मर्जरपछि बीमा कम्पनीहरूमा टिकेनन् डीसीईओ, यूनाइटेड अजोडमा गम्भीर समस्या

  २०८० फागुन १८ गते ८:१२     सीआर भण्डारी

काठमाडौं । साविक प्रभु लाइफ र साविक महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको ७ महिना मात्रै भयो । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ), दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सहित १५ जनाले कम्पनी छाडेर बाहिरिए । स्रोतका अनुसार २ कम्पनीका उच्च नेतृत्वबीच ठूलै टसमस भएपछि सीईओ रमेश कुमार भट्टराई, डीसीईओ कमल पन्थी र रामेश्वर श्रेष्ठसहित १५ जना स्वेच्छिक अवकास (भीआरएस) सुविधा लिएर बाहिरिएका हुन् ।

यद्यपी यी सबै काम कम्पनीका लागि नियमित र सामान्य भएको बताइन्छ । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार मर्जपछि कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएसमा विदा गरिएको हो ।

‘माथिल्लो तहमा कर्मचारी संख्या बढी भयो, डीसीईओ, सिनियर म्यानेजरहरू धेरै भयो । दुवै कम्पनीबाट आउँदा कर्मचारी बढी भए । धेरै भएपछि मिलाउन गाह्रो हुँदो रहेछ । त्यसैले भीआरएस सुविधा दिएर विदा गरेका हौं,’ उनले भने ।

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई गत असार २९ गते एकीकृत गरेका थिए । तर, मर्ज भएको ७ महिनामै साविक महालक्ष्मी लाइफका उच्च व्यवस्थापकहरू एकैपटक बाहिरिएका हुन् ।

यस्तै, गत साता हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतमले पदबाट राजीनामा दिएर बाहिरिए । उनको राजीनामा गत मंगलबारदेखि लागू हुने गरी स्वीकृत भएको छ । यसअघि उनी एभरेष्ट इस्यारेन्सका सीईओ थिए । एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जरपछि उनी वरिष्ठ डीसीईओ बनेका थिए । तर, मर्जर भएको डेढ वर्ष पछि उनी कम्पनीबाट बाहिरिएका हुन् ।

यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सका सियिर डीसीईओ कुमार बहादुर खत्रीले राजीनामा पत्र बुझाएको २ हप्ता बढी भइसक्यो । तर, उनले बुझाएको राजीनामा स्वीकृत भएको छैन । आफूले कम्पनीमा राजीनामा पत्र बुझाएको भएपनि स्वीकृत हुन बाँकी रहेको डीसीईओ खत्रीले विकासन्युजसँग बताए ।

यूनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण कुमार रावलका अनुसार कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कुमार बहादुर खत्रीले राजीनामा दिएको भएपनि स्वीकृत भइसकेको छैन । उच्च पदस्थ कर्मचारी भएकाले राजीनामा स्वीकृत नगरेको उनको भनाइ छ ।  साथै मर्जपछि ३ जना विभागीय प्रमुखहरू बाहिरि सकेको उनले बताए ।

मर्जपछि एकले अर्काको कमजोरी खोतल्ने र त्रुटी औल्याउँदै उजुरबाजुरमा लाग्ने समस्या कम्पनीमा देखिएको र यसले कम्पनीभित्र गम्भीर समस्या उत्पन्न गराएको सोही कम्पनी सम्बद्ध स्रोतले बतायो ।

‘दुईटा कम्पनी मर्ज भएपछि एकअर्कालाई दोस लगाउँछन् । दुईटा डीसीईओबीच गुट बनेको सुन्नमा आउँछन्, अहिले पनि बजारमा दक्ष जनशक्ति अभाव छ । राम्रो कर्मचारी अवसर पाएपछि यताउता गइरहेका छन्,’ सीईओ) रावले भने ।

उनका अनुसार यूनाइटेड अजोडका रिइन्स्योरेन्स (आरआई) र अण्डरराईटिङ प्रमुखले राजीनामा दिएर बाहिरिएका हुन् । अन्य कर्मचारी भने करार अवधि सकिएर नवीकरण नभएपछि बाहिरिएका उनले बताए ।

मर्जरपछि कम्पनीमा ओभरस्टाफको समस्या देखिएका कारण संरचनागत समस्या देखिएको बताउँछन् । दुईटा कम्पनी मर्ज भएपछि ओभर स्टाफिङको समस्या भएपनि व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।

‘इण्डष्ट्रिमा यस्ता समस्या आइरहन्छन् । एक कम्पनीबाट अर्काे कम्पनी र अर्काे कम्पनीबाट अर्काे कम्पनीमा मुभमेन्ट भइरहेका हुन्छन् । कसैलाई त्यही कम्पनी राम्रो लाग्छ भने कसैले अफ्ठ्यारो महसुस गरिरहेका छन् । कतिपय कर्मचारीले असरक्षित महसुस गर्छन्,’ उनले भने, ‘जहाँ आफूलाई कम्फर्टेबल महसुस हुन्छ, त्यहाँ जानु स्वभाविक हो । कम्पनीहरूमा धेरै मूभ भइरहेका हुन्छन् । ती विषयलाई हामीले हटाउनु पर्ने छ ।’

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेपछि सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भए । साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सनियर डीसीईओ) बने । तर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएको एक महिना नबित्दै रावल कम्पनीबाट बाहिरिए । हाल उनी युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नियुक्त भएर काम गरिरहेका छन् ।

सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स बनेपछि सीईओ चंकी क्षेत्री नियुक्त भए । तर, मर्जरसँगै साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ रहेका नूर प्रकाश प्रधान भने बाहिरिए ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सिद्धार्थ इन्स्योरेन्सबाट बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भए । दुई कम्पनीको मर्जर प्रक्रिया चलिरहँदा नै साविक प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले राजीनामा दिएर बाहिरिए ।

गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स मर्ज भए । नयाँ कम्पनीको रुपमा जन्मिएको हिमालयन लाइफको सीईओमा नियुक्त भए मनोज कुमार लाल कर्ण । उनी साविक यूनियन लाइफ इन्स्योरेन्सका सीईओ थिए । तर, मर्जरपश्चात् भने साविक गुराँस लाइफका सीईओ विपिन कुमार लाल कर्ण र प्राइम लाइफका सीईओ निर्मल कुमार दाहालले राजीनामा दिएर बाहिरिए ।

नेपाल बीमा प्राधिकरणको पूँजी वृद्धिको निर्देशनपश्चात् २१ वटा बीमा कम्पनी मर्जरमा सामेल भए । जसमध्ये ९ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जरमा सामेलपछि १० वटा कम्पनीमा सीमित बने । तर, मर्जरमा सामेल भएका यी कम्पनीको नेतृत्व सम्हालिरहेका अधिकांश सीईओ राजीनामा दिएर बाहिरिए भने केही सीईओ पद घटुवामै चित्त बुझाएर काम गरिरहेका छन् ।

मर्जरले भविश्यमा कम्पनीको समग्र बिजनेसमा टेवा पुगे पनि यो इन्डष्ट्रीबाट केही अनुभव, सीप र ज्ञान भएका व्यक्तिहरु पलायन भएको बीमा जानकार बताउँछन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल मर्जरपछि बीमा कम्पनीमा समस्या आएको स्वीकार गर्छन् । साथै, मर्जरपछि कम्पनीहरूमा संरचनागत रूपमा समस्या देखिएको उनको भनाइ छ । हाल कम्पनीको उच्च तहमा पुगेका व्यवस्थापकहरू मार्केटिङ तहबाट आएकाले ससम्मान विदा गर्न प्राधिकरणले अनौपचारिक आग्रह गरेको उनी बताउँछन् ।

‘युनाइटेड अजोड, हिमालयन एभरेष्ट, प्रभु महालक्ष्मी लाइफमा समस्या देखिएको छ । यी कम्पनीहरू विभिन्न कल्चरबाट हुर्किएर आएका हुन् । सबै आआफ्नो सिस्टममा चलेका थिए । अब त्यसलाई समाधान गर्न जरूरी छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.