बैंकिङविरुद्धको अराजकता नरोकिए कर्जा प्रवाह ठप्पै हुन्छ : गभर्नर अधिकारी

  २०८० फागुन २० गते १५:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आईतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले बैंक वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिँदै उनले बैंक वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे ।

गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए । उनले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे । राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताउँदै उनलले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको भनाई राखे ।

उनले भने- ‘बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ । अर्थतन्त्र कमजोर हुँदै जान्छ । जसबाट स्वार्थपूर्ति गर्ने दाउ हुन सक्छ । यसलाई राज्यको तर्फबाट कानूनको परिधिभित्र ल्याउनु आवश्यक छ । त्यस्तो भए यस्ता सबै कुराहरु करेक्सन हुन्छन् । कतिपय व्यक्तीहरु कानूनभन्दा माथि र पर गएर गतिविधि गर्छन् । त्यो क्षेत्रमा काम गर्नेहरुले मनोवल गिराउनुपर्ने हुन्छ । अहिलेको अवस्था त्यो पाटबाट गइरहेको छ ।’

गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताए । उनले केन्द्रिय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । उनले राष्ट्र बैंकले बैंकमा भएरको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए । अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताउँदै उनले बंैकर्सहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले केही साथीहरु पक्राउ परेभन्दैमा बंैकर्सहरु आंतकित हुन नहुने बताए । उनले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने धारणा राखे ।

उनले भने, ‘प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्य्रोले पक्राउ गरेको विषय छ । नेपाल प्रहरीसँग पनि छलफल गरौं । कस्तो किसिमले पक्राउ गरियो भन्दा राष्ट्र बैंकले रिफर नगरी गर्न सकिन्छ । राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेका रहेछ । सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ । प्रहरीले यस्तो छानविन गर्दा त्यहाँ पुगेका हौं भन्नुभयो । तर यसले बैंकका कर्मचारीहरुको आत्मबल कमजोर बनाउने काम गरेको छ । छानविन नगरी यस्तो नगरिदिन भनेपछि सबै छानविन गरेर पक्राउ गरिएको भन्नुभयो । तर बैंकर्सहरु आत्तिनु पर्दैन सबैले छानविनमा सहयोग गर्न आवश्यक छ । कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ । बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन । सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानविन सहयोग गर्नु कर्तव्य हो । यति मात्रै हो गल्ती नगर्ने फस्नुभएन गल्ती गर्नेले सजाय पाउनुपर्छ । बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने हो । स्रोतको दुरुपयोग हुने गरी रकम चलाउनु भएन । त्यही कारणले छानविनलाई सबैले सहयोग गर्नुपर्छ । थप आंतकित कोही कसैलाई पार्नु हुँदैन ।’

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे । उनले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए । गभर्नर अधिकारीले बैंकहरुको कोर पुँजी ८ प्रतिशत भन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताए । केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको जानकारी गराए । उनले पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गर्दै बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको बताए । बैंकहरुको खराब कर्जा (एनपीए) बढेर ३.४० प्रतिशत पुग्नुमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरु भएको दाबी गरे । उनले यसको असर प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताए ।

गभर्नर अधिकारीले बचतकर्ताहरुले बचत गरेको निक्षेपभन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पत्ति रहेकाले डराउनु पर्ने अवस्था नभएको बताए । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताउँदै उनले बैंकहरुको आन्तरिक परिस्थितिले कँही अफ्ठ्राहरु देखापरे पनि समाधान हुने अवस्था रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.