पैसाको लोभ छैन, रिपब्लिकबाट बाहिरिँदैनौं : शोभा ज्ञवाली

  २०८० फागुन २० गते ११:३७     विकासन्युज

काठमाडौं । मिडिया क्षेत्रमा आईपीओ ल्याउने पहिलो कम्पनी बन्यो नेपाल रिपब्लिक मिडिया । कम्पनीले आईपीओ ल्याउँदा विभिन्न आरोप खेप्नु पर्याे । कतिपय लगानीकर्ताहरूले घाटामा रहेको कम्पनीलाई सेयर निष्काशन गर्न दिएर नेपाल धितोपत्र बोर्डमाथि आक्रोस व्यक्त गरे भने कतिपयले सर्वसाधारणलाई आईपीओ जारी गरेर संस्थापक बाहिरिन लागेको भनेर हल्ला चलाए ।

तर, रिपब्लिक मिडियालाई पब्लिकमा ल्याएर आफूहरू नबाहिरिने कम्पनीकी निर्देशक शोभा ज्ञवालीले बताइन् । आफूलाई समाजको चिन्ता रहेकाले कम्पनीबाट बाहिरिने कल्पना समेत नगरेको उनको भनाइ छ । मलाई पैसाको मतलब नरहेकाले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्न लगानीकर्तालाई उनले आग्रह गरिन् ।

‘कान्तिपुरबाट बाहिरिँदा मसँग अर्बौं रुपैयाँ थियो । म मिडियाबाट बाहिरने भए त्यहीँ बेला बाहिरिन्थें । तर, मेरो परिवारमा समाज बनाउने माध्यम नै मिडिया हो । समाजको ऐना भनेको मिडिया हो भनेर हामीले रिपब्लिक स्थापना गर्याैं,’ उनले भनिन्, ‘कान्तिपुरबाट अलग भएपछि त म मिडिया क्षेत्रबाट पलायन भइनँ भने अब त त्यो कल्पना पनि गर्न सक्दिनँ । मलाई पैसाको कुनै मतलब छैन, समाजको चिन्ता छ । त्यसैले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्दा हुन्छ ।’

साथै, आगामी दिनमा कम्पनी डुब्न नदिन सजगता अपनाएको उनको भनाइ छ । सकेसम्म फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउने गरेको उनले बताइन् । उनका अनुसार देशको अर्थतन्त्र अवस्था राम्रो बनाउन उद्योगधन्दा खोल्नुपर्छ । जब देशले कमाउन थाल्छ, व्यवसाय बढ्न थाल्छ, तब मिडियाले कमाउने उनको धारणा छ ।

‘हामीले प्रत्येक त्रैमासको वित्तीय विवरण प्रकाशन गरिरहेका छौं । स्थिर सम्पत्तिको तुलना गरेर हामीले ऋण लिने हो । वित्तीय कारोबार कम्पनीको सीईओले हेर्नुहुन्छ । र, यही वित्तीय अवस्थालाई कायम राख्दै अगाडि बढ्छौं,’ उनले भने, ‘अब महामारी, भूकम्प आयो भने फरक कुरा हो । तर, सकेसम्म हामीले फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउँछौं । मासिक तथा त्रैमासिकरूपमा कम्पनीको सञ्चालक समितिको बैठक पनि बस्छ । सञ्चालकहरूबाट पनि सुझाव सल्लाह लिएर हामी अगाडि बढ्छौं ।’

मिडियाको अवस्था अहिले नाजुक रहेकाले लगानीकर्तालाई यो वर्ष लाभांश नबाँड्ने घोषणा गरेको उनले बताइन् । रिपब्लिकलाई पब्लिकमा लगेपछि कम्पनीमा साढे ३ लाख सेयरधनी पुगेको उनको भनाइ छ ।

कम्पनीले गत जेठमा ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । जसमध्ये संस्थापक समूहको ५५.०१ प्रतिशत अर्थात् ५३ लाख २२ हजार कित्ता र सर्वसाधारण समूहको ४४.९९ प्रतिशत अर्थात् ४३ लाख ५३ हजार कित्ता सेयर स्वामित्व छ । गत बिहीबारसम्म दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.