकले भने महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालकमा राख्नु पर्ने धारणा राख्छन् । उनका अनुसार बैंकको बोर्डमा महिला र पुरुषको समान सहभागिता देखिँदा पनि एक किसिमको समावेशिता देखिँदा राम्रो हुन्छ । अर्काइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.